ad ad

राजनीति


ओली–देउवा दुवैलाई जोखिम छ : डा मीनेन्द्र रिजाल

ओली–देउवा दुवैलाई जोखिम छ : डा मीनेन्द्र रिजाल

नेपालखबर
साउन १, २०८१ मंगलबार १२:२३, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले सत्ता सहकार्य गरेका संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले दुवै जोखिममा रहेको बताएका छन्। 

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई नै जोखिम रहेको भन्दै त्यसका बाबजुद संविधान संशोधनको विषयमा सफल हुनुपर्ने चुनौती रहेको जिकिर गरे। 

‘कहीँ न कहीँ एमाले र कांग्रेसले आफ्ना बीचका अविश्वासहरूलाई बिर्सेर देशप्रतिको आफ्नो जिम्मेवारीलाई सम्झेर केही जोखिम उठाउनुपर्ने थियो। त्यो जोखिम उठाउने कामका निम्ति दुवै नेताहरू सहमत हुनुभयो,’ न्युज एजेन्सीसँगको कुराकानीमा डा रिजालले भनेका छन्, ‘जोखिम छ दुवैलाई। एउटालाई मात्रै छ भन्दिनँ मैले। हामी कुरेर बस्ने पार्टी छौँ। ओलीजीले अहिले नै सुरु गर्नुहुन्छ। त्यसकारण जोखिम छ, नभएको होइन।’

उनले एमालेभन्दा बढी जोखिम कांग्रेसलाई नै रहेको पनि बताएका छन्। 

‘मेरो पार्टीका लागि बढी जोखिम छ। यो निर्वाचनमा जाने क्रममा एउटा बलियो आधारलाई हामीले गुमाएका छौँ। सहरी क्षेत्रमा हाम्रो निकै नै आधार गुमेको छ,’ रिजालले भने, ‘हुन त दुवै पार्टीको हेर्दा हाम्रो ७ प्रतिशत गुम्यो, एमालेको ६ प्रतिशत गुम्यो। एमालेको ६ प्रतिशतमध्ये ३ प्रतिशत माधवजीको पार्टीले लगेको मत हो नि। त्यस अर्थमा उहाँहरूले ३ प्रतिशत गुमाउनुभयो। हामीले ६ प्रतिशत गुमायौँ।’

यसअघि नै दुईपटक संविधान संशोधन भइसकेको भन्दै त्यसलाई यसअघि नै स्वीकारको विषय दलहरूले बनाइसकेको उनको भनाइ थियो। 

‘जोखिमका बाबजुद हामीले पहिला बनाएको संविधानलाई कहीँ न कहीँ अहिलेसम्मको अभ्यासबाट अझ समृद्ध गर्नु छ। परिमार्जन गर्नु छ। यो संविधान छुँदै नछोएको संविधान होइन,’ उनले भने, ‘दुईवटा संशोधन भइसक्यो। त्यसमध्ये एउटा संशोधन त मैले हालेको संशोधनलाई स्वीकार गरेर भएको हो। त्यसैले यो जीवित दस्तावेज हो।’

अहिलेको राजनीति र राजनीतिबाट चुलिएको निराशालाई चिर्नका लागि कुनै न कुनै बेला कांग्रेस-एमाले एक हुनुपर्ने अवस्थालाई मध्यनजर गरी एकपटक एक ठाउँमा उभिएको उनको जिकिर छ। 

एमाले र कांग्रेसले आफ्नाबीचका अविश्वासहरूलाई बिर्सेर देशप्रतिको आफ्नो जिम्मेवारीलाई सम्झेर जोखिम उठाएको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .