राजनीति


तेस्रो प्रयासमा भगवती चौधरीले विजय गच्छदारसँग बदला लिइन्

तेस्रो प्रयासमा भगवती चौधरीले विजय गच्छदारसँग बदला लिइन्

फाइल तस्बिर


नेपालखबर
मंसिर १३, २०७९ मंगलबार १८:९, काठमाडौँ

नेकपा एमालेकी नेतृ भगवती चौधरीले नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई तेस्रो प्रयासमा पराजित गरेकी छन्। 

यसअघि दुई पटककका भिडन्तमा चौधरीलाई गच्छदारले पराजित गरेका थिए। तर यस पटक गच्छदार उनै चौधरीसँग भारी मतान्तरले पराजित भए।

यस पटक भगवतीले गच्छदारलाई ५ हजारभन्दा धेरै मतको अन्तरमा पराजित गरेकी हुन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार चौधरीले ४० हजार ७८८ मत ल्याएकी छन्। 

यो क्षेत्रमा पहिलो हार चाखेका गच्‍छदारले ३५ हजार ६०० मत ल्याउन सके। उनी भगवतीसँग ५१ सय ८८ मतले पराजित हुन पुगेका छन्। 

२०७० को संविधान सभा निर्वाचन र २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा उनीहरु प्रतिस्पर्धी थिए। तर गच्छदारमाथि अनेक जालझेल गरेर नतिजा आफ्नो पक्षमा पारेको आरोप लाग्यो। त्यसविरुद्ध चौधरी सर्वोच्चसम्म पुगिन्। तर उनको मुद्दामा मंसिर ४ को नतिजा आउन लाग्दासम्म सुनुवाइ भएको छैन।

गच्छदार २०७० को निर्वाचनमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट उम्मेदवार हुँदा भगवती एमालेबाट मैदानमा थिइन्। २०७४ मा गच्छदारले कांग्रेसमै फर्किएर टिकट लिएका थिए। 

यी दुवै निर्वाचनमा गच्छदारले बाजी मारेका थिए। तर, यो जीतको कथा सहज र विवादरहित हुन सकेन। ०७० को निर्वाचनमा सत्ता र शक्तिको आडमा निर्वाचन जितेको आरोप गच्छदारलाई लागेको थियो।

२०७४ मा पनि उनले निर्वाचनमा धाँधली गरेको भन्दै अदालतमा मुद्दा नै परेको थियो। तर ५ वर्ष बित्दा पनि संवैधानिक अदालतले चौधरीद्वारा दायर मुद्दाको फैसला गरेन। 

गच्छदारको शक्ति
२०७० सालको दोस्रो संविधान सभा निर्वाचनको मतगणना तत्कालीन जिल्ला शिक्षा कार्यालय सुनसरीको तालिम केन्द्रमा भइरहेको थियो। 

३५ सय हाराहारी मत गन्न बाँकी हुँदा एमाले नेता चौधरी ३६५ मतले अगाडि थिइन्। 

पर्यवेक्षक, पत्रकारहरू मतगणनास्थल भन्दा अगाडिको सानो कोठामा परिणामका लागि कुरिरहेका थिए।​ मतगणनास्थल बाहिर ठूलो संख्यामा दुवै पक्षका कार्यकर्ता नाराबाजी गर्दै थिए। 

अपरान्ह ४ बज्न लागेको थियो। एक्कासी सशस्त्र र जनपद प्रहरी बढाइयो। मतगणनास्थल नजिकै कोठाका पत्रकार र पर्यवेक्षकलाई बाहिर निकालियो। 

बहिर निस्कन नमान्ने पत्रकारमाथि लाठीचार्जसमेत भयो। जिल्ला प्रहरी कार्यालय सुनसरीका तत्कालीन प्रहरी नायव उपरीक्षक लक्ष्मण गिरीले माथिको आदेश भन्दै बल प्रयोग गरेर पत्रकारहरुलाई कोठाबाट निकाले। 

केही समय मतगणना स्थगित गरियो। पुनः सुचारु भयो। यसपछि भएको मतगणनामा ३ सय ६२ मतले गच्छदार विजयी भएको घोषणा गरियो।

गच्छदारले  १७ हजार ५ सय २४ मत ल्याए। भगवतीले १७ हजार १६२ मत ल्याएर पराजित भइन्। 

तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले चुनाव जित्दा कांग्रेसकी गोमा अन्सारी पराजुलीले १० हजार ८ सय ६ मत पाएकी थिइन्। 

३५ सय मतगणना हुँदा सूर्य चिन्हमा खसेको ३ सय  मत बदर भएको निर्वाचन आयोगले जानकारी दिएको थियो। यसपछि जिल्लामा फोरम लोकतान्त्रिक र एमालेबीच विवाद भएको थियो।

पछि केन्द्रीय निर्देशन अनुसार नै  भगवतीले हार स्वीकारेको एमाले नेता कार्यकर्ताबीच चर्चा थियो। 

एमाले नेताहरुले संविधान जारी गराउन र मधेसीहरुको मुद्दा कमजोर बनाउन गच्छदारलाई जिताइएको तर्क गर्ने गरेका थिए। 

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनको कथा पनि यो भन्दा फरक रहेन। निर्वाचनका क्रममा सुनसरी क्षेत्र नम्बर ३ मा ८५ हजार ३४ मत खस्यो। 

खसेकोमध्ये ७२ हजार मतगणना भइसक्दा गच्छदार ६३ मतले पछाडि थिए। 

२९ हजार ९८८ मतगणना हुँदा २२ सय मतले गच्छदार पछाडि परे। ३५ हजार मतगणना हुँदा गच्छदार २८ सयले पछाडि परे। 

आधा मतगणना हुँदा २८ सयले पछाडि परेको अवस्थालाई उल्टाएर उनी पुनः विजयी भए। यसबेला पनि भगवती ३ सय २१ मतले पछि परिन्। 

२०७४ को प्रतिनिधिसभाको निर्वाचनमा चौधरीले ३८ हजार ६५१ मत पाइन् भने गच्छदारले ३८ हजार ९७२ मत ल्याए।

पराजित भएपछि भगवती अदालत गइन्। २०७४ साल पुस ११ गते सर्वोच्च गएकी चौधरीले लत्पतिएको र बदरसमेत रुख चिह्नमा गणना गर्न लगाएको आरोप लगाइन्। 

‘मतगणनाको १९ औँ लटमा नौवटा अर्धकट्टीसहितको मतपत्र पाइएको थियो। निर्वाचन अधिकृतले सिरियल नम्बर हेर्न दिएनन्’, उनले भनिन्।

मुद्दा परेको तेस्रो दिन अर्थात् १४ पुसमा संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गर्यो। तर अझैसम्म त्यो मुद्दाको फैसला आएन। फैसला नआउँदै मंसिर ४ मा प्रतिनिधिसभा निर्वाचन भइसकेको छ। अदालतले आदेश दिइनसक्दा भगवनीले यो पटकको निर्वाचन परिणाम आफ्नो पक्षमा पारिन्। 

२ छिमेकीको दुष्मनी 
विजय र भगवती एकै  समुदायका हुन्। उनीहरुको गाउँ पनि एउटै हो। दुवै सुनसरीको तत्कालीन भलुवा गाविसमा जन्मिएका हुन्।

दुहवी नगरपालिकाभित्र पर्ने भलुवामा उनीहरु छिमेकी हुन्। दुवैजना मोरङका थारु हुन्। उमेर र राजनीतिक यात्राका हिसावले विजय भगवतीभन्दा सिनियर हुन्। 

आफूभन्दा अग्रजलाई असाध्यै मान र श्रद्धा गर्ने थारु समुदायका यी दुई अगुवा नेताबीच राजनीतिक आस्था र चुनावी प्रतिस्पर्धाले ‘कट्टर दुष्मन’ बनाएको छ। यसको खास कारण हो मतगणना सुरु हुँदा गच्छदार पछाडि पर्ने र अन्तिम परिणाम आउँदा उल्टाएर जित्ने। 

दुवै निर्वाचनको प्रतिस्पर्धामा त्यही प्रक्रिया हुँदा भगवतीको दावी र आरोप छ, ‘सत्ता र शक्तिको आडमा चुनाव हराइयो।’

भगवतीले आरोप लगाए पनि गच्छदारको विजय यात्रामा पूर्णविराम भने लाग्न सकेको छैन। उनले २०४८ सालयता जित्दै आएका छन्।

गच्छदारले सुनसरीबाट  ०४८, ०५१, ०५६, ०६४ र ०७४ मा जिते। उनी १८ पटक मन्त्री बन्दा ५ पटक त उपप्रधानमन्त्री बने। 

यस पटक सहज थिएन
सत्ता र शक्तिमा रहने विजयकुमार गच्छदार यस पटक समस्यामा थिए। कारण हो, उनीमाथि लागेको भ्रष्टाचार मुद्दा। त्यहीकारण पनि उनी पराजि भए।

गच्छदारविरुद्ध लागेको काठमाडौंको बालुवाटारस्थित ललिता निवासको जग्गा अपचलनसँग सम्बन्धी भ्रष्टाचार मुद्दा अहिले विशेष अदालतमा विचाराधीन छ। 

०७६ माघ २२ मा गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो। 

मुद्दा दायर भएपछि गच्छदारको सांसद पद निलम्बनमा थियो। मुद्दा चलेपछि उनी फरार सूचीमा रहे तर प्रहरीले पक्राउ गरेन। 

शेरबहादुर देउवा नेतृत्वको सरकार बनेको भोलिपल्ट अर्थात् २०७८ असार २८ गते विशेष अदालतमा हाजिर भए। त्यहीदिन विशेषले १० लाख धरौटीमा छाड्ने आदेश दियो। 

तर,  उक्त मुद्दाको अन्तिम फैसला नभएकाले उनी दोषमुक्त भइसकेका छैनन्। अन्तिम फैसला नआए पनि उनी सुनसरी ३ मा कांग्रेसको टिकट लिएर मैदानमा थिए।

सुनसरी क्षेत्र नम्बर ३ बाट कांग्रेसले उमेदवारको रुपमा उनको एकल नाम पठाएको थियो। गृहनगर दुहबी आएका बेला गच्छदारले जनादेशबाट अदालतको आदेश खारेज गर्न आफू चुनावमा उठ्ने बताएका थिए। तर कांग्रेसको चौधौँ महाधिवेशनमा पराजित गच्छदारलाई भगवतीले संसदीय राजनीतिबाटट्ट पनि किनारा लगाइदिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .