नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले ०६४ सालमा पार्टी पहिलो हुँदा भुइँ छाडेका कारण ७० मा तेस्रो हुन पुगेको टिप्पणी गरेका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित अछाम–काठमाडौँ सम्पर्क समन्वय समितिको दोस्रो भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।
साथै, उनले देशभर ठूलो भइयो भनेर धेरैले जरा नै बिर्सिन पुगेको टिप्पणी समेत गरे।
‘हामी ६४ सालपछि बिग्रियौँ। किन बिग्रियौँ भने, ६४ सालमा देशभर पार्टी ठूलो भयो। अनि हामी इलाममा तेस्रो थियौँ, तर पहिलो ठूलो पार्टी भएर पहिला आसनग्रहण गथ्यौैँ,’ उनले भने, ‘कांग्रेस ठूलो पार्टी थियो तर दोस्रोमा हुन्थ्यो। दोस्रो ठूलो पार्टी एमाले तेस्रोमा थियो। हामीलाई के लाग्यो भने– हामी ठूलो पार्टी हौँ। पहिलो भनेर सबै ठाउँमा भुइँ छोड्यौँ। अहिले ७० मा तेस्रो भयौँ त्यो पचाउन सकिएन भन्यो एउटा साथीले। कुरा त त्यो हो त।’
साथै, उनले अब पार्टी बलियो हुन विचार र नेतृत्व सक्षम हुनुपर्ने पनि जिकिर गरे।
‘देशभर हामी ठूलो भयौँ, आफ्नो जरा बिर्सियौँ। त्यसकारण आन्दोलन ठूलो भनेको विचार र राजनीतिले हुन्छ। नेतृत्व बलियो भयो भने बन्छ,’ पुनले भने।
Shares
प्रतिक्रिया