ad ad

राजनीति


नेपालमा एमसीसीलाई बलियो बनाउन बीआरआईको विरोध गरियो : केसी (भिडिओ)

नेपालमा एमसीसीलाई बलियो बनाउन बीआरआईको विरोध गरियो : केसी (भिडिओ)

नेपालखबर
असार १३, २०८१ बिहिबार १४:५५, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बीआरआई र एमसीसी परियोजना बिचको अन्तर स्पष्ट पार्न माग गरेका छन्।

बिहीवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष केसीले बीआरआईलाई स्वीकार गरियो भने नेपाल ऋणमा डुब्छ भन्ने भाष्य केही नेताहरुले स्थापित गर्न खोजेको भन्दै त्यसको विरोध गरेका हुन्।

उनले नेपालमा बीआरआई परियोजनाको विरोध गरेर एमसीसी परियोजनालाई बलियो बनाउन लागिएको भन्दै त्यस कुराप्रति नेपाली जनता सजग हुनुपर्ने बताए।

उनले भने, ‘अहिलेकै सत्ताधारी साथीहरुले एमसीसी ल्याउँदाखेरी, अमेरिकनहरुले एमसिसीको भारी बोकाउँदाखेरी धुन्धान विरोध गरेको होइन? हामी सत्तामा बस्ने छैनौँ। हामी राजनीति गर्ने छैनौँ भनेर नेपाली जनताको अगाडी उफ्रेको होइन ? आखिरी कथित १२ बुँदेको जामा लगाएर, १२ बुँदेबाट एमसीसीबाट नेपाल राष्ट्रलाई पर्ने असरबाट १२ बुँदेले चोख्यायो भनेर छल, कपट गरेर, षड्यन्त्र गरेर, अमेरिकी साम्राज्यवादको पासो नेपाली जनतालाई बोकाएको हो कि होइन ?’

उनले एमसीसीलाई अमेरिकी साम्राज्यवादको पासोको संज्ञा दिए।

अध्यक्ष केसीले अमेरिकाले चीनसँगको प्रतिस्पर्धामा नेपाललाई उपयोग गर्नका लागि एमसीसी बोकाएको आरोप पनि लगाए।

केसीले भने, ‘नेपालको सन्दर्भमा यदि त्यो बीआरआईको ऋण चर्को ऋण हो भने यतिबेला एमसीसीलाई बलियो बनाउँदै लाने। एमसीसी भनेको नेपाललाई इण्डोप्यासिफिक रणनीतिभित्र सामेल गरेको होइन ? अमेरिकाले चीनसँगको प्रतिस्पर्धामा नेपाललाई उपयोग गर्नका लागि एमसीसी बोकाएको होइन? यो कुरा बुझ्दैनौँ हामीले? त्यसकारणले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि सौदाबाजी गरेर सत्ताधारीहरुले जुनखालको राष्ट्रघात गरिराखेका छन्, यसमा एमसीसी र बीआरआई बिचको अन्तर के हो? त्यो नेपाली जनतालाई स्पष्ट पार्नुपर्छ।’

अमेरिकाले चीन विरोधी अखडा नेपाललाई बनाउनका लागि एमसीसी परियोजना ल्याएको उनको भनाई छ।

उनले बीआरआई परियोजना र एमसीसी परियोजनालाई एकै ठाउँमा राखेर तुलना गर्नु नहुने बताए।

केसीले थपे, ‘गुमराह गरेर एमसीसीको पक्षमा नेपाललाई दुर्घटनामा पार्ने र चीन विरोधी अखडा नेपाललाई अमेरिकाले गराउने षड्यन्त्रमा नेपाली जनता सजग हुनुपर्छ। बीआरआईको पैसाले हो २४ खर्ब नेपालीले ऋण लागेको टाउकोमा? यसमा स्पष्ट पार्नुपर्छ। बीआरआईको माध्यमबाट नेपालमा जसरी चीन आउन खोजेको छ, एमसीसी र बीआरआईलाई एउटै काँटामा राखेर नेपाली जनतालाई अल्मल्याउन पाइँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .