ad ad

राजनीति


बर्खास्तीपछि रास्वपा नेतृत्वमाथि मुकुलको जवाफी हमला : निसानामा रवि र डीपी

रविमाथि सहकारी र पासपोर्टमा छानबिनको माग, अर्यालमाथि आर्थिक अनियमितताको आरोप
बर्खास्तीपछि रास्वपा नेतृत्वमाथि मुकुलको जवाफी हमला : निसानामा रवि र डीपी

नेपालखबर
असार २६, २०८१ बुधबार १९:१५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री र प्रवक्ता पदबाट बर्खास्त मुकुल ढकालले सभापति रवि लामिछाने र पार्टीका अन्य पदाधिकारीहरूमाथि गम्भीर आरोप लगाएका छन्। 

उनले पार्टीभित्र आर्थिक अनियमितता भएको, जनतासँग गरेको वाचा अनुसार काम गर्न नसकेको, विधि र पद्धति अनुसार पार्टी चल्न नसकेको र रास्वपा पार्टीभन्दा पनि रवि लामिछाने क्लब भएको जस्ता दर्जन बढी आरोप लगाएका हुन्।  

असार १९ गतेको केन्द्रीय समिति बैठकबाट महामन्त्री र प्रवक्ताबाट एक हप्ताका लागि निलम्बन गरेको रास्वपाले हिजोको बैठकबाट भने ढकाललाई साधारण सदस्य मात्रै बाँकी रहनेगरी सबै जिम्मेवारीबाट बर्खास्त गरेको थियो।  

पार्टीको मंगलबारको यो निर्णयपछि बुधबार तीन बजे काठमाडौँको अनामनगरस्थित एक होटलमा पत्रकार सम्मेलन गर्दै ढकालले सभापति लामिछानेसहित पार्टीका अन्य पदाधिकारीहरूको कार्यशैलीमा प्रश्न मात्रै उठाएनन्, पार्टीभित्र आर्थिक अनियमितता भएको गम्भीर आरोप समेत लगाएका छन्। 

४५ मिनेटको पत्रकार सम्मेलनमा ढकालले रासकोटमा अस्पताल खोलेकोदेखि रास्वपा खोल्नेसम्मका परिघटना छोटकरीमा सुनाए। 

देशभर बाढी पहिरो लगायत प्राकृतिक विपद्का कारण ज्यान गुमाएका नेपालीलाई श्रद्धाञ्जली दिँदै बोल्न सुरु गरेका ढकालले सभापति लामिछानेलाई नैतिक यात्राका लागि शुभकामना दिएर आफ्नो भनाइ टुङ्ग्याए। 

ढकालले सुरुमै देशभर विपद्मा परेका नागरिकका लागि गृह मन्त्रालयले पर्याप्त काम नगरेको भन्दै प्राकृतिक विपद्का घटनामा राहत र उद्धारको कामलाई तीव्र बनाउन आग्रह गरे। 

सहकारी ठगी र पासपोर्टमा रविमाथि छानबिन हुनुपर्ने माग 
ढकालले सभापति रवि लामिछानेमाथि सहकारीको रकम ठगी प्रकरणमा अनुसन्धान हुनुपर्ने माग गरेका छन्।  

उनले रविमाथि छानबिन गर्न पार्टीको केन्द्रीय समिति सदस्यहरूले स्वतन्त्र उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गरेका हुन्।  

उनले दुई वटा राहदानीको विषयमा पनि पार्टीले लामिछानेउपर छानबिन समिति बनाउनुपर्ने माग गरेका छन्। छानबिन समितिमा स्वतन्त्र व्यक्ति राख्नुपर्ने उनको धारणा छ। 

सहकारी प्रकरणमा रवि लामिछानेमाथि अनुसन्धान गर्नुपर्छ भनेर सर्वोच्च अदालतले फैसला गरिसकेको भन्दै ढकालले नैतिकताको छुट दिने कि राजीनामा दिने भन्ने रायमा मात्रै मत बाझिएको बताए। 

यसमा राष्ट्रिय स्वतन्त्र पार्टीले अब पार्टीको धारणा बनाउनुपर्ने र पासपोर्टको सवालमा पनि स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने ढकालको भनाइ छ। 

उपाध्यक्ष अर्यालमाथि आर्थिक अनियमितताको आरोप 
पत्रकार सम्मेलनमा ढकालले पार्टीका उपाध्यक्ष डीपी अर्यालमाथि आर्थिक अनियमितता गरेको आरोप लगाएका छन्। ढकालले रास्वपाभित्र ठूलो आर्थिक अपारदर्शिता रहेको दाबी गरे। 

कानुनअनुसार पार्टीले ऋण लिन नपाउने प्रावधान रहेको भन्दै आफूले सम्झाउँदा पनि अर्यालले पार्टीको ऋणको नाममा पैसा कारोबार गर्ने गरेको ढकालको आरोप छ। 

ढकालले भने, ‘डीपी अर्यालले साथीहरूले दिएको पैसा पार्टीलाई नदिइकन सिधै आफ्नो खल्तीमा राख्नुभएको छ। दुई साताअघि पनि त्यस्तो भएको छ।’ 

उनले पार्टीसँग रसिदबिना कारोबार नगर्न पनि अनुरोध गरेका छन्। 

रवि लामिछानेलाई प्रचण्ड र देउवाको शैली मनपर्छ
ढकालले पार्टी सभापति रवि लामिछानेलाई प्रचण्ड र देउवाकै शैली मन पर्न थालेको टिप्पणी गरे। 

पार्टी सभापति लामिछानेले पुरानै पार्टीका नेताहरूको शैली मन पराउन थालेको उनको टिप्पणी थियो। 

उनले सभापति लामिछानेले अझै पनि कांग्रेस नेतृत्वको सरकार बन्ने र त्यसमा आफू पनि सहभागी हुन पाउने आशले सरकार नछोडेको आरोप लगाए।  

‘मेरो शैलीका बारेमा धेरै प्रश्न उठे,’ ढकालले भने, ‘मैले भनिरहेको छु, लाइभ गरौँ, कसको शैली कस्तो छ देखिहालिन्छ नि। आजको रवि लामिछानेलाई प्रचण्डको शैली मन पर्छ। ओलीको शैली मन पर्छ। आज पनि उहाँ कतै न कतै ७६(३) अनुसार देउवा प्रधानमन्त्री भइहाल्नुहुन्छ कि भनेर बस्नु भएको छ।’

अहिले पनि रास्वपाको आधिकारिक महामन्त्री मै हुँ 
ढकालले रास्वपाको आधिकारिक महामन्त्री आफैँ भएको जिकिर गरे। राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री र प्रवक्ताबाट आफू निलम्बित नभएको भन्दै उनले रवि लामिछानेको क्लबबाट मात्रै आफू हटाइएको बताए।  

उनले रवि लामिछानेको क्लबले पार्टी कार्यालय कब्जा गरेको भन्दै अब राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछानेको क्लव छुट्टिनुपर्ने बताए। 

पार्टीले आफूलाई गरेको कारबाही विधिसम्मत नभएको भन्दै ढकालले सात दिनको म्याद राखेर स्पष्टीकरण सोधिएकोमा त्यो म्याद नसकिँदै कारबाही गर्न नमिल्ने बताएका हुन्। 

रविकै अनुमतिमा मिडियामा बोलेको थिएँ  
ढकालले पार्टी सभापति रवि लामिछानेसँगकै सल्लाहमा समीक्षा प्रतिवेदनबारे सञ्चार माध्यममा बोलेको बताएका छन्।

उनले देशका विभिन्न जिल्ला घुमेर ल्याएको समिक्षा प्रतिवेदनबारे के कुरा बोल्ने र के कुरा नबोल्ने भनेर सभापति लामिछानेसँग सल्लाह गरेरै मिडियामा प्रतिवेदनका केही अंश भनेको बताएका हुन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .