राजनीति


कांग्रेसले संसदमा रविलाई बोल्न दिने, छानबिन समितिको माग यथावत्

कांग्रेसले संसदमा रविलाई बोल्न दिने, छानबिन समितिको माग यथावत्

नेपालखबर
बैशाख २६, २०८१ बुधबार १८:२३, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने भएको छ।

सभामुखसँग गृहमन्त्रीलाई बोल्न दिने तर, संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने कांग्रेसको तयारी छ।

पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकारसँग भेटघाट गर्दै संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसदमा प्रमुख प्रतिपक्षले उठाएका महत्वपूर्ण विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको बताए।

उनले मन्त्री वा कुनै व्यक्ति विशेष नभई हजारौँ जनताको अर्बौं रकम हिनामिना र अपचलन भएको विषयमा छानबिन गरौँभन्दा त्यसलाई बेवास्ता गरिएको आरोप पनि लगाए।

प्रमुख सचेतक लेखकले भने, ‘जनताले छाक काटेर सहकारीमा राखेको रकम अपचलन गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याइनुपर्छ। मुलुकको अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रुपमा रहेको सहकारी अभियानलाई राम्रो बनाएर लैजानुपर्छ।’

आफ्नो पार्टी सरकारमा रहँदा पनि ऐन निर्माणका लागि आवश्यक विधेयक ल्याउने र पारित गर्ने विषयमा कमी कमजोरी भएको स्वीकार्दै उनले भने, ‘हामी अहिले प्रतिपक्षमा छौँ, हिजोको त्यो कमी कमजोरी यथावत छ। विधायनको काम कमजोर भयो भनी आएका सुझाव बोधगम्य छ।’

संसद्को प्रभावकारिता हुन सकेन र जनतालाई संसद् हाम्रा लागि हो भन्ने अनुभूति भएन भने व्यवस्थालाई नै कमजोर तुल्याउन सक्नेतर्फ विचार पुर्याउन आवश्यक रहेको बताउँदै नेता लेखकले संसद्लाई काम दिने र जवाफदेही तुल्याउने जिम्मेवारी सरकारकै भएको विचार प्रकट गरे।
 
संसद्मा दलका नेताबीच मन्तव्यका क्रममा हुने आलोचनात्मक क्रियाकलापले अवलोकनका लागि आउने विद्यार्थीले के पाठ सिक्न सक्छन् भन्नेमा सचेत हुन आवश्यक रहेको बताउँदै पूर्वमन्त्री लेखकले नेकपा (एमाले) सँग नयाँ समीकरण बनाउने र अहिलेको गठवन्धन भत्काउने खेलमा आफ्नो पार्टी नरहेको प्रतिक्रिया दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .