राजनीति


इलाम–२ : ५७ प्रतिशतले गरे मतदान, मतपेटिका संकलनको काम सुरु

सकेसम्म आजै रातिबाट मतगणना सुरु गर्ने तयारी
इलाम–२ : ५७ प्रतिशतले गरे मतदान, मतपेटिका संकलनको काम सुरु

नेपालखबर
बैशाख १५, २०८१ शनिबार १७:५३, काठमाडौँ

शनिबार भएको उपनिर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर २ मा ५७ प्रतिशत मतदान भएको छ। 

साँझ पाँच बजेसम्म यहाँ करिब ६६ हजार मतदाताले मतदान गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नेपालखबरलाई जानकारी दिए। यद्यपि मतदान केन्द्रभित्र केही मतदाता अझै बाँकी रहेको उनले बताए। 

मतदान कार्य सकिएसँगै आजै मतपेटिका सदरमुकाम ल्याउने तयारी अघि बढाइएको छ। ०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाममा ५७ दशमलव ४४ प्रतिशत मतदान भएको थियो।

मत खसाल्न आएका मतदाताका अनुसार पहिलाका मतदान जस्तो अहिलेको मतदानमा मतदाताको संख्या धेरै कम भएको प्रतिक्रिया दिएका थिए।

५ बजेसम्म मतदान गर्न नपाएकाहरू ‘पोलिङ एरिया’ भित्र रहेर मतदान गर्नसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। साँझ ५ बजेसम्म ५७ प्रतिशत मतदान भएको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार मतदानको समय सकिएसँगै मतपेटिका संकलनका लागि लाहाछाप लगाउने काम भइरहेको छ। मतपेटिकाहरू सोझै इलाम नगरपालिका ७ मा रहेको गौतमबुद्ध सम्मेलन केन्द्रमा लगिनेछ।

१ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ६६ हजार भन्दा बढी मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार इलाम–२ बाट प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन्। 

भौगोलिक विकटताका कारण मतपेटिका पुग्न समय लाग्ने बताउँदै त्यसलाई हेरेर मात्रै मतगणनबारे निर्णय लिइने उनले बताए।

यहाँ एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आकलन छ।

 

यो क्षेत्रमा पहिचानवादी मुद्दा पेचिलो छ। पहिचानवादी पक्षका स्वतन्त्र उम्मेदवारसमेतको प्रतिस्पर्धाले चुनाव थप रोचक बनेको छ। इलामको उपनिर्वाचनलाई नेपाली राजनीतिका शीर्ष नेतृत्वले समेत प्रत्यक्ष चासो दिएका छन्।

१२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन्।

इलाम–२ मा एक लाख १५ हजार आठ सय ८९ मतदाता छन्। ७९ मतदानस्थलका एक सय ४९ मतदान केन्द्रमा मतदान भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .