ad ad

राजनीति


एकीकृत समाजवादीको दीर्घ सोडारी मुख्यमन्त्री बनाइदिनूस् भनेर फोन गरेको गर्‍यै हुनुहुन्छ : घनश्याम चौधरी (अन्तर्वार्ता)

‘सुदूरपश्चिमको अवस्था चिन्ताजनक छैन, वैशाख २ गते ५ बजेसम्म सरकार बन्छ’
एकीकृत समाजवादीको दीर्घ सोडारी मुख्यमन्त्री बनाइदिनूस् भनेर फोन गरेको गर्‍यै हुनुहुन्छ : घनश्याम चौधरी (अन्तर्वार्ता)

घनश्याम चाैधरी, नाउपा प्रदेश संसदीय दलका नेता, सुदूरपश्चिम। फाइल तस्बिर


सागर न्यौपाने
चैत २६, २०८० सोमबार १२:५२, काठमाडौँ

सुदूरपश्चिममा सरकार बनाउन गठबन्धनलाई हम्मे परिरहेको छ। फागुन २१ गते बनेको एमाले–माओवादी गठबन्धनसँग बहुमत छैन।

५३ सदस्यीय प्रदेश सभामा निर्णायक देखिएको नागरिक उन्मुक्ति पार्टी कांग्रेस र नयाँ गठबन्धन दुवैतिर बाँडिँदा प्रष्ट बहुमत पुग्न नसकेको हो।

नाउपाका पाँच सांसदले समर्थन गरेर सरकारमा जाँदा पनि कांग्रेसका मुख्यमन्त्री कमलबहादुर शाहले पद जोगाउन सकेनन्। उनले राजीनामा दिइसकेका छन्। प्रदेश प्रमुख नजिर मियाले वैशाख २ गतेभित्र मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका छन्।

तर, नाउपाभित्रै कुरा नमिल्दा कुनै पक्षले दाबी पेस गर्न सकेका छैनन्। नाउपाका २ सांसद नयाँ गठबन्धनतिर खुल्न तयार छन्।

नेकपा एकीकृत समाजवादी र नाउपाबाट मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भए पनि रेशम चौधरीले मानेका छैनन्। उता नाउपाको केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ नयाँ गठबन्धनमै मिलेर जान खोजिरहेकी छन्। 

यसै विषयमा नाउपाका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीसँग नेपालखबरले गरेको वार्ताः  

सुदूरपश्चिम प्रदेशमा सरकार बनाउनै गाह्रो पर्‍यो, नागरिक उन्मुक्ति पार्टीले कहिलेसम्म हलो अड्काएर राख्छ?
वैशाख २ गते ५ बजेसम्म सरकार बनाउने समय छ। अझै धेरै चिन्ताजनक अवस्था त छैन। 

तपाईँहरूले गर्न खोज्नुभएको चाहिँ के हो त? 
माथि केन्द्रतिर केही न केही छलफल भइरहेको होला। सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने समाचार पढेको छु। त्यसमाथि सरकार बनाउन बल्ल (संविधानको धारा १६८ अन्तर्गत) उपधारा २ प्रयोग भएको छ। यसपछि उपधारा ३ मा आउला, त्यसपछि ५ मा जाला।

नाउपाको विवादले कसैको पनि बहुमत नपुग्ने अवस्था आयो नि त?
बहुमत पुर्‍याउन नसक्नुमा त हाम्रो के दोष? माथिको गठबन्धन टुटेको टुट्यै हुन्छ, हामीले के गर्ने? कहिले कांग्रेससँग, कहिले माओवादीसँग, कहिले एमालेसँग। यहाँ तल हामीले के गर्ने?

तपाईंहरूमा पनि त निर्णय गर्न नसक्ने अवस्था देखियो नि?
अरु के हो थाहा भएन। सुदूरपश्चिममा नयाँ संघीय संविधानअनुसार कसरी चल्ने, कार्यान्वयन कसरी गर्ने र यसको अभ्यास कसरी गर्न सकिन्छ, हामी यसमै लागिपरेका छौँ।

त्यो अभ्यास भनेको कस्तो हो त?
नेपालको संविधानको ‘एक्सरसाइज’ त गर्नुपर्‍यो सर।

सधैँभरि केन्द्रीकृतको हुँदैन नि । स्थानीय सरकार र प्रदेश सरकार पनि एउटा स्वायत्त हुन् नि, संघीय सरकारजस्तै।
अरु देश भारत, स्वीट्जरल्यान्डका कुरा गर्दै छौँ। त्यहाँ पनि स्वायत्त प्रदेश छ नि।

यो केन्द्रमा जुन गठबन्धनको सरकार छ, प्रदेशमा त्यस्तै हुनुपर्छ भन्ने त मलाई लाग्दैन।

त्यसो भए सुदूरपश्चिममा कांग्रेससँगै मिल्नुपर्ने तपाईँको अडान हो ? 
अप्सन हेर्नु न । अहिले उपधारा २ मा सरकार बनाउने हो। यो भनेको वैशाख २ गते साँझ ५ बजेसम्म हो। यो भएन भने अर्काे अप्सन आउला।
तर, यो अप्सनमा सरकार बन्छ। 

वैशाख २ गतेसम्म बन्छ? 
बन्छ। किन बन्दैन? जनताको माग, मुद्दा, जनताले दिएका भोटको कदर गर्दै जनता सुदूरपश्चिममा जुन माग थियो, नागरिक उन्मुक्ति पार्टीले म्यान्डेट राखेर गएको छ, त्यसमा टेकेर सरकारमा जाने हो, नत्र सरकारमा जाँदैनौँ।

कांग्रेसको सरकारमा तपाईँहरू ५ जना मन्त्री बन्नुभयो तर पनि सरकार टिकाउन सक्नुभएन नि?
नयाँ गठबन्धन बनाउने बेलामा प्रचण्डजीले पनि त हामीसँग केही सोध्नुभएन नि। नागरिक उन्मुक्ति पार्टीलाई प्रधानमन्त्रीले सोध्नुभयो, म एमालेसँग जाँदा सुदूरपश्चिममा के हुन्छ भनेर? 

तपाईँ संसदीय दलको नेताका रूपमा गरेको निर्णय पनि काम लागेन, अब के गर्नुहुन्छ ? 
के गरेर हुन्छ, सरकार त बन्छ। सरकार नबन्ने कुरा हुँदैन।

रेशम चौधरीजी के भन्नुहुन्छ ? 
सरकार बनाउने हो। 

कसले र कसरी बनाउने? 
सरकार बनाउने हो। २ गते साँझ ५ बजेभित्र बनाउने हो। मैले केन्द्रको स्पष्ट अवधारणा पाएको छैन। अहिलेसम्म प्रस्ट कुरा के छ भने, यहाँ एकीकृत समाजवादीको दीर्घ सोडारीजीलाई पत्र पठाएको रहेछ। उहाँ मलाई खोजी हिँडिराख्नुभएको छ। मेरो सम्झौता चाहियो, मलाई मुख्यमन्त्री बनाइदिनूस् भनेर फोन गरेको गर्‍यै हुनुहुन्छ।

मैले न्युजमा पढ्छु कि मुख्यमन्त्री नागरिक उन्मुक्तिले माग्यो, तर माथिबाट अर्कै कुरा आउँछ।

त्यसमा अलिकति असन्तुलन देखिएजस्तो लाग्छ मलाई। तैपनि हामी बस्छौं। ५३ सदस्यीय प्रदेश सभामा हामी ५२ जना कायम छौँ, बसेर छलफल गरौँला।

तपाईँकै पार्टीभित्रका केही सांसद नयाँ गठबन्धनतिर खुलेर हिँडिसक्नुभएको छ, होइन? 
यो संसार कसरी चल्छ? अल्पमतले कि बहुमतले? कि सर्वसम्मतिले?

संसारको राजनीति बहुमतले चलिराखेको छ। २ जना सांसदले भोट हालिदिएको भए यो अवस्था आउँदैन थियो, सुदूरपश्चिम सरकार चल्दै थियो। एकजना राप्रपा, एकजना स्वतन्त्र थिए। 

हामीले मागेको विकासको कुरा थियो। बारम्बार सरकार बनाइराख्ने कुरा होइन होला नि। २ जना साथीहरूको मतले गर्दा उहाँहरू देशलाई गुमराह बनाउने, प्रदेशलाई अस्थिर बनाउनेजस्तो त हुँदैन।

व्यक्तिगत स्वार्थले त देश चल्दैन नि। 

त्यसो भए तपाईँहरूको स्वार्थ के हो त? 
हाम्रो स्वार्थ केही पनि होइन। उहाँहरू आउनुहुन्छ। हामी छलफल गर्छाैँ, सँगै बस्छौँ। केही स्वार्थ त्यस्तो छैन। हामी नेता हौँ।
जनताले मागेको, प्रदेशले मागेको त्यही अनुसारको सरकार बनाउँछौँ, त्यसमा कुनै दुईमत छैन।

केन्द्रमै बनेको गठबन्धनकै सरकार बन्छ कि त्यहाँ फरक बन्छ? 
सरकार कसरी बन्ला त? केन्द्रमा भएको गठबन्धनको सरकार बनेको भए अहिलेसम्म बनिहाल्थ्यो नि। केन्द्रमा बनेको समीकरणअनुसार माओवादीसँग ११, एमालेसँग १०, एकीकृत समाजवादीसँग ४ छ, यो जोड्दा २४ पुग्छ ।

अब चाहियो, नागरिक उन्मुक्ति पार्टी। हाम्रो पार्टीले निर्णय गर्ला नि। 

तपाईँहरूको निरन्तरको छलफल कुन दिशातर्फ उन्मुख छ? के निर्णय गर्नुहुन्छ? 
अहिले हामी कांग्रेस नेतृत्वकै सरकारमा छौँ। अब दुई–तीन दिनमा हामीले कुनरूपमा जाँदा ठीक हुन्छ, त्यही रणनीति अपनाउँछौं। त्यसपछि सरकारको संरचना बन्छ ।

उदीयमान पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र उनका श्रीमान् रेशम चौधरीको घरझगडाको सिकार भइरहेको छ। सुदूरपश्चिमकै कारणले विभाजनको डिलमा पुग्ने खतरा बढ्यो नि हैन?
सुदूरपश्चिमको कारणले के होला त्यस्तो? नहोला।

अध्यक्षज्यूले प्रधानमन्त्रीलाई विश्वासको मत दिनुभयो। सबै प्रदेशमा सरकार त भरखरै बनिराखेको छ। पहिला सरकार पुरानै थियो। हामीले के गरेका छौँ र नयाँ? अध्यक्षज्यूले पठाउनुभएकै सरकारमा त थियौँ। कांग्रेस, माओवादी, एकीकृत समाजवादी र नाउपा थिए सरकारमा ।
एमाले, माओवादी र समाजवादी सरकारभन्दा बाहिर गइसकेपछि कांग्रेस र नाउपा मात्र रह्यौँ। मैले कहाँनेर बुझिनँ भने, ठीक छ, बहुमत पुगेन भने सरकारमै बस्नुपर्छ भन्ने त छैन नि।

अरुअरु पार्टीले सरकार बनाउन सक्छन् भने बनाऊन्। तर, देशमा विकास गर्नु छ भने सधैँभरि सरकार परिवर्तन गरेर हुँदैन। जनताका एजेन्डा थुप्रै छन्।

एक्कासि गठबन्धन परिवर्तन। कहिले माओवादीसँग जानुहुन्छ, कहिले एमालेसँग जानुहुन्छ। सधैँभरि उहाँहरूको पछि लागेर त हामीलाई हुँदैन होला नि?

तर, कुनै दलसँग पनि स्पष्ट बहुमत नभएपछि गठबन्धन त गर्नैपर्छ नि? 
नेपालमा एउटै दलको बहुमत त कतै छैन। तर, दलको पछि लाग्ने मात्र होइन। अब वैशाख २ गते साँझको ५ बजेसम्म सरकार बन्छ। कुनै न कुनै अवस्थामा हामी सरकार बनाउँछौं। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .