नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनको राम्रो सम्बन्ध थियो। खुस्बु ओली केपीलाई ‘बा’ भन्थिन्। बालकोट आउजाउ गर्न कुनै रोकटोक थिएन।
यसै पनि उनीहरू एकै खलकका। खुस्बुका हजुरबुवा देवीप्रसाद तेह्रथुम जिल्लाको तत्कालीन इवा गाउँबाट २०१७-१८ सालतिर झापा झरे। केपी ओलीको परिवार पनि झापा झर्यो। देवीप्रसाद ०२६ सालमा सुरुङ्गा गाउँ पञ्चायतको प्रधानपञ्च बने। तर उनका छोरा श्यामसुन्दर केपी ओलीहरूकै प्रभावमा कम्युनिष्ट समर्थक भए। र, पछि एमालेमा लागे।
बुवाको निकटताले खुस्बु पनि एमालेसँग नजिक भइन्।
‘त्यही कारण मैले केपी बासँग नजिक भएर अघिल्लो चुनावमा सघाएँ,’ खुस्बु भन्छिन्।
तर, २०७९ वैशाख १० गतेको स्थानीय चुनावअघि उनीहरूको यो सम्बन्धमा दरार आयो।
खुस्बुका बुवा श्यामसुन्दरले झापाका कन्काई नगरपालिकाको मेयरमा उठ्ने इच्छा देखाए। एमाले नेताहरूले उनलाई सहमति दिए र अन्त्यमा टिकटचाहिँ दिएनन्।
भिडिओ :
‘बेलुका निश्चित गरेको टिकट बिहान उठ्दा गइसकेको थियो। किन भन्दा बुवाले पैसा खर्च गर्नुभएन,’ खुस्बुले गुनासो गरिन्, ‘पैसा नदिएपछि टिकट पाउनुभएन। मैले सबैभन्दा ठूलो सबक पाएँ, जालझेल गरेर रातारात दुईचार घण्टामा कसरी परिस्थिति बदलिन्छ र ठुल्ठूला राष्ट्रवादका कुरा गर्ने मान्छे पनि पैसामा कसरी बिक्दारहेछन्। अनि बोली बन्द हुँदो रहेछ भन्ने कुरा थाहा पाएँ।’
एमालेबाट निराश श्यामसुन्दरको हात झापामा बलियै रहेको राप्रपाले थाम्यो। उनलाई कन्काई नगरको मेयरको टिकट पनि दियो।
खुस्बु पनि एमाले अनि अध्यक्ष ओलीसँगको निकटता बिर्सेर बुवालाई सघाउन राप्रपा छिरिन्।
‘राजनीति पनि पैसा तिरेर गर्नुपर्ने?’ उनले सुनाइन्, ‘यो चित्त बुझेन। म अलि विद्रोही छु, त्यही भएर म बोल्ड पनि छु।’
खुस्बुको फेरिएको नजर
राप्रपा प्रवेश गरेपछि खुस्बुको बोली र नजर दुवै फेरियो। उनलाई अहिलेको राजनीति मन पर्दैन, न यो व्यवस्था नै ठिक लाग्छ।
त्यसैले खुस्बु राजसंस्था अर्थात् राजा फर्काउने अभियानकी नयाँ प्रचारक बनेकी छन्। वाक्पटुता र चर्चा देखेर राप्रपाले उनलाई केन्द्रीय सदस्य र प्रशिक्षण विभाग उपप्रमुख बनाएको छ।
गणतन्त्र पक्षधर दलले जनताको पक्षमा माखो नमारेको, बरु आफूअनुकूल नीति बनाउँदै मनपरी सत्ता चलाएको भन्दै उनी रुष्ट छिन्। दुई वर्षअघिसम्म कम्युनिस्ट पार्टीलाई सघाइरहेकी उनी अहिले तिनलाई कत्ति मन पराउँदिनन्।
‘मैले सर्वहारावाला कम्युनिस्ट नै देखिनँ,’ उनी रोष पोख्छिन्, ‘सबैभन्दा धनी केपी शर्मा ओली, झलनाथ खनालहरू देख्छु। यिनीहरूमा डबल साइडेड नेचर छ। कम्युनिस्टहरू हार्डकोर हुनुपर्यो नि। यत्रो समय कम्युनिस्टले शासन गर्दा किन ग्रासरुटमा केही परिवर्तन आएन?’
उनी आफैँले जवाफ पनि दिइन्, ‘किनभने, कम्युनिस्टले जनताको दुःख, पीडा हल गर्न चासै दिएनन्। तिनलाई प्राथमिकतामै राखेनन्।’
अहिलेका समस्या निको पार्न नेपाललाई १६ वर्षअघि फर्काउनुपर्ने उनको सुझाव छ। ३३ वर्षीया खुस्बुलाई लाग्छ, राजतन्त्र र हिन्दु राष्ट्र फिर्ता ल्याए देश उँभो लाग्छ।
‘गणतन्त्रमै युवा, श्रम, बौद्धिक र पुँजी पलायन बढ्यो। यो रोक्न किन नसकेको? कम्तीमा राजा भइदिए देशमै बस्थे, देशको माया गर्थे,’ उनी भन्छिन्।
तर, राप्रपाको बलमा मात्र राजतन्त्र नफर्किने उनको मूल्यांकन छ।
‘राप्रपाको वकालतले मात्र राजसंस्था फर्कंदैन,’ खुस्बु भन्छिन्, ‘तर, आम जनतामा राजसंस्थाप्रति विस्तारै रुचि बढ्न थालेको देखिन्छ।’
राप्रपाकी ‘स्टार’ नेतृ, भन्छिन् : रास्वपाले बोलाउँदा गइनँ
‘मेरी नातिनी पनि राजा ल्याउन गकी छिन् रे!’
कसैले एमाले अध्यक्ष ओलीको भनाइ उनलाई सुनाइदियो। सोचिन्– राप्रपा र उनको भविष्य नदेखेर बाले व्यंग्य गरेका होलान्।
तर, राप्रपामा आफूले राम्रै गरिरहेको उनको अड्कल छ। हुन पनि राप्रपामा उनको चर्चा चुलिँदो छ। धेरैले उनलाई रुचाएका छन्। शीर्ष नेताहरूले पनि महत्त्व दिएका छन्।
प्रवेश गर्नेबित्तिकै पार्टीले उनलाई प्रशिक्षण विभाग सदस्य बनायो। स्थानीय चुनावमा पार्टीको पक्षमा माहौल बनाउने योजना बनाएर उनले अध्यक्ष राजेन्द्र लिङ्देनलाई सुनाइन्।
‘चुनाव जिताउने माहौल बनाउन मैले ‘बुथ सुरक्षित, जित सुनिश्चित’ तालिम चलाएँ,’ खुस्बु भन्छिन् ‘त्यही तालिम, चलाउँदै हिँड्दा राप्रपामा चर्चा बढ्दै गयो।’
त्यसपछि खुस्बु अध्यक्ष लिङ्देनको नजरमा पर्न थालिन्। उनको भाषणकलाको अध्यक्ष लिङ्देन र उपाध्यक्ष रवीन्द्र मिश्रले तारिफ गरेका छन्।
‘केन्द्रदेखि वडासम्मका कार्यक्रममा बोल्न पाएँ, जसले मलाई स्थापित गरायो, मेरो क्षमतालाई पार्टी अध्यक्षले स्पेस दिनुभयो,’ उनले भनिन्।
ग्ल्यामर क्षेत्रबाट आएको हुनाले मानिसलाई आफूतिर आकर्षित गर्ने क्षमता आफूसँग रहेको उनको विश्वास छ। त्यसमाथि पार्टीले दिएको जिम्मेवारीले उनी पुलकित छिन्।
केही समयअघि मधेस यात्रामा उनले सानाठूला धेरै सभामा भाषण गरिन्। त्यस क्रममा वाहीवाही पनि पाइन्।
‘अहिले देशका विभिन्न ठाउँबाट मलाई बोलाएका छन्, अब सबैतिर पुग्छु,’ खुस्बु आफ्नो योजना सुनाउँछिन्, ‘हिन्दु राज्य र राजसंस्था पुनर्स्थापनाको बहस छेड्छु।’
उनका भनाइमा, भाषण गर्दा निकै तयारी गर्नुपर्छ। हरेक नयाँ ठाउँमा जाँदा उनी त्यहाँको वस्तुस्थिति गहिरिएर बुझ्ने कोसिस गर्नुपर्छ।
मुख्य उद्देश्य गणतन्त्रका कमजोरीहरूलाई उदांगो पार्नु भएकाले गत १६ वर्षमा जनताले भोग्नुपरेका कठिनाइ समेटिएका रिपोर्ट, समाचार, आर्थिक सूचकांकजस्ता विवरण समेटिएका फाइल बोकेर हिँड्छिन् उनी।
‘तथ्यमा फरक पर्ने गरी बोल्नुहुँदैन, म अहिले रिसर्च गरेरै बोल्छु,’ खुस्बु सुनाउँछिन्।
तर, राप्रपामा पनि सधैँ उनले भनेजस्तो भएको छैन। गत मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा एमालेसँग गठबन्धन गर्ने पार्टीको निर्णयले खुस्बुको मन दुख्यो।
एमालेलाई सहयोग गर्नुपर्ने राप्रपाको निर्देशनविपरीत उनले झापा क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवारी दिइन्। ५५ सय मत पाएर हारिन्।
तर, चुनाव प्रचारमा अध्यक्ष लिङ्देनको विपक्षमा नबोलेको उनको भनाइ छ। झापा ४ मा स्वतन्त्र उम्मेदवारीपछि केही समय मौन बसेकी खुस्बुलाई पार्टीले फेरि नयाँ जिम्मेवारी दिएर काममा फर्कायो।
‘एमालेको खराब व्यक्ति ठीक हो भन्न सकिनँ, अनि पार्टी निर्णय मान्न नसक्ने भनेर स्वतन्त्र उम्मेदवारी दिएँ। खराब पार्टीलाई राम्रो भन्न नैतिकताले दिएन, सकिनँ,’ उनी भन्छिन्, ‘चुनाव हारे पनि अब पाँच वर्ष मेहनत गर्छु। मिसन ०८४ छँदै छ।’
०८४ पर्खेर बस्नेहरू थुप्रै छन्। एमाले, रास्वपाजस्ता दल पनि ‘मिसन ०८४’ भनेर लागिरहेका छन्।
रास्वपाले त गत चुनावलगत्तै उनै खुस्बु ओलीलाई पार्टीमा निम्त्याएको पनि थियो।
‘लाइन फरक परेकोले गइनँ,’ खुस्बु भन्छिन्, ‘रविजीको रास्वपाले पनि देशका लागि सोचेन।’
गत चुनावमा अचानक उदाएर सत्तामा पुगेको रास्वपा उनलाई किन मन परेन त?
‘धर्मका कुरामा रास्वपा प्रष्ट छैन। पुरानै पात्र शक्तिशाली बनाउँदा पनि रास्वपा मौन देखिन्छ। संघीयताको पक्षमा उभिएको छ। पुराना दलभन्दा धेरै अपेक्षा गर्छु,’ उनी भन्छिन्, ‘तर, रास्वपा अरू दलजस्तै हुन थालिसक्यो। नत्र रविजीलाई गृहमन्त्री किन चाहियो? देशका लागि सोचेको भए त रास्वपाले स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउन पहल गर्नुपर्थ्यो।’
मिस टिनबाट ब्रेक थ्रु
मोडल, एनजीओकर्मी, उद्यमी, राजनीतिकर्मीजस्ता अनेक परिचय बनाएकी खुस्बु ओलीको नाम चर्चा र विवादमा पनि उत्तिकै रह्यो। १० वर्षको उमेरमै ‘लिटिल लेडी’ उपाधि जितेकी उनी १६ वर्ष भएपछि मिस टिन बनिन्।
‘मेरो जिन्दगीको ब्रेक थ्रु त्यहीँबाट भयो, जसले नयाँ काम गर्ने अवसरको ढोका खोलिदियो,’ उनले भनिन्, ‘मिस टिन ताज मात्र होइन, यती एयरलाइन्स, राष्ट्रिय वाणिज्य बैंकजस्ता संस्थाले रकम तिरेरै मलाई मोडलिङ गराए।’
जापानमा एउटा टीभी सिरियलमा काम गरेको अनुभव पनि उनले सुनाइन्। त्यसबाट राम्रै आम्दानी भएको उनको भनाइ छ।
‘१२ भागसम्मको सो सिरियलको पुनः प्रसारण पनि भएको थियो,’ उनले थपिन्।
समाज सेवाको काम त्यतिबेलै सुरु गरेको उनको भनाइ छ।
‘मैले झापाका आर्थिक विपन्न परिवारलाई १५ वटा रिक्सा किनिदिएँ,’ उनले भनिन्, ‘केही गाउँलाई हुने गरी एम्बुलेन्स पनि किनेँ।’
तर, ग्ल्यामरको दुनियाँले उनलाई लामो समय आकर्षित गर्न सकेन। अध्ययन अघि बढाउनुपर्छ भनेर बेलायत गइन्, अक्सफोर्ड युनिभर्सिटीमा।
खुस्बुको भनाइमा अक्सफोर्डमा स्नातक सकेपछि नेपालमा सामाजिक क्षेत्रमा काम गर्ने योजना बोकेर उनी सन् २०१३ मा नेपाल फर्किइन्।
त्यसपछि उनले क्रपिङ इन्डिया नामक संस्थामा २ वर्ष काम गरिन्। यसैगरी साथी इन्डियामा नेपाल डाइरेक्टर भएर एक वर्ष काम गरिन्।
तलब भत्ता राम्रै भए पनि आईएनजीओको जागिरबाट सन्तुष्ट हुन नसकेको उनको अनुभव रह्यो। अनि आफ्नै नेतृत्वमा एनजीओ खोलिन्– सेल्टर नेपाल।
जसबाट कृषि, किसान, महिला विकास, सडक बालबालिका र कारागारमा रहेका कैदीबन्दीको पुनर्स्थापनाको क्षेत्रमा उनले ९ वर्ष काम गरिन्। यो संस्थामा उनले गरेको कामले खुस्बुलाई अझ बढी चर्चामा ल्यायो।
त्यसका बाहेक बालबालिका पुनर्स्थापनाको क्षेत्रमा पनि उनले काम गरिन्।
एकदिन साँझमा खुस्बु काठमाडौं दरबारमार्ग क्षेत्र घुम्न निस्केकी थिइन्। पुसको जाडोमा सडकमा बसेका चारपाँच जना बालबालिकामा उनको नजर पर्यो।
उनीहरू सडकमा च्यातिएको कपडा लगाएर पेटीमा बसिरहेका थिए। उनलाई नमज्जा लाग्यो। चिसोमा लुगलुग काँपेका ती बालबालिकाको बारेमा बुझ्न मन लाग्यो। तर, उनीहरू बोलेनन्। उनी छेउमा जाँदा भागे।
उनी ती बालबालिकाको विश्वास जित्न लागिन्। र, उनीहरूलाई राखेर पुनर्स्थापना केन्द्र खोलिन्। जहाँ कोभिड अगाडिसम्म (२०७७ माघ) ५५ बालबालिका बसेर हुर्किए।
केन्द्र खोल्न आफैले पैसा लगानी गरेको उनको भनाइ छ।
‘बच्चाहरूले छत पाऊन् भन्ने थियो, मैले दिएँ,’ उनी भन्छिन्, ‘त्यहाँबाट निस्किएका बच्चाहरू अहिले खेलकुद क्षेत्रमा छन्। कोही ए डिभिजन लिग खेल्छन्, केही राष्ट्रिय टिममा छनोट भएका छन्।’
२०७९ चैतदेखि उनले सेल्टर नेपाल पनि छाडिन्। अहिले उनी पूर्णकालीन राजनीतिमा छिन्।
‘मासिक सातआठ हजार डलर तलब थापेर जागिर खाएको थिएँ, मेरो जिन्दगी आरामसँग चलेको थियो,’ खुस्बुले नयाँ यात्राबारे भनिन्, ‘तर, सबै छोडेर म पूर्णकालीन राजनीति गर्न होमिएँ, उद्यम गर्दै अब यसमै क्रियाशील हुनेछु।’
दुई छोराकी आमा
दुई वर्षअघि खुस्बुले विवाह गरिन्।
उनका श्रीमान् व्यवसायी हुन्। उनी पनि श्रीमानसँग मिलेर व्यवसाय सञ्चालन गरिरहेकी छन्। हाल उनका दुई वटा रेस्टुरेन्ट छन्।
एउटा रेस्टुरेन्टको जिम्मा उनले छोरा समीरलाई दिएकी छन्। समीर माझी र अमिर माझी गरी उनका दुई छोरा छन्।
समीर र अमिर सानै हुँदा उनीहरूका आमाबुवाको मृत्यु भएको र दुई छोरा अभिभावकविहीन भएको खबर पढेपछि खुस्बु तिनलाई सहारा दिन पुगेकी थिइन्। उनीहरूको अभिभावकत्वको जिम्मेवारी लिएर खुस्बुले समीर र अमिरलाई काठमाडौँ ल्याइन् र पालनपोषण गरिन्।
‘दुईवटा बच्चालाई आफैँले हुर्काएँ। अभिभावकत्व राम्रोसँग पूरा गरेको छु,’ उनी भन्छिन्, ‘तर, दुवैलाई उनीहरूकै पहिचानका आधारमा नागरिकता बनाइदिएँ।’
देश सुधार्न राजनीतिमा
समाजसेवा र व्यवसाय दुवैतिर हात हालेकी खुस्बुलाई लाग्छ, सरकारी संयन्त्र, बैंकले दुःख नदिएको भए राजनीतिमा उनी लाग्ने नै थिइनन्।
कम्पनी दर्ता गर्दादेखि खेप्नुपरेको हैरानी रेस्टुरेन्ट चलाउँदा झन् बढ्यो। यतिसम्म कि विभिन्न सरकारी निकायले मगाएको खाना र खाजाको पैसा उठाउन समेत उनले हण्डर खेप्नुपर्यो।
‘व्यवसाय गर्दा समस्या, ऋण लिँदा समस्या, ब्याजमा मनलाग्दी झेल्नुपर्यो,’ उनले गुनासो गरिन्, ‘नेताको सोर्सफोर्स नलगाई केही कामै हुन छोड्यो। सरकारी कर्मचारी कमिसन नखाई कामै गर्दैनन्। नयाँ व्यापार गर्दा पनि कमिसन दिनुपर्छ।’
त्यसपछि राजनीति सुधार गर्न लाग्नुपर्ने अठोट गर्दै राजनीतिमा लागेको उनी सुनाउँछिन्।
‘राजनीति र उद्यमशीलतालाई सँगसँगै अगाडि बढाउँछु भनेर लागेँ,’ उनी भन्छिन्, ‘यत्रो वर्षमा जति भोगाइ भयो, व्यवसाय, उद्यम सबै कुरा नेपालको राजनीतिक परिवेशमै गएर जोडिएको हुँदा यो हेरेर बस्न सकिनँ। यसलाई सच्याउन, सुधार्न लागिपरेको छु।’
उद्यमशीलताको अभाव नै भ्रष्टाचारको कारण भएको उनको ठहर छ। उद्यम नभएपछि पार्टी चलाउन, कार्यकर्ता पाल्न नेताहरूले कमिसन खान थालेको उनको बुझाइ छ।
‘राजनीति रहरका लागि गरेको होइन, भोगाइहरूबाट सिकेर गरेको हो,’ उनी भन्छिन्, ‘अब मेरो लक्ष्य प्रष्ट छ– राजनीतिमा लागेर सकेसम्म देश सुधार्छु।’
भिडिओ :
Shares
प्रतिक्रिया