राजनीति


कर्णाली प्रदेश सभा : दोस्रो कार्यकालको पहिलो बैठकमा कसले के भने?

उठ्यो हिन्दु राष्ट्र र राजतन्त्र पुनर्स्थापनको मुद्दा
कर्णाली प्रदेश सभा : दोस्रो कार्यकालको पहिलो बैठकमा कसले के भने?

कर्णाली प्रदेशसभामा आफ्नो भनाइ राख्ने सांसदहरु। तस्बिर : नेपालखबर


दिनेश बुढा
पुस १८, २०७९ सोमबार १८:५५, सुर्खेत

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठक सोमबार सम्पन्न भएको छ। 

बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने स्वतत्रसहित ५ दलका नेताहरुले आ-आफ्ना धारणा राखेका छन्। 

नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता एवम् मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको प्रमुख प्रतिपक्षी भनेको रोग, भोक र गरिबी भएको बताएका छन्। 

मुख्यमन्त्री शाहीले कर्णालीको प्रतिपक्षलाई मेटाउन सबै एक भएर अघि बढ्नुपर्ने तर्क राखे। ‘हामी विधायक हौँ, हाम्रो काम भनेको राम्रा ऐन कानुन बनाउने हो, हामीले राम्रा ऐन कानुन बनाउन सकेनौँ भने हामीले प्रदेश समृद्ध बनाउन सक्दैनौँ।’ 

यस्तै, नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले कर्णालीमा विगतका सरकारका क्रियाकलापका कारण प्रदेश संरचनाको औचित्यमा जनताले प्रश्न उठाएकाले अब सबै गम्भीर भएर विगतको समिक्षा गर्नुपर्ने बताए। 

`विकास गर्ने भन्दा पनि खाने प्रचलन कर्णालीमा व्याप्त छ। वर्ष प्रदेश संरचना चलाउँदा पनि प्रदेशका खराब सूचाङ्कहरुमा अझै सुधार आएन', उनले भने, 'यसको जिम्मेवारी हामी सबैले धेरैथोरै लिनै पर्छ तर मुख्य जिम्मेवारी सरकार सञ्चालकमा हुनुपर्छ।’

यस्तै, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्माले संघीयतालाई बचाउनु आफूहरुको दायित्व रहेको बताए। 

‘व्यवस्था बचाउने सन्दर्भमा तब मात्रै सम्भव छ जति बेला हामी तीनै तहका जनप्रतिनिधिहरु जनताप्रति उत्तरदायी हुन्छौँ,’ शर्माले थपे, ‘हामीले लोकतन्त्र, प्रजातन्त्र र स्वतन्त्रताको कुरा गरिरहेका छौं, हाम्रो लोकतन्त्र, प्रजातन्त्र र स्वतन्त्रतामा जनताका आवश्यकताप्रति जनप्रतिनिधि र सरकारी निकायहरु जवाफदेही हुने र जनतातिर फकर्ने परिपार्टी नै लोकतन्त्रको सुन्दर पक्ष हो।’

स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाहीले भ्रष्टाचार अन्त्यका लागि आमाको कसम खानुपर्ने बताए। आफू नेपाली कांग्रेसबाट हेपिएको भन्दै जनता नेताप्रतिभन्दा पनि नेता जनताप्रति उत्तरदायी हुनुपर्ने धारणा राखे। 

कर्णाली प्रदेशसभाको बैठक

‘कर्णालीमा तपाई हामी सहकार्य सहमतीका साथ जाऊँ, निष्ठाका साथ आफ्नी आमाको कसम खाएर भनौँ, 'भ्रष्टाचार गर्दैनौँ, भ्रष्टाचारबाट मुक्त हौँ,’ शाहीले थपे, ‘कर्णाली सुन हो, सुन पिट्ने सुनार पनि गतिलो चाहिन्छ, सही ढङ्गले सुन चुट्न जाने मात्रै समृद्धि हुन्छ, भाषण होइन।’

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद सन्तोषी शाहीले संघीयतमा धर्मनिरपेक्षता र राज संस्था हटाउन गरिएको गलत निणर्यकै कारण देश अस्थिरतातर्फ धकेलिएको दावी गरिन्। 

उनले नेपालमा पहिचानको रुपमा हिन्दु राष्ट्र र अभिभावकका रुपमा राजसंस्थाको पुनर्स्थापना हुनुपर्ने जिकिर गरिन्। 

पछिल्लो समय बढेको भ्रष्टाचार अन्त्य गर्न प्रभावकारी कानुन निर्माण गरी कार्यान्वयनको पाटो बलियो बनाउनु पर्ने उनले बतइन्। 

नेकपा एकीकृत समाजवादीकी सांसद कल्याणी खड्काले हजारौँ सहिदहरुको बलिदानका कारण आएको व्यवस्था जनताको पक्षमा हुनु पर्ने जोड दिइन्।

नाम अनुमोदन
बैठकले कर्णाली प्रदेशसभा नियमावली २०७९ को नियम ११ को उपनियम १ बमोजिम सभामुख र उपसभामुखको अनुस्पस्थितमा बैठकको अध्यक्षता गर्न तीनजनाको नाम अनुमोदन गरेको छ। 

जसमा कांग्रेसबाट हिक्मतबहादुर विष्ट, माओवादी केन्द्रका भीमप्रकाश शर्मा र नेकपा एमालेबाट जितबहादुर मल्ल छन्। आगामी प्रदेशसभा बैठक पुस २५ गते सोमबार दिउँसो १ बजे बस्ने गरि स्थगित गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .