राजनीति


जसले खारेजी अभियान चलायो, उसैलाई प्रदेशसभाको नेतृत्व

मन्त्री थापा भन्छन् : हाम्रो एजेन्डाबाट पछि हट्दैनौँ
जसले खारेजी अभियान चलायो, उसैलाई प्रदेशसभाको नेतृत्व

बागमती प्रदेशसभाका सभामुख भुवन पाठक। तस्बिर : नेपालखबर


सुनिता विष्ट
माघ २, २०७९ सोमबार १३:२८, हेटौंडा

राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीको एजेन्डा हो, संघीयता खारेजी, राजतन्त्र फिर्ता। राप्रपाले चाल्दै आएको अर्को अभियान हो प्रदेश संरचना हटाउने। 

तर त्यही पार्टीले बागमती प्रदेश सभाको सभामुखको जिम्मेवारी पाएको छ। गत शुक्रबार बागमती प्रदेश सभाको सभामुखमा राप्रपा महामन्त्री भुवन पाठक निर्वाचित भएका छन्। 

पाठक यस्ता व्यक्ति हुन्, जसले प्रदेश संरचना खारेजीको मुद्दा उठाउँदै आएका छन्। पाठक र उनको दल मंसिर ४ को निर्वाचनमा प्रदेश संरचना खारेजीको मुद्दासहित होमिएको थियो। 

२०३६ सालबाटै राजतन्त्र र पञ्चायतको पक्षमा लागेका पाठक अब गणतान्त्रिक व्यवस्थामा प्रदेशसभाका सभामुख बनेका छन्। 

यसअघिको पहिलो कार्यकाल राप्रपाले प्रदेश संरचना खारेजीको आवाज उठाएर बितायो। प्रदेश खारेजीको एजेन्डा बोकेको राप्रपाले यस निर्वाचनमा प्रत्यक्षमा ७ र समानुपातिकमा ६ सहित १३ सिट जितेको छ।

प्रदेश खारेजी अभियान चलाएको राप्रपा अहिले त्यही प्रदेश बलियो बनाउनुपर्ने भूमिकामा पुगेको छ। प्रदेश सरकार गठनमा निर्णायक उसले सुरुमा मुख्यमन्त्रीको आश गरेको थियो। 

तर केन्द्रको भागबन्डाले मुख्यमन्त्री दुई मन्त्रालय र सभामुख राप्रपाको भागमा छ। हालसम्म उद्धव थापा बिनाविभागीय मन्त्री बनेका छन्। पाठक सभामुख बनेका छन् । अब मन्त्रिपरिषद् गठन हुँदा राप्रपाले फेरि एक मन्त्री पाउन सक्ने छ।

प्रदेश खारेजी अभियान चलाएर सभामुख लिएको राप्रपा नाली सफा गर्न त्यहीँ पस्नुपर्ने तर्क गरिरहेको छ। 

‘हामी सरकारमा पुगेर प्रदेश खारेजी गर्ने लक्षमा छौँ। राप्रपा सरकारमा पुग्नेबित्तिकै हाम्रो चुनावी एजेण्डा भुल्ने हुँदैन,’ प्रदेश सरकारमा राप्रपाबाट विनाविभागीय मन्त्री उद्धव थापाले भने। 

को हुन् सभामुख पाठक?
बागमतीको सभामुख बनेका पाठक राप्रपाको समानुपातिक कोटाबाट पहिलोपटक प्रदेशसभा छिरेका हुन्। 

२०३६ सालको जनमत संग्रहका बेला उनी पञ्चायत समर्थक नेपाल राष्ट्रिय छात्र संगठनको अध्यक्ष थिए।

त्यहीँबाट राजनीति अघि बढाएका उनी त्यसपछि पञ्चायत समर्थक युवक संगठनको सचिव बने।

२०४६ सालको जनआन्दोलनपछि पञ्चायत पक्षधरले राष्ट्रिय प्रजातन्त्र पार्टी गठन गरेपछि उनी त्यही पार्टीको युवा संगठनको अध्यक्ष बने। २०५९ सालमा राप्रपाको पोखरा महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए।

२०६४ सालमा कमल थापाले राप्रपा नेपाल गठन गरेपछि उनीसँगै रहेका पाठकले २०७८ सालको राप्रपा महाधिवेशनमा थापाकै प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिए। 

अध्यक्षमा थापा राजेन्द्र लिङ्देनसँग पराजित भए पनि पाठक निर्वाचित भए। राप्रपाको सहायक महामन्त्री, प्रवक्ता र संगठन विभागको प्रमुख भइसकेका उनी अहिले महामन्त्री छन्। 

पाठकले अबको ५ वर्ष राजनीतिभन्दा माथि उठेर सभामुखको जिम्मेवारी पूरा गर्ने बताएका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .