राजनीति


सहिद नारायण उप्रेतीको स्मृति दिवसमा विविध कार्यक्रम

सहिद नारायण उप्रेतीको स्मृति दिवसमा विविध कार्यक्रम

नेपालखबर
पुस २९, २०७९ शुक्रबार २१:११, सर्लाही

सर्लाहीको साविक हरिवन गाविसका तत्कालीन अध्यक्ष नारायण उप्रेतीको ३०औँ स्मृति दिवस शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइएको छ।

दिवसका अवसरमा नारायण उप्रेती स्मृति प्रतिष्ठानले हरिवनमा श्रद्धाञ्जली सभा र विद्यार्थीबीच निबन्ध प्रतियोगिता सम्पन्न गरेको हो। 

शुक्रबार हरिवन ११ मा आयोजित कार्यक्रममा सहभागीहरुले पञ्चायती व्यवस्थाविरोधी आन्दोलनमा उप्रेतीले पुर्‍याएको योगदान र उनको व्यक्तित्वमा प्रकाश पारे। 

कार्यक्रममा प्रतिनिधिसभाकी सदस्य सरस्वती सुब्बा, हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी, प्रतिष्ठानका संस्थापक अध्यक्षसमेत रहेका नेकपा एकीकृत समाजवादीका नेता डिल्लीप्रसाद उप्रेती, प्रतिष्ठानका अध्यक्ष तथा स्वर्गीय उप्रेतीका दाजु राजकुमार उप्रेती, हरिवन नगरपालिकाकी पूर्व उपमेयर रेणुका पौडेल, पूर्व शिक्षक वासुदेव निरौलालगायतले उप्रेतीले सर्लाहीको वामपन्थी तथा प्रजातान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको चर्चा गरे। 

पञ्चायती व्यवस्थाविरोधी आन्दोलनका योद्धा उप्रेती ०४८ सालमा नेकपा एमालेका तर्फबाट तत्कालीन हरिवन गाविसको अध्यक्ष चुनिएका थिए। तर यसको एक वर्ष नपुग्दै ०४९ पुस २९ गते २७ वर्षकै उमेरमा उनको निधन भएको थियो। 

किशोरावस्थादेखि नै वामपन्थी राजनीतिमा क्रियाशील उप्रेती पञ्चायती व्यवस्थाविरोधी आन्दोलनका क्रममा प्रहरीले दिएको यातनाका कारण गम्भीर घाइते भएका थिए। घाइते अवस्थामै उनी हरिवन गाविसको अध्यक्ष बनेका थिए। 

कार्यक्रममा स्वर्गीय उप्रेतीकी आमा टीकालक्ष्मी उप्रेतीकोसमेत सहभागिता थियो। 

प्रतिष्ठानले आयोजना गरेको नारायण उप्रेती र राजनीतिमा नयाँ पुस्ता विषयक निबन्ध प्रतियोगितामा सहभागी विद्यार्थीसँगै हरिवन नगरपालिकाभरीका सामुदायिक विद्यालयबाट एसईई, कक्षा ११ र १२ का परीक्षामा उत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई नगद पुरस्कार र प्रमाणपत्रसहित सम्मान गरिएको थियो। 

विद्यार्थीमा सामाजिक उत्तरदायित्व तथा राजनीतिक चेतको विकास गर्ने उद्देश्यले निबन्ध प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठानका सदस्यसमेत रहेका प्रतियोगिताका संयोजक चूडामणि वाग्लेले जानकारी दिए। 

कार्यक्रममा सहभागीहरुले उप्रेतीको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .