समाज


नेपालमा युरोपेली लगानी भित्र्याउन युरोपेली संघले सघाउने

नेपालमा युरोपेली लगानी भित्र्याउन युरोपेली संघले सघाउने

नेपालखबर
बैशाख २८, २०८१ शुक्रबार १३:०, काठमाडौँ

नेपालमा युरोपेली लगानी भित्र्याउन युरोपेली सङ्घले सघाउने बताएको छ। 

नेपालका लागि सङ्घका राजदूत भेरोनिक लोरेञ्जोले युरोपेली लगानी ल्याउन आगामी साता काठमाडौंमा ‘इयू–नेपाल व्यापार मञ्च’को बैठक हुन लागेको बताइन्।

नेपाल र युरोपेली सङ्घबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव तथा युरोप दिवसका अवसरमा बिहीबार यहाँ आयोजित स्वागत समारोहमा राजदूत लोरेञ्जोले नेपालको वैदेशिक लगानी अभाव परिपूति गर्ने उद्देश्यले आगामी जेठ २ र ३ गते काठमाडौँमा मञ्चको दोस्रो बैठक आयोजना गरिने जानकारी दिइन्।

बैठकमा नेपालका लगानीका सम्भावित क्षेत्रमा छलफल गर्न युरोपेली सङ्घमा आबद्ध मुलुकका कम्पनीले भाग लिने उनले बताइन्। 

राजदूत लोरेञ्जोले सन् २०२६ मा नेपाल अतिकमविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुनुपर्ने लक्ष्यका साथ अघि बढेकाले त्यसनिम्ति आर्थिक विकास र रोजगारीका अवसर सिर्जना गर्न आवश्यक भएको बताउँदै सङ्घमा आबद्ध सदस्य देश र विकासका लागि युरोपेली वित्तीय संस्थाबाट नेपाललाई प्रदान गरिने सहायता ‘ग्लोबल गेट वे’मार्फत प्रवाह हुने जानकारी दिइन्।

राजदूत लोरेञ्जेले शान्तिप्रिय नेपालीलाई रुस–युक्रेन द्वन्द्व र इजरायलमा भएको आतङ्कवादी हमलाबाट चोट पुगेको चर्चा गर्दै उनले बन्दी बनाइएका विपिन जोशी र उनको परिवारप्रति ऐक्यबद्धता व्यक्त गरिन्। 

उनले विश्वव्यापी रूपमा सङ्घ शान्ति, विधिको शासन, मानवअधिकार, बहुपक्षीयता, मानवीय सहायता तथा साझेदारीलगायत साझा मूल्यमान्यता प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताइन्।

राजदूत लोरेञ्जेले नेपालको विकास साझेदार सङ्घले २०७२ सालको भूकम्प होस् या कोरोना महामारी यहाँको विकास र विषम परिस्थितिमा सक्दो सहयोग गर्दै आएको बताइन्।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपसभामुख इन्दिरा राना, सांसद, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारीका साथै नेपाल सरकारका अधिकारीहरूको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .