सीके राउत नेतृत्वको जनमत पार्टी पनि प्रतिनिधिसभा समानुपातिकको थ्रेसहोल्ड नजिकै पुगेको छ। प्रत्यक्षतर्फ एक सिट जितेको उसले समानुपातिकमा थ्रेसहोल्ड कटाए राष्ट्रिय दलको मान्यता पाउनेछ।
निर्वाचन आयोगका अनुसार कूल खसेको मतको संख्या १ करोड ९ लाख ७० हजार हो। अहिलेसम्मको आकलनअनुसार यीमध्ये ३ लाख मत बदर भएका छन्। यसो हुँदा कूल सदर मतको संख्या १ करोड ६ लाख ७० हजार हुन आउँछ। यसको ३ प्रतिशत अर्थात् ३ लाख २० हजार मतलाई थ्रेसहोल्डको सीमा मानिएको छ।
यसो हुँदा जनमत पार्टी २ लाख ९५ हजार २ सय १८ मत ल्याउँदै थ्रेसहोल्डको नजिकै पुगेको हो। अब उसले २५ हजार आसपास मत ल्याएमा थ्रेसहोल्ड कटाउने देखिन्छ।
तर निर्वाचन आयोगका अनुसार अहिलेसम्म समानुपातिक मत ९५ लाख ४३ हजार ४ सय ६३ गनिसकिएको छ। यसबाट कूल सदर मत १ करोड ६ लाख ७० घटाउँदा ११ लाख २६ हजार ५ सय ३७ हुन्छ। अब गन्न बाँकी यही सेरोफेरोमा देखिन्छ। गन्न बाँकी मतबाट जनमत पार्टीले २५ हजार आफूतर्फ तान्न सके ऊ राष्ट्रिय दल बन्नेछ। अन्यथा उसको समानुपातिक मत खेर जानेछ।
यस्तै संघर्षमा छ– सत्ता गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादी पनि। उसले यो खबर लेख्दासम्म २ लाख ६३ हजार ७ सय ३९ समानुपातिक मत प्राप्त गरेको छ। प्रत्यक्षतर्फ १० सिट जितेको उसले थ्रेसहोल्ड सीमा ३ लाख २० हजार कटाउन ५६ हजारभन्दा माथि मत पाउनुपर्ने देखिन्छ।
प्रतिनिधिसभामा प्रत्यक्ष एक सिट जितेर समानुपातिकमा थ्रेसहोल्ड कटाउने पार्टीले राष्ट्रिय दलको मान्यता पाउने प्रावधान छ।
नेकपा एमाले (अहिलेसम्म प्राप्त समानुपातिक मत : २५,७६,९२५), नेपाली कांग्रेस (२४,४६,३५१), नेकपा माओवादी केन्द्र (१०,९४,९०२), राष्ट्रिय स्वतन्त्र पार्टी (१०,७०,६८६), राष्ट्रिय प्रजातन्त्र पार्टी (५,५०,४३७) र जनता समाजवादी पार्टी (३,५५,६६७) भने राष्ट्रिय दल बन्ने पक्का भइसकेको छ।
Shares
प्रतिक्रिया