राजनीति


बागमती सभाहल निर्माण : १ करोड १९ लाख खर्चपछि काम अलपत्र

बागमती सभाहल निर्माण : १ करोड १९ लाख खर्चपछि काम अलपत्र

सुनिता विष्ट
असार २१, २०८० बिहिबार १०:४, काठमाडौँ

बागमती प्रदेश सरकारको आफ्नै सभाहल छैन।

सभाहल निर्माणका लागि २०७७ कार्तिक १७ गते सम्झौता भएको थियो। २०७९ वैशाख १९ गते सम्पन्न भइसक्नुपर्ने सभाहल निर्माणको काम अझै पूरा भएको छैन, बरु निर्माण नै अलपत्र पारिएको छ।

हस्तान्तरण गरिसक्नुपर्ने मितिबाट अर्को १४ महिना बित्दा पनि प्रदेश सरकारकै योजना पूरा हुन सकेन। तत्कालीन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ०७९ मंसिर १० गते सभाहल निर्माण कार्यको शिलान्यास गरेका थिए। 

पाँच करोड २६ लाख ८३ हजार तीन सय ५९ रुपैयाँमा सम्झौता भएको उक्त योजनाको अहिलेसम्म २५ प्रतिशत भौतिक प्रगति र नौ प्रतिशत वित्तीय प्रगति भएको भौतिक पूर्वाधार विकास मन्त्रालयका सहरी विकास तथा भवन कार्यालयले जनाएको छ। अहिलेसम्म सभाहल निर्माणका लागि पेस्कीसहित निर्माण कम्पनीले १ करोड १९ लाख रुपैयाँ लिएको छ।

यसरी १ करोड भन्दा बढि खर्च भैसकेको सभाहल निर्माणमा ठेकेदार कम्पनीले मनोमानी गर्दा समेत प्रदेश सरकार मौन रहँदै आएको छ।

तीन वर्षअघि शिलान्यास गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सभाहलको भौतिक प्रगति २० प्रतिशत छ। तीन वर्षमा खाल्डो खनेर जग हाल्ने र फलामे पिल्लर राख्नेभन्दा बढी काम छैन।

एउटा सभाहल बनाउन नसकेको बागमती सरकारले स्थापनाको ६ वर्षमा चार जना मुख्यमन्त्री र करिब ४० जना मन्त्री पाइसक्यो। झण्डै १ सयको संख्यामा मुख्यमन्त्री, मन्त्री, सचिव चढ्ने गाडी खरिद भए तर, ४ सय जना अट्ने सभाहल भने बनेन।

प्रदेशसभाको पहिलो कार्यकालमा डोरमणि पौडेलदेखि राजेन्द्र पाण्डेसम्म गरी तीन मुख्यमन्त्रीले प्रदेश चलाए। बीचमा ७२ दिन एमालेकी अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री थिइन्। दोस्रो कार्यकालमा प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा शालिकराम जम्मकट्टेलले हाल सरकारको नेतृत्व गरिरहेका छन्।

२०७७ सालको सुरुवातमा प्रदेशका पहिलो मुख्यमन्त्री पौडेलले सभाहल शिलान्यास गर्दा आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका जम्मकट्टेलले फेरि प्रदेशसभा निर्वाचन जितेर मुख्यमन्त्री भइसक्दा पनि आफ्नै सभाहलमा कार्यक्रम गर्न पाएनन्। प्रदेश राजधानी हेटौँडामा सरकारको आफ्नै सभाहल छैन। जसकारण कुनै औपचारिक कार्यक्रम गर्न कार्यालयकै साँघुरा सभाहलमा कोचाकोच गर्नुपर्ने र होटल तथा रिसोर्टहरुमा लाखौँ खर्चिनुपर्ने बाध्यता सरकारलाई छ।

ठेकेदारले सभाहल निर्माण अलपत्र पारिरहँदा सरकार भने मुकदर्शक बनेको छ।

समस्यामा उपमहानगर
हेटौँडा–२, स्थित हेटौँडा उपमहानगरपालिका कार्यालयको पछाडितर्फ खाली जग्गामा सभाहल बनाउन फलामका पिल्लर ठडाइएको छ। बाँकी काम हुन सकेको छैन। यसले उपमहानगरपालिकालाई समेत समस्या भैरहेको छ।

तत्कालीन अवस्थामा प्रदेश सरकारले प्रयोग गर्ने र पछि प्रदेश सभाहल बनेपछि हेटौँडा उपमहानगरपालिकालाई दिने गरी सम्झौता भएको थियो। 

‘प्रदेश सरकारले जग्गा हडपेर न आफ्नो संरचना बनाउँछ, न हामीलाई अधिकार दिन्छ। जसले गर्दाे समस्या भइरहेको छ,’ उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले भने। उनका अनुसार प्रदेश सरकारले उपमहानगरपालिकालाई नै जिम्मा दिने भनिएता पनि लिखित रुपमा अधिकार नसुम्पेको कारण समस्या भइरहेको हो।

मुख्यमन्त्री कार्यालयको छतमा २० लाखको हल
त्यसो त, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय यसै पनि जीर्ण अवस्थाको छ। तत्कालीन जिल्ला विकास समितिको भवनमा रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको छतमा सभाहल निर्माण गर्नको लागि आगामी आर्थिक वर्षको लागि प्रदेश सरकारले २० लाख रुपैयाँ विनियोजन गरेको छ। 

सरकारले सबै प्रादेशिक कार्यक्रमका लागि सभाहल बनाउने काम सम्पन्न हुन नसकेपछि मुख्यमन्त्री कार्यालयको छतमै हल बनाउनको लागि २० लाख रुपैंया विनियोजन गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रवक्ता बद्रीबहादुर पाठकले जानकारी दिए । उनका अनुसार उक्त हल मुख्यमन्त्री कार्यालयको कार्यक्रमका लागि मात्रै प्रयोग हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .