राजनीति


बागमतीमा अनौठो दृश्य : सत्ता पक्षकै सांसदले बहिष्कार गरे प्रदेशसभा बैठक

बागमतीमा अनौठो दृश्य : सत्ता पक्षकै सांसदले बहिष्कार गरे प्रदेशसभा बैठक

बागमती प्रदेशसभामा सत्तापक्षका सांसदहरुको खाली कुर्सी। तस्बिर : नेपालखबर


सुनिता विष्ट
असार १३, २०८० बुधबार १९:३८, हेटौंडा

आगामी आर्थिक वर्षको बजेटलाई लिएर बागमती प्रदेश सभा बैठकमा रोचक दृश्य देखिन थालेका छन्। 

सत्ता पक्ष र प्रतिपक्षी दलहरुबीच छलफल गर्नका डाकिएको बैठकमा विपक्षीको अवरोध भएको भोलिपल्ट सत्तापक्षकै सांसदहरुले बहिष्कार गरेका छन्। 

बागमती प्रदेशको राजश्व तथा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल मंगलबारदेखि सुरु भएको छ।

तर छलफलको विषयमा प्रवेश नपाउँदै बैठक स्थगित हुँदा सांसदहरुको मर्यादामाथि नै प्रश्न उठेको छ। 

मंगलबार एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले आफ्नो भनाइ राखेपछि स्थगित भएको बैठक बुधबार राप्रपाका उद्धव थापा बोले पनि स्थगित भएको छ। त्यो पनि सत्ता पक्षको सांसदहरुको उपस्थितीबिना। 

बुधबार बसेको प्रदेश सभा बैठकमा सत्तापक्षका सांसदबिनै बसेको हो। मंगलबार विपक्षी दलले अवरोध गरेपछि बुधबार सत्तापक्षका सांसदहरु प्रदेश सभा बैठकमै सहभागी भएनन्। 

विपक्षी दल नेकपा एमाले र राप्रपाका सांसदहरु बैठकमा सहभागी भइरहँदा सत्तापक्षका सांसदहरु बैठक छोडेर निस्किएका हुन्। 

स्थगित भएको बैठक बुधबार बिहान ११ बजेका लागि बोलाइएको थियो। निर्धारित समयमा बैठक सुरु गर्न नसकिएपछि दिउँसो १ बजेका लागि समय सारिएको थियो। 

१ बज्दा पनि बैठक सुरु हुने कुनै चहलपहल नदेखेपछि ५ बजे बैठक बस्ने भन्दै सूचना टाँस भएको थियो। तर ५ नबज्दै सत्तापक्षका सबै सांसदहरु बैठक नबस्ने भन्दै बाहिरिएपछि विपक्षी दल एमाले र राप्रपाका सांसदहरुमात्रै बैठक कक्षमा रहँदा मुख्यमन्त्रीसहित अर्थमन्त्री बहादुरसिंह लामा लगायत केही मन्त्री र कांग्रेसका दुई सांसदको मात्रै उपस्थितिमा बैठक सम्पन्न भएको हो। 

बैठकमा राप्रपा बागमती संसदीय दलका नेता उद्धव थापाले बोलेपछि फेरि स्थगित भएको छ। सरकारले ल्याएको बजेटमा असन्तुष्ट राप्रपाले बजेट संशोधन गर्न माग गर्यो। 

विपक्षी दलको अवरोधका कारण चल्न नसकेको प्रदेशसभा बैठकलाई सत्ता पक्षका सांसदहरुले बहिष्कार गरेर हिँडेका हुन्। 

केहीबेर मन्त्रीहरुसमेत बाहिरिइसकेको अवस्थामा विरोध आएपछि बैठक सुरु हुनुपूर्व कांग्रेसका तीन मन्त्री र मुख्यमन्त्री आइपुगेका थिए। 

यता, प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री लामाले विपक्षी दलसँग कुरा नमिलेकाले बैठक बस्न नसकिएको बताएका छन्। 

‘हामी त बसिरहेकै थियौँ। सबै माननीयज्युहरु १७ गते बस्ने भन्दै निस्कनुभयो। हामी मात्रै किन बस्नु भनेर निस्कियौं,’ लामाले भने।

लामाले सत्तापक्षका सांसदहरु किन फर्किए भन्ने कुरामा आफैँ जानकार नभएको बताए।

आलोचना भएपछि अर्थमन्त्री, खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामा, पर्यटनमन्त्री पुकार महर्जन, कृषिमन्त्री राजेन्द्रमान प्रधान, स्वास्थ्यमन्त्री उत्तम जोशी र मुख्यमन्त्री शालिकराम जम्मकट्टेल उपस्थित थिए। 

बैठकमा प्रतिपक्षी दल राप्रपा र एमालेका सांसदहरुको कुर्सी भरिए पनि सत्तातिरका सांसद बस्ने टेबलमा कांग्रेसका इन्द्रबहादुर बानियाँ मात्रै देखिन्थे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .