यसअघि दुईपटक मिति तोकेर सारिएको नेकपा एमालेको स्थायी कमिटी बैठक आज (मंगलबार) बस्दै छ।
एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठक आज बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बस्नेछ।
यसअघि आइतबार साँझ बस्ने भनिएको बैठक सोमबार बिहान १० बजेलाई सारिएको थियो। त्यो दिन पनि स्थगन गरिएको एमाले स्थायी कमिटी बैठक आज राख्न लागिएको हो।
बैठकमा घनश्याम भुसालसहित स्पष्टीकरण नदिएका माधव नेपाल पक्षका १२ नेतालाई कारबाही, बजेटको समीक्षालगायत समसामयिक विषयमा छलफल गरिने नेताहरूले बताएका छन्।
नेपाली कांग्रेसका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका २३ सांसदमध्ये एमाले अध्यक्ष ओलीले माधव नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरादेवी जैरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिसकेका छन्।
बाँकी सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई स्पष्टीकरण दिन भन्दै पत्र पठाए पनि उनीहरूले कुनै जवाफ दिएनन्।
उनीहरूलाई पनि माधव नेपालहरूलाई जस्तै निष्कासन गरिन्छ वा के गरिन्छ भन्ने आम चासो छ।
गत फागुन २३ गते सर्वाेच्च अदालतले गरेको फैसलाबाट नेकपा भंग भई यसमा मिसिएका पुरानै दुई दल पुनःस्थापना भएयता एमालेभित्र ओली र नेपाल पक्षबीच चरम विवाद जारी छ।
प्रतिक्रिया