राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक अध्यक्ष कमल थापाले पार्टी एकताप्रति पश्चाताप व्यक्त गरेका छन्।
अध्यक्ष थापाले आफ्ना अर्का अध्यक्षद्वयको भूमिकाप्रति निराशा व्यक्त गरेका हुन्।
एकतापछि राप्रपामा थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी ३ जना अध्यक्ष छन्।
सोमबार बिहान उनले आफूहरूलाई अल्छी र तीव्र गतिमा दौडने घोडासँग तुलना गर्दै पार्टीका अन्य दुई अध्यक्षको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
‘दुई वा दुईभन्दा बढी घोडाले तानेको रथले तीव्र गति लिन सक्दैन। यो नैसर्गिक सत्य हो। यो सत्य नबुझेको होइन,’ सांकेतिक रूपमा थापाले भनेका छन्, ‘तर तीव्र गति लिन नसके पनि सामान्य गतिमा हिँड्ला भन्ने आशा थियो। गतिहीन नै होला भन्ने सोचिएन।’
अगाडि भनेका छन्, ‘दुई अल्छी घोडाको बीचमा च्यापिएको तीव्र गतिको घोडाको हालत के होला? च्यापिएर थला पर्न बेर छैन।’
कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा तथा डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा संयुक्तबीच २०७६ फागुनमा एकता भएको हो।
पूर्वपञ्चहरूको बाहुल्य रहेको राप्रपा २०४७ सालमा पञ्चायती व्यवस्था अन्त्य भएपछि गठन भएको थियो। गठनकै बेला यसका नेता दुई धारमा विभाजन भएका थिए।
पार्टी स्थापनामा सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्दका साथै डा. प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर जबरा, कमल थापा, बुद्धिमान तामाङ, पद्मसुन्दर लावती, रवीन्द्रनाथ शर्मालगायत संलग्न थिए।
तर एकै दिन २०४७ जेठ १५ गते राप्रपा (चन्द) र राप्रपा (थापा) नामका दुई पार्टी घोषणा गरिए। त्यसयता राप्रपा फुट्ने, जुट्ने क्रम चलिरहेको छ।
यसै क्रममा पछिल्लोपटक २०७६ फागुन २८ गते दुई राप्रपाबीच एकता घोषणा भएको थियो।
तर एकता महाधिवेशन नहुँदै एक अध्यक्ष कमल थापाले व्यक्त गरेको चरम निराशाले फेरि पार्टी एक रहन कठिन रहेको संकेत दिएको छ।
प्रतिक्रिया