राजनीति


बालेनबारे प्रचण्डको स्पष्टीकरण: ‘सिंहदरबार जलाइदिन्छु’ भन्नु ठीक छैन भनेर छलफल गरेकै हो

बालेनबारे प्रचण्डको स्पष्टीकरण: ‘सिंहदरबार जलाइदिन्छु’ भन्नु ठीक छैन भनेर छलफल गरेकै हो

नेपालखबर
चैत ६, २०८० मंगलबार ७:४७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र (बालेन) शाहका विषयमा स्पष्टीकरण दिएका छन्। 

जनमत पार्टीका अध्यक्ष सीके राउतले एक अन्तर्वार्तामा आफू सत्तामा रहेका बेला प्रधानमन्त्री तथा तत्कालीन गृहमन्त्रीले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भनी स्टाटस लेखेकामा मेयर बालेनलाई पक्राउ गर्ने तयारी गरेको तर आफूलगायतले विरोध गरेको दाबी गरेका थिए। 

सो विषयमा कान्तिपुर टीभीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले सीके राउतको भनाइको खण्डन गरेका हुन्। 

‘बालेनले चुनाव जित्दा मैले उहाँलाई नेपालको लोकतान्त्रिक बगैँचामा फूलेको एउटा नयाँ फूल भनेको थिएँ। त्यो कुरा बालेनलाई पनि थाहा छ, सबै नेपालीलाई थाहा छ’, प्रचण्डले भनेका छन्, ‘जतिबेला उहाँले सिंहदरबार जलाइदिन्छु भन्याजस्ता अभिव्यक्ति दिएपछि यो अभिव्यक्ति ठीक छैन भनेर हामीले छलफल गरेकै हो। तर गिरफ्तार गरिहाल्नुपर्ने भन्ने निर्णय गरेको होइन। के गर्नुपर्छ? उहाँलाई ल्याएर स्पष्टीकरण सोध्नपर्ने हो कि? अरू केही गर्न पर्ने हो कि? चर्चा भएकै हो। किनभने काठमाडौँ महानगरपालिकाको मेयरजस्तो मान्छेले सिंहदरबार जलाइदिन्छु भनेर त हिन्न भए नि भन्ने सन्दर्भमा चलेको कुरा हो त्यो।’

यही कुरालाई अहिले सत्ता गठबन्धनबाट बाहिरिएपछि सीके राउतले बढाइचढाइ गरेर आफू र बालेनका बीचमा झगडा लगाउन खोजेको तर त्यो सफल नहुने प्रधानमन्त्री प्रचण्डले बताएका छन्।  

‘सीकेजी अहिले अर्काे फ्लोरमा हुनुहुन्छ, त्यसो भएर उहाँले कहाँबाट झगडा पारौँ बालेन र प्रचण्डको बीचमा भनेर सोच्नुभा होला, पर्दैन’, प्रधानमन्त्री प्रचण्डले अन्तर्वार्तामा भनेका छन्, ‘मैले बालेनलाई अहिले पनि लोकतान्त्रिक बगैँचाको फूल भनेको छु, त्यही मानेको छु।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .