ad ad

राजनीति


प्रचण्डविरुद्ध उठेका एमाले उम्मेदवारलाई न्युयोर्क लैजाँदै ओली

प्रचण्डविरुद्ध उठेका एमाले उम्मेदवारलाई न्युयोर्क लैजाँदै ओली

नेपालखबर
भदौ ३१, २०८१ सोमबार २०:३९, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली गठबन्धन परिवर्तनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रति आक्रामक देखिँदै आएका छन्। त्यसैको झल्को यसै हप्तादेखि सुरु हुने न्युयोर्क भ्रमणदलको छनोटमा पनि देखिएको छ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले न्युयोर्क जाने टोलीमा गत आम निर्वाचनमा गोरखा–२ मा प्रचण्डविरुद्ध एमालेले उठाएको उम्मेदवार अब्दुस सलाम मियाँलाई पनि समावेश गरेका छन्। 

राष्ट्रसंघीय महासभा सुरुवात हुनुअघि ६–७ असोजमा हुने ‘समिट अफ द फ्युचर’ मा प्रधानमन्त्री ओली सहभागी हुँदैछन्। राष्ट्रसंघले आयोजना गर्ने सो समिटका लागि प्रधानमन्त्री ओलीले गोरखा–२ बाट प्रचण्डविरुद्धका एमाले प्रत्यासी मियाँलाई समावेश गरेका हुन्। 

आम निर्वाचन–०७९ मा काठमाडौँ–६ बाट प्रतिस्पर्धाको प्रचार गरेका मियाँ उम्मेदवारी दर्ताअघि भने एमाले प्रवेश गरेका थिए। एमाले प्रवेशपछि ओलीले उनलाई प्रचण्डविरुद्ध गोर्खा–२ को प्रत्यासी बनाएका थिए। 

निर्वाचनमा भने उनले सफलता हासिल गर्न सकेनन्। २६ हजार १ सय ९ मत सहित प्रचण्ड विजयी हुँदा अब्दुस ७ हजार ३ सय ९५ मतसहित तेस्रो स्थानमा पुगे। 

दोस्रो स्थान भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कविन्द्र बुर्लाकोटीले हासिल गरेका थिए। रास्वपाका सहमहामन्त्री बुर्लाकोटी १२ हजार ६ सय ३९ मतसहित प्रचण्डको निकटतम प्रतिद्वन्द्वी बनेका थिए। 

सो समिटमा अब्दुसका अलावा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल र कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको परशुराम नगरपालिकाका प्रमुख भरत बडाऐर जोशी पनि सहभागी हुँदैछन्। यसमध्ये उपप्रमुख डंगोल एमालेबाट र जोशी नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन्।

सत्तारुढ नेपाली कांग्रेस र एमालेबाट निर्वाचित जनप्रतिनिधिका अलावा प्रचण्डविरुद्ध उम्मेदवार बनाइएका मियाँलाई ‘समिट अफ द फ्युचर’ सहभागी गराइए पनि प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा उनीहरूको नाम देख्न पाइने छैन। 

‘समिट अफ द फ्युचरमा युवा सहभागिताका लागि संयुक्त राष्ट्रसंघलाई अनुरोध गरेर उनीहरूको नाम समावेश गरिएको हो,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘त्यसैले, उनीहरूको खर्च संयुक्त राष्ट्रसंघले नै बेहोर्ने प्रबन्ध भएको छ।’

संयुक्त राष्ट्रसंघको ७९ महासभाका लागि प्रधानमन्त्री ओली ४ असोजमा अमेरिका प्रस्थान गर्नेछन्। उनी अमेरिका पुगेकै दिन सो समिट सुरु हुनेछ। समिटमा प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ। 

राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री ओलीका अलावा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा पनि सहभागी हुने कार्यक्रम छ। परराष्ट्रमन्त्री राणा क्यानडामा हुने विश्वका महिला परराष्ट्रमन्त्रीहरूको सम्मेलनमा सहभागी भएर न्युयोर्क पुग्नेछिन्। 

सो सम्मेलनका लागि उनी सोमबार नै क्यानाडातर्फ प्रस्थान गर्ने कार्यक्रम छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .