राजनीति


इलामको चुनावमा लारुम्बा फ्याक्टर : डकेन्द्र उत्साहित, अरू सशंकित

इलामको चुनावमा लारुम्बा फ्याक्टर : डकेन्द्र उत्साहित, अरू सशंकित

लारूम्बामा पहिचान पक्षधरकाे चुनावी सभा


रुपक चौलागाईं
बैशाख १०, २०८१ सोमबार २२:१, इलाम

अबको ५ दिनपछि इलाम–२ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ। १९ जना उम्मेदवार मैदानमा छन्। १२ जनाले राजनीतिक दलको प्रतिनिधित्व गरेका छन् भने ७ जना स्वतन्त्र उम्मेदवार हुन्। 

यतिबेला यी सबै उम्मेदवारहरू चुनावी घरदैलोमा व्यस्त छन्। 

सहरी क्षेत्रका होटलमा काठमाडौँदेखि चुनावकै लागि पुगेका नेताहरू भेटिन्छन्। उनीहरू इलामको उपनिर्वाचनले ०८४ समेतलाई असर गर्न सक्ने भन्दै जित्ने रणनीतिका तल्लीन छन्। 

एमालेको गढ मानिएको यस क्षेत्रमा यतिबेला पहिचानको मुद्दा पेचिलो बन्दै गएको छ। कोसी प्रदेशको नामाकरणदेखि नै एमालेसहित मूलधारका दलप्रति पहिचान पक्षधरको नजर फेरिएको छ। 

जसको प्रभाव एमालेले गढ मानिँदै आएको देउमाई, चुलाचुली, फाकफोथुम र माङ्सेबुङका केही वडामा पर्ने देखिएको छ। 

यहाँबाट पहिचान पक्षधरको नेतृत्व गर्दै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम) चुनावी मैदानमा छन्। उमेरले ६० नाघेका लिम्बु किराँत धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष हुन्। 

फाकफोकथुमको वडा नम्बर ३ आमचोक, रातमाटेमा जन्मिएका लिम्बूको आक्रामक प्रचारले ठूला भनिएका राजनीतिक दलको मुटुमा ढ्याङ्ग्रो ठोकिदिएको छ। उनलाई निर्वाचन आयोगले मुढा चुनाव चिन्ह दिएको छ।

लिम्बू किराँत धर्मगुरु आत्मानन्द लिङ्देनका चेला पनि हुन्। 

लिङ्देनको माङ्सेबुङको वडा नम्बर ५, फाकफोकथुम–३ र माईका केही क्षेत्रमा खास प्रभाव छ। 

इलामको उपनिर्वाचनमा लिङ्देन प्रायः निर्णायक मानिन्छन्। यसपालि पनि सबैजसो दलका नेता तथा उम्मेदवार लिङ्देनसँग आशिर्वाद लिन पुग्ने होड नै चलिसक्यो।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल, गृहमन्त्री रवि लामिछाने लगायतले गुरुसमक्ष सहयोग याचना गरिसके।  

तर, यसपटक गुरुको प्रभावक्षेत्रको मत दलहरूले पाउने सम्भावना कमै देखिन्छ। 

लारुम्बाको दृश्य
गुरुको स्थायी बसोवास भएको ठाउँ हो, लारुम्बा। 

यहाँ पुग्न सदरमुकाम इलाम बजारबाट झण्डै पाँच घन्टाको लामो कच्ची बाटो तय गर्नुपर्छ। 

पहिलोपटक लारुम्बा पुग्ने जोकोही अचम्भित हुन्छन्। धर्मगुरुलाई अत्यन्तै सम्मान गर्ने यहाँका बासिन्दा उनकै नियमभित्र अडिएर बसेका छन्। 

लारुम्बामा जीवजन्तुको काटमार चल्दैन। माछामासु यहाँका बासिन्दाले घरमै लगेर पकाउने हिम्मत गर्दैनन्। 

यतिसम्म कि, यहाँका पसलमा जाँडरक्सी बेच्न राखिएको छैन। चुरोट, गुट्खा, खैनी लगायतका वस्तु प्रयोगमा प्रतिबन्ध लगाइएको छ। कसैले अटेर गरे उसलाई तुरुन्तै कारबाही हुन्छ। 

यहाँका बासिन्दा धर्मगुरुको अनुशासनबारे जानकार छन्। 

अर्को रोचक कुरा, यहाँका स्थानीय प्रायः चुनावमा यसैलाई भोट हाल्ने भनेर खुल्न मान्दैनन्। ‘चुनावको अन्तिम समयमा धर्मगुरुको आशिर्वाद पाएको उम्मेदवारबारे यहाँका टोली नेताहरूले मतदातालाई भन्छन्,’ एक स्थानीयले भने, ‘उसैले यहाँको भोट पाउँछ।’

आशिर्वाद लिने रविको प्रयास
किराँतहरूको पवित्रस्थल ‘माङ’ रहेको यस क्षेत्रको आशिर्वाद जसले लियो, उसैले जित्ने गरेको यहाँका किराँत धर्मावलम्बीहरू विश्वास गर्छन्। 

विगतका चुनावमा पनि धर्मगुरु लिङ्देनको आशिर्वाद लिन एमाले अध्यक्ष केपी शर्मा ओली, स्व. सुवास नेम्बाङ, प्रदेश तहका नेताहरूको ताँती लाग्ने गरेको थियो। 

यसअघिका प्रायः निर्वाचनमा नेम्बाङले सहजै गुरुको आशिर्वाद पाउने गर्थे। यसपटक पनि गुरुको निवासमा आशिर्वाद लिन पुग्ने नेताहरूको खाँचो छैन। 

गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने त दुईपटक लिङ्देनको आशिर्वाद लिन पुगिसके।

केही हप्ताअघि नै झापा आएको बखत पारेर लामिछाने लिङ्देन भेट्न लारुम्बा पुगेका थिए। लारुम्बामा गुरुको प्रभाव देखेपछि चुनाव जित्ने रणनीतिमा लागेका रविले त्यहाँ सभा आयोजना गर्न इलामको टिमलाई भने। 

सो सभामा काठमाडौँदेखि हस्याङफस्याङ गर्दै रवि आफैँ पुगे। सभा सानै थियो। ठूलो उपस्थितिमा कार्यक्रम गर्न सकिने भूगोल पनि थिएन। 
तर, रविले मतदाता प्रभावित पार्न सकिन्छ कि भनेर आफ्नै उपस्थिति देखाए। उनीसँगै श्रममन्त्री डोलप्रसाद अर्याल, सांसद निशा डाँगी लगायतका केन्द्रीय नेताहरू पनि लारुम्बा पुगेका थिए। 

यसबाट सहजै अनुमान लगाउन सकिन्छ, लारुम्बाबाट मिलनलाई आशिर्वाद दिलाउने प्रयास।

तर, रास्वपाको टोलीले यहाँ नसोचेको भोग्नुपर्‍यो। 

रवि पुग्नेबित्तिकै स्थानीयले घेरेर सोधे, ‘संघीयता र पहिचानको मुद्दामा पार्टीको लाइन के हो?’

रवि गोलमटोल जवाफ दिएर फर्किए। यसले त्यहाँको भोट मिलनलाई जानेमा रास्वपाकै नेताहरू विश्वस्त छैनन्। 

डकेन्द्रको छाप
इलामभरि धर्मगुरु र पहिचान पक्षधर उम्मेदवारको निकटताको चर्चा हुने गरेको छ। यही कारण चुनावी नतिजाबारे नयाँनयाँ विश्लेषण हुन थालेका छन्। 

डकेन्द्रलाई धर्मगुरुको क्षेत्रबाट भोट खस्ने निश्चितजस्तो देखिन्छ। किनभने, डकेन्द्रको एक सूत्रीय माग नै पहिचानसहितको राज्य छ। यसैमा यहाँका पहिचान पक्षधरको समर्थन छ। 

आमा सेर्मा रणमाया लिम्बू र बुवा असारसिंह लिम्बूको कोखबाट जन्मिएका डकेन्द्र लामो समयदेखि धर्मगुरुकै सेवामा थिए।

उनी फाल्गुनन्द स्मृति प्रतिष्ठान, झापाका अध्यक्ष पनि हुन्। 

लिम्बूका ५ छोरी र २ छोरा छन्। लामो समय अध्यापनमा खटिएका डकेन्द्र यस क्षेत्रका पहिचान पक्षधरसामु लोकप्रिय छन्। 

धनकुटा क्याम्पसबाट अंग्रेजी र अर्थशास्त्रमा स्नातक गरेका डकेन्द्रले झण्डै २० वर्ष शिक्षण पेसा अपनाए। 

अध्यापनपछि पनि उनी विभिन्न विद्यालयमा स्रोतव्यक्तिका रूपमा काम गरे। 

अहिले सेवा निवृत्त भएका उनको अनुहार यहाँका धेरै स्थानीयले देखेभेटेकै हो। लामो समय धर्मगुरुको समीपमा बसेका डकेन्द्रलाई नै लारूम्बा क्षेत्रका जनताले आँखा चिम्लेर मत दिने दाबी गर्छन्, चुनावी अभियानमा खटिएका सोही क्षेत्रका एक नेता।

हर्कको सक्रियता
खासमा डकेन्द्रलाई जिताउने अभियानको मुख्य योजनाकार देखिएका धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ पनि हुन्। 

यसअघि एक्लै चुनावी मैदानमा उत्रिएर स्वतन्त्ररूपमा जितेका उनले यसपटक इलामको चुनावलाई प्रतिष्ठाकै विषय बनाएका छन्। 

निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेदेखि नै हर्कको प्रचार आक्रामक छ। उनी सामाजिक सञ्जालबाट लगातार इलामबारे मात्रै बोलिरहेका छन्। 

केही दिनअघि मात्रै देउमाई नगरपालिकामा पर्ने मंगलबारे पुगेर हर्कले डकेन्द्रको पक्षमा प्रचार गरेका थिए। 

हर्क फेरि इलाम पुग्दै छन्। डकेन्द्रको अभियानमा खटिएका नेताहरूका अनुसार, हर्क भोलि (मंगलबार) फेरि हर्क इलाम आउने कार्यक्रम छ।

माङ्सेबुङ गाउँपालिकामा पर्ने चिसापानीस्थित पञ्चमी बजारमा विशाल आमसभा राखिएको छ।

पकड बलियो बनाउँदै
सोमबार मात्रै डकेन्द्र जिताउ अभियान इलाम नगरपालिकामा सातवटा समूह बनाएर प्रचारमा जुटेको छ। माङ्सेबुङ र चुलाचुलीका केही क्षेत्रमा त्यहीँका स्थानीय नेता कार्यकर्ताहरू मुढा बोकेर चुनावी मैदानमा छन्।

डकेन्द्रका दुई छोराछोरीले गायनमा चर्चा कमाएका छन्, छोरा एकदेव लिम्बू र छोरी सुनिता थेगिम। उनीहरू चुनावी सभामा पुगेर मुढाको पक्षमा माहोल बनाइरहेका छन्। 

यहाँको चुनावी अभियानमा खटिएका किराँत राई आङ्ग्याकका केन्द्रीय महासचिव कृष्ण राई आफूहरू चुनाव जित्ने दाबी गर्छन्। 

माङ्सेबुङ १, ३ र ५ को ८० प्रतिशत भोट मुढामा खस्ने उनको दाबी छ। वडा नम्बर २ मा भने रास्वपाका मिलन लिम्बूको स्थायी घर भएकाले कम मत पाउने उनीहरूको आकलन छ। 

माङ्सेबुङकै वडा नम्बर ४ र ६ मा पनि मिहिनेत गर्नुपर्ने आन्तरिक बुझाइ छ। त्यहाँ पनि मंगलबार हर्क साम्पाङलाई उतारेर माहोल बनाउने प्रयासमा उनीहरू जुटेका छन्। 

सहरी क्षेत्रको भोट तान्न भने उनीहरूको चिन्ता देखिन्छ। ‘हामी सहरबाट गुमाउने भोट गाउँबाट पूर्ति गर्छौँ,’ राईले भने, ‘जनतामा दलप्रतिको वितृष्णा व्यापक छ, यसले पनि हामीलाई सहयोग हुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .