ad ad

राजनीति


प्रतिक्रान्तिका हर्कत भइरहेका छन्: प्रचण्ड

क्रान्तिकै बलमा स्थापित व्यवस्थाको उपभोग गरेकाहरु नै प्रतिक्रान्तिमा लागेको दाबी
प्रतिक्रान्तिका हर्कत भइरहेका छन्: प्रचण्ड

नेपालखबर
भदौ २३, २०८१ आइतबार ९:५३, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिका हर्कत भइरहेको दाबी गर्दै यसविरुद्ध फेरि एउटा संघर्ष आवश्यक भएको बताएका छन्। 

जनयुद्धका सहिदद्वय सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोख्रेल ‘वैरागी’को २५ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई आज पार्टी कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै उनले जनताको बलिदान र अधिकारविरुद्ध भइरहेका प्रतिक्रान्तिका प्रयासविरुद्ध संघर्ष गर्नुपर्ने स्थिति आएको बताए। 

क्रान्तिका उपलब्धिलाई उल्ट्याउन निकै कसर भइरहेको उल्लेख गर्दै  प्रचण्डले अहिले क्रान्तिकै बलमा स्थापित व्यवस्थाको उपभोग गरेकाहरुले नै क्रान्ति र क्रान्तिकारी आन्दोलनको अपमान गर्ने प्रयास गरिरहेको तर्क गरे।

‘हामीले गरेको परिवर्तनकारी र बलिदानीपूर्ण जनयुद्धलाई संविधानमा जनताको सशस्त्र संघर्ष र त्यसको ब्याख्यात्मक टिप्पणीमा माओवादी जनयुद्ध भनेर लेखेका छौँ,’ उनले भने, ‘तर, जसको मुख्य कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो, त्यही व्यवस्थामा बसेर जनयुद्धलाई नै अपमान गर्ने काम भइरहेको छ। त्यसका विरुद्ध संघर्षको संकल्प गर्नुको नै  अहिले सहिदहरुप्रति सच्चा श्रद्धाञ्जली हो।’

उनले माओवादी शान्ति प्रक्रियामा सहभागी हुनुअघि नै आफूले अब क्रान्ति भिन्न रुपमा जारी रहने बताएको स्मरण गरे। 

‘हामीले जनयुद्धमै हुँदा र १२ बुँदे समझदारी गर्दा नै भनेका थियौँ- गणतन्त्र त अब आउँछ नै, तर यसलाई दलाल पूँजीपति र नोकरशाहीहरुले आफ्नो विशेषताको बुर्जुवा गणतन्त्र बनाउने प्रयास गर्नेछन्। हामीले जनताको गणतन्त्र बनाउने कोशिस गर्नुपर्छ। त्यहाँनेर गएर फेरि अर्को संघर्ष हुन्छ। अब राजनीतिक त्यतै जाँदैछ,’ प्रचण्डले भने, ‘दलाल पूँजीपति र नोकरशाहीहरुसँग संघर्ष सुरु भएको छ। जनतालाई साथमा लिएर फेरि एउटा संघर्ष अघि बढाउनैपर्छ।’

नेपाली मौलिकतामा पूजीवादी जनवादी क्रान्ति सफल भएपछि अब समाजवादी क्रान्तिमा अघि बढ्दा दलाल पूँजीपति, नोकरशाही वर्ग र सामन्ती अवशेषकाविरुद्ध संघर्ष अपरिहार्य बन्ने उनको तर्क छ।

‘विचार, राजनीतिक एजेण्डा र क्रान्तिकारी विरासतमा हामी बलिया छौँ। त्यसैले संघर्षमा हामी विजय प्राप्त गरेरै छाड्छौँ,’ प्रचण्डले भने, ‘जनयुद्ध सुरु हुनअघि भएको रामवृक्ष यादवको बलिदानले देशभरिका युवालाई क्रान्तिमा लाग्न उत्प्रेरित गरेको थियो। त्यसपछिका सबै सहादतहरुले क्रान्तिकारीहरुलाई प्रतिशोधको भावनासहित अघि बढाउन सहयोग गरेको थियो।’

उनले सुरेश वाग्ले पार्टी जिम्मेवारीको हिसाबले सबैभन्दा माथिल्लो तहमा भएको अत्यन्त सचेत, योग्य र लोकप्रिय शिक्षक भएको बताए।  वाग्लेको सहादतपछि पार्टीलाई ठूलो क्षति भए पनि सिंगो पार्टीपंक्तिमा बलिदानी भावना पनि त्यहीविन्दुबाट जागृत भएको उनकाे भनाइ थियाे। 

तत्कालीन सरकारले जनयुद्धलाई केही वर्षमा समाप्त पार्ने उद्देश्यसहित विभिन्न दमनका अभियानका चलाएको भएपनि सहिदहरुको बलिदानका कारण जनयुद्ध झनपछि झन् शक्तिशाली हुँदै गएको उनले बताए।

उच्च बलिदानीले युवा क्रान्तिकारीलाई क्रान्तिमा होमिन प्रेरित गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले त्यसपछि नै हजारौँ युवाहरु जनमुक्ति सेनामा भर्ती भएर जनयुद्धलाई नयाँ उचाईँमा उठाउने अवस्था सिर्जना भएको तर्क गरे। 

उनले सुरेश वाग्लेले पार्टीभित्रका अन्तरसंघर्षमा सन्तुलित र सही लाइनको पक्षमा आफूलाई उभ्याएको र नेतृत्व केन्द्रिकरणमा जोड दिने गरेको स्मरण गरे।

‘वाग्लेले आफ्नो चरित्र र विशेषताका कारण नैतिक बल र बौद्धिक क्षमताका आधारमा बहस गर्ने गरेकाले आजको पुस्ताले त्यसबाट पनि सिक्नुपर्छ,’ प्रचण्डले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .