राजनीति


नागरिक उन्मुक्तिको किचलोले ढुक्क छैनन् मुख्यमन्त्री शाह

राजीनामा दिने वा विश्वासको मत लिनेमा द्विविधा
नागरिक उन्मुक्तिको किचलोले ढुक्क छैनन् मुख्यमन्त्री शाह

फाइल तस्बिर


गोकुल जोशी
चैत २०, २०८० मंगलबार १२:५९, कञ्चनपुर

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले यही २२ गते (बिहीबार) विश्वासको मत लिने भएका छन्। 

प्रदेश सभा सचिव देवबहादुर बोगटीका अनुसार मुख्यमन्त्रीले प्रदेशसभा सचिवालयमा विश्वासको मत लिन सूचना दर्ता गराएका छन्। 

त्यही सूचना अनुसार २२ गते दिउँसो ३ बजे प्रदेश सभा बैठक आह्वान गरिएको उनले बताए। 

२१ फागुनमा केन्द्रीय सत्ता गठबन्धन फेरबदल भएपछि मुख्यमन्त्री शाहले अर्को दिन नेकपा माओवादी केन्द्रका मन्त्रीलाई बर्खास्त गरेका थिए। 

तत्कालीन सत्ता साझोदार माओवादीले २३ फागुनमा कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

त्यसपछि तत्कालीन सत्ताघटक नेकपा एकीकृत समाजवादीले पनि समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा छन्। 

समर्थन फिर्ता लिएको एक महिनाभित्र प्रदेश सभामा बहुमत सिद्ध गरिसक्नु पर्ने संवैधानिक व्यवस्था छ। विश्वासको मत नपाए स्वतः सरकार ढलेर नयाँ सरकारको प्रक्रिया अघि बढ्ने छ।

सत्ता उलटफेरका क्रममा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले साथ छोडेपछि सत्तामै रहेको नागरिक उन्मुक्तिलाई साथमा लिएर मुख्यमन्त्री शाहले सरकार जोगाउन करिब एक महिना कसरत गरे। नागरिक उन्मुक्तिका ७ मध्ये ५ जना सांसदलाई मन्त्री पनि बनाए।

तर सत्ता फेरबदलसँगै निर्वाचन आयोगले नाउपाको अध्यक्षमा रेशमलाल चौधरीलाई मान्यता नदिएर रञ्जिता श्रेष्ठलाई पुनःस्थापित गरेपछि गठबन्धनलाई लिएर यी दुईजनाबीचको विवादले पार्टी फुटको डिलमा छ। 

सत्ता साझेदार नाउपाभित्र रेशम पक्षको साथ पाएका मुख्यमन्त्री शाह अझै ढुक्क हुन सकेका छैनन्। नाउपाको विवादका कारण उनलाई विश्वासको मत जुटाउन कठिन छ। 

त्यसैले मुख्यमन्त्री शाह राजीनामा दिने कि संसदमा विश्वासको मत फेस गर्ने द्विविधामा छन्। उनी यसबारे निर्णय लिन काठमाडौं गएको निकट स्रोतले बताएको छ।

५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसद चाहिन्छ।

कांग्रेसका १८ र नागरिक उन्मुक्तिका ७ सांसद छन्। उन्मुक्तिका ५ जना सांसद त मन्त्री नै भएका छन् भने २ जना सरकार बाहिर छन्।

उनीहरू दुवैजना रञ्जितानिकट सांसद हुन्।

रञ्जिताले संसदीय दललाई कांग्रेसलाई दिएको समर्थन फिर्ता लिन लिखित निर्देशन दिँदा पनि रेशमको आडमा उनको निर्देशन कार्यान्वयन भएको छैन।

नाउपा सम्पूर्ण सांसदले विश्वासको मत दिँदा पनि मुख्यमन्त्री शाहलाई सरकार जोगाउन अन्य दुई सांसदको समर्थन पनि चाहिन्छ। 

यद्यपि नाउपाभित्रको विवादले ७ सांसदले विश्वासको मत दिनेमा मुख्यमन्त्री शाह ढुक्क हुन सकेका छैनन्।

नाउपा एक ढिक्का भएको अवस्थामा पनि कांग्रेसलाई सरकार जोगाउन नयाँ सत्ता गठबन्धनबाहिर रहेका राप्रपा र स्वतन्त्र एक-एक सांसद अनिवार्य छन्। 

सुदूरपश्चिम प्रदेश सभामा नेकपा माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका १० र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .