राजनीति


कांग्रेसको आरोप– सहकारीको अनुसन्धान अवरोध गर्न सरकारले संवैधानिक निकायको प्रयोग गर्‍यो

कांग्रेसको आरोप– सहकारीको अनुसन्धान अवरोध गर्न सरकारले संवैधानिक निकायको प्रयोग गर्‍यो

नेपालखबर
बैशाख २८, २०८१ शुक्रबार १३:१६, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपलचन भएको विषयमा सहकारी अपलचनबारे अनुसन्धान गर्ने संवैधानिक निकायलाई समेत सरकारले प्रयोग गरेको आरोप लगाएको छ। 

शुक्रबार बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रमुख सचेतक रमेश लेखकले अनुसन्धान अवरोध गर्नका लागि सरकारले संवैधानिक निकायसमेतलाई प्रयोग गरेको बताए। 

‘संवैधानिक निकाय समेतलाई सहकारीको रकम अपलचन गर्ने विषयमा अनुसन्धान अवरोध गर्नका लागि सरकारले प्रयोग गरेको छ,’ उनले भने, ‘देशमा कानुन व्यवस्था बनाउनका लागि, कुनैपनि अपराधजन्य काममा निष्पक्ष छानबिन गराउने, त्यसको आधारमा अदालतमा मुद्दा अभियोजन गर्ने निकायलाई सरकारले जुन प्रयोग गरेको छ, राजनीतिक अभिष्ट पूरा गर्नका लागि।’

साथै, उनले यस्ता कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको पनि बताए। 

‘संवैधानिक निकायसमेतको दुरुपयोग गरेको छ, हाम्रो बैठकले यो कामको निन्दा गरेको छ,’ उनले भने। 

आजको बैठकले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारीको हिनामिनामा संलग्न भएको पर्याप्त प्रमाण देखिइसकेको पनि दाबी गरे। 

‘उपप्रधान एवं गृहमन्त्री माननीय रवि लामिछानेजीको समेत संलग्नता भएको पनि तमाम पर्याप्त तथ्य र प्रमाण देखिइसकेका छन्,’ लेखकले भने, ‘ माननीयजीको पनि संलग्नता देखिएको हुनाले यो छानबिन स्वतन्त्र होस् भन्ने सुनिश्चितताका लागि हामीले संसदीय समिति माग गरेका थियौँ। अहिले पछिल्लो समय देखिएका तथ्यले जुन समितिको माग गरेका थियौँ, त्यो पुनःपुष्टि भएको छ।’

हामीले सहकारीको विषयमा प्रमुख विपक्षी दल लगायत दलले पटक पटक कुरा उठाउँदा पनि सरकार संवेदनशील हुन नसकेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .