ad ad

राजनीति


मधेस प्रदेश : १५ महिनामा आज चौथोपटक विश्वासको मत लिँदै मुख्यमन्त्री

मलाई आरामले विश्वासको मत प्राप्त हुन्छ : सरोज यादव
मधेस प्रदेश : १५ महिनामा आज चौथोपटक विश्वासको मत लिँदै मुख्यमन्त्री

फाइल तस्बिर


नेपालखबर
बैशाख ४, २०८१ मंगलबार ८:४२, काठमाडौँ

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज (मंगलबार) विश्वासको मत लिँदैछन्। 

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनको लागि मंगलबार दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरिएको प्रदेश संसद सचिवालयले जनाएको छ। 

आफूलाई विश्वासको मतको लागि कुनै समस्या नरहेको मुख्यमन्त्री यादवले बताए। ‘हामी गठबन्धनमा छौँ, विश्वासको मतको लागि कुनै समस्या छैन,’ मुख्यमन्त्री यादवले नेपाखबरसँग भने, ‘मलाई आरामले विश्वासको मत प्राप्त हुन्छ।’

केन्द्रमा नयाँ गठबन्धन बनेपछि मधेस सरकारबाट कांग्रेस बाहिरिएको थियो। प्रदेश सरकारबाट कांग्रस बाहिरिएको र एमाले सरकारमा सहभागी भएपछि प्रदेश प्रमुख यादवले विश्वासको मत लिन लागेका माओवादी केन्द्रका सांसद जवाहरलाल कुशवाहाले जानकारी दिए। 

१५ महिनाअघि मुख्यन्त्री नियुक्त भएका यादवले चौथोपटक विश्वासको मत लिन लागेका हुन्। 

यसअघि केन्द्रमा सत्ता समीकरण फेरिएपछि मधेश सरकारबाट गएको चैत ५ गते कांग्रेस बाहिरिएको थियो। बाहिरिएपछि चैत ९ गते कांग्रेसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो।

सरकारमा रहेका दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ।

जसपा नेता यादव २७ पुस २०७९ मा नेकपा एमाले, माओवादी केन्द्र, जनमत, राप्रपा र नेपाल संघिय समाजवादी पार्टीका ६३ प्रदेशसभा सदस्यको समर्थनमा मधेस सरकारको मुख्यमन्त्री नियुक्त भएका थिए।

१०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतको लागि ५४ जना प्रदेससभा सदस्यको समर्थन आवश्यक पर्छ। हाल कांग्रेस, जनमत पार्टी र लाेसपा यादवको विपक्षमा छन्। 

मधेस प्रदेशसभामा एमालेका २४, कांग्रेसका २२, जसपाका १८, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपाका ९-९ र एकीकृत समाजवादीका ७ जना सांसद छन्। त्यसैगरी नेपाल  सङ्घीय  समाजवादी  पार्टी,  नागरिक  उन्मुक्ति  पार्टी र राष्ट्रिय  प्रजातन्त्र  पार्टीका  एक/एक प्रदेश सांसद छन्।

पछिल्लो  सत्ता  गठबन्धनका  आधारमा  मुख्यमन्त्री  यादवलाई  विश्वासको  मत  पाउन  सहज रहेकाे अनुमान गरिएकाे छ। 

हालको सत्ता गठबन्धनअनुसार एमाले २४, जसपा १९, माओवादी केन्द्र नौ, नेकपा (एकीकृत समाजवादी) सात  गरी  ६०  जनाको  समर्थन यादवलाई रहने देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .