राजनीति


उपनिर्वाचन : बारा २ मा उपेन्द्रलाई भारी पर्न सक्छन् शिवचन्द्र

उपनिर्वाचन : बारा २ मा उपेन्द्रलाई भारी पर्न सक्छन् शिवचन्द्र

जनार्दन पोखरेल
चैत २९, २०७९ बुधबार १०:१७, कलैया (बारा)

बारा बरियारपुरका शिवचन्द्र कुशवाहा गत मंसिर ४ को चुनावमा माओवादी केन्द्रका तर्फबाट बारा २ मा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार थिए। 

त्यतिबेला सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका कुशवाहाको चुनाव चिह्न थियो- गोलाकारभित्रको हँसिया हथौडा।

तिनै कुशवाहा आगामी १० वैशाखमा बारा २ मा हुने उपनिर्वाचनमा पनि उम्मेदवार बनेका छन्। तर, यो निर्वाचनमा उनको चुनाव चिह्न फेरिएको छ। 

४ मंसिरको निर्वाचनमा हँसिया-हथौडामा मतदान गरेर आफूलाई विजयी बनाउन आग्रह गर्दै मधेशका गाउँ डुलेका पूर्वमाओवादी नेता कुशवाहा अहिले भने मधेशमा क्षेत्रीय राजनीति गरिरहेको जनमत पार्टीबाट उम्मेदवार बनेका छन्। र, यतिबेला उनी हर्न छापमा मत दिएर आफूलाई विजयी बनाउन आग्रह गर्दै बारा २ मा घरदैलो गरिरहेका छन्। 

‘त्यतिबेला मेरो पार्टी माओवादी केन्द्र थियो। अहिले मैले माओवादी छाडेँ,’ मंगलबार नेपाल भारत सीमानजिकै रहेको सुवर्ण गाउँपालिका ७ सनफुल्वा गाउँमा भेटिएका कुशवाहा मतदातालाई सम्झाउँदै थिए, ‘पाँच महिनाअघि म माओवादी थिएँ। अहिले म डा. सीके राउत नेतृत्वको पार्टीबाट उम्मेदवार बनेको छु। हर्न छापमा मत दिएर मलाई विजयी बनाउनु होला।’

४ मंसिरको निर्वाचनमा जसपाका रामसहाय प्रसाद यादवसँग ३५४ मतान्तरले हारेका थिए- कुशवाहा। यादवले १३ हजार ८ सय २२ मत पाउँदा उनले १३ हजार ४ सय ६८ मत मात्रै पाएका थिए।

यादव उपराष्ट्रपति बनेपछि खाली भएको बारा २ मा आगामी वैशाख १० मा हुने उपनिर्वाचन जितेर दोस्रोपटक संसद्‌को यात्रा गर्ने ध्याउन्नमा छन् कुशवाहा। त्यसका लागि दिनरात नभनी उनी मत माग्दै बारा २ का गाउँगाउँ डुलिरहेका छन्।

०६४ मा माओवादीबाट उम्मेदवार बनेर पहिलो संविधानसभा निर्वाचन जितेका कुशवाहाले त्यसयताका सबै चुनाव हारेका छन्। 

उपनिर्वाचनमा माओवादीबाट उम्मेदवार बन्ने सम्भावना नदेखेपछि उनले  दुई दशकभन्दा धेरै सयम बिताएको पार्टी नै त्यागिदिए। यही चैत १५ गते कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका हुन्। 

माओवादी त्यागेर आफ्नो पार्टीमा प्रवेश गर्नासाथ सीके राउतले कुशवाहालाई बारा २ मा उम्मेदवार बनाएका हुन्। 

यसपटक बारा २ मा हुने उपनिर्वाचनमा मुख्यरुपमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका कुशवाहा र पूर्वमन्त्री समेत रहेका एमालेका पुरुषोत्तम पौडेलबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान स्थानीयको छ। 

बारा २ मा कुशवाहा, यादव र पौडेलसँगै रास्वपाबाट रमेश खरेल, आम जनता पार्टीबाट अरुण ज्ञवाली, नागरिक उन्मुक्ति पार्टीबाट डा. कमरुल्लाह अन्सारीलगायत पनि उम्मेदवार छन्। 

४ मंसिरको निर्वाचनमा थोरै मतान्तरले पराजित कुशवाहालाई यसपटक बारा २ मा बलियो उम्मेदवारका रुपमा हेरिएको छ। 

तर, उपेन्द्र यादवलाई कांग्रेस, माओवादी केन्द्रलगायत दलको पनि साथ रहेकाले कुशवाहालाई चुनावमा विजयी हुन त्यति सजिलो भने छैन। कुशवाहा भने यो तथ्य स्वीकार्दैनन्।

‘यो निर्वाचनमा जनताले आफ्नै क्षेत्रको उम्मेदवार खोजेका छन्, बाहिरिया होइन’, उपेन्द्र यादवप्रति संकेत गर्दै कुशवाहाले नेपालखबरसँग भने, ‘म यहाँको धर्तीपुत्र हुँ, मेरो पक्षमा माहोल एकदमै राम्रो बन्दै गएको छ। जनताको भावना मप्रति छ। मेरो विजयलाई कसैले रोक्न सक्दैन।’

केन्द्रमा नेताहरुको स्वार्थको कारण जन्मिएको सत्तारुढ गठबन्धनको प्रभाव यो निर्वाचनमा नपर्ने दाबीसमेत उनले गरे। 

‘उपेन्द्रजी हाम्रो पार्टीका अध्यक्ष सीके राउतसँग सप्तरी २ मा पराजित बनेपछि यता आउनुभएको छ। उहाँले गठबन्धनका सबै मत आफूलाई आउँछ भन्ने सोच्नु दिवासपना मात्रै हो’, कुशवाहाले भने, ‘यहाँका जनतासँग मेरो भावनात्मक सम्बन्ध छ। जन्मेदेखि अहिलेसम्म यहाँका जनतासँग सुखदुःखमा म साथमै छु। यो मेरो जितको मुख्य आधार हो।’

गएको निर्वाचनमा सत्तारुढ गठबन्धनका दलले पाएको मतका आधारमा भन्ने हो भने उपेन्द्र यादव यहाँ बलियो उम्मेदवार देखिन्छन्। तर, स्थानीय भएका कारण कुशवाहाप्रति जनताको सहानुभूति उपेन्द्रप्रति भन्दा बलियो रहेको बाराका पत्रकार रामबाबु मेहताको बुझाइ छ। 

बारा २ मा एक लाख ५ हजारभन्दा धेरै मतदाता छन्। जसमा यादव समुदायकै झन्डै ३८ हजार मतदाता छन्। गएको निर्वाचनमा बारा २ मा करिब ६२ हजार मत खसेको थियो। 

मधेशमा जातीयताका कारण पनि मत प्रभावित हुने गरेको छ। 

‘यो चुनावमा बारा २ मा यादवविरुद्ध अन्य जातीय गठबन्धन नबन्ला भन्न सकिन्न’, पत्रकार महासंघ बाराका उपाध्यक्षसमेत रहेका मेहता भन्छन्, ‘त्यो भयो भने शिवचन्द्र कुशवाहा उपेन्द्र यादवलाई भारी पर्न सक्छन्।’

गएको निर्वाचनमा खसेको समानुपातिक मत हेर्दा यो क्षेत्रमा जसपापछि सांगठानिक रुपमा कांग्रेस र एमाले बलिया देखिन्छन्। तर, स्थानीय भएकाले कुशवाहाप्रति जनताको सहानुभूति राम्रो रहेको एमालेका कार्यकर्तासमेत रहेका गढिमाई १ का सागर पटेल बताउँछन्। 

गएको निर्वाचनमा दुईजना स्वतन्त्र उम्मेदवारले पनि बारा २ मा १० हजारभन्दा धेरै मत पाएका थिए। तर, यो निर्वाचनमा अघिल्लोमा जस्तो धेरै उम्मेदवारलाई मत नबाँडिने अनुमान कुशवाहाले गरेका छन्। 

‘यो चुनावमा मुख्य रुपमा म र उपेन्द्रजीबीच नै प्रतिस्पर्धा हुन्छ, अरु उम्मेदवारले उल्लेख्य मत प्राप्त गर्दैनन्’, मतको आकलन गर्दै कुशवाहाले भने। 

कुशवाहाले दोस्रोपटक छाडे माओवादी
शिवचन्द्र कुशवाहा विद्यार्थी कालदेखि नै कम्युनिस्ट राजनीतिमा जोडिएका नेता हुन्। ०४६ मा एमालेबाट राजनीति सुरु गरेका कुशवाहा ०५४ मा एमाले छाडेर माओवादीमा लागे। त्यसयताका १६ वर्ष उनी लगातार माओवादीमै रहे। जनयुद्धमा होमिए।

०६४ को पहिलो संविधानसभा निर्वाचनमा उनी माओवादी केन्द्रको उम्मेदवार बनेर बाराबाट संविधान सभा सदस्य पदमा चुनिए। तर, ०७० सालमा उनले माओवादीबाट टिकट पाएनन्। टिकट नपाएको झोकमा उनले माओवादी नै त्यागे। त्यसयता भने उनको राजनीतिक जीवन उतारचढावपूर्ण देखिन्छ। 

०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा उनी राजेन्द्र महतो नेतृत्वको तत्कालीन सद्‌भावना पार्टीमा प्रवेश गरे। चुनावमा उनैले टिकट पाए। तर, विजयी हुन सकेनन्। 

०७४ को निर्वाचनअघि उनी पुनः माओवादीमै फर्किए। वाम गठबन्धनबाट बारा २ मा उम्मेदवार बने। तर, त्यो निर्वाचनमा पनि उनी हालका उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग हारेका थिए। 

‘त्यतिबेला रामसहायजीले २८ हजारभन्दा धेरै मत ल्याउँदा मैले १० हजार ६ सय मत मात्रै ल्याएको थिएँ’, कुशवाहाले भने, ‘गएको निर्वाचनमा रामसहाय यादव विजयी बने पनि उहाँको मत १४ हजारभन्दा धेरै घटेको छ। तर, मेरो मत अघिल्लो निर्वाचनमा भन्दा बढ्यो।’ 

गएको निर्वाचनमा आफूले थोरै मतले मात्र हार्नुपरे पनि यो निर्वाचनमा त्यस्तो नहुने दाबी उनले गरे।

यही चैत १५ गत सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गर्नुअघि उनले माओवादी अध्यक्ष प्रचण्डलाई आफूले दोस्रोपटक माओवादी पार्टी छाड्न लागेको जानकारी गराएका थिए। 

‘अध्यक्ष प्रचण्डले गठबन्धन जोगाउनुपर्ने बाध्यता भएकाले बारा २ मा उपेन्द्रजीलाई सहयोग गर्नुपरेको बाध्यता सुनाउनुभयो’, कुशवाहाले भने, ‘मैले पनि तपाईंले उपेन्द्रलाई सहयोग गर्ने हो भने म जनमतमा प्रवेश गर्छु र उम्मेदवार बन्छु भन्ने जवाफ दिएँ। उहाँले माओवादी नछाड्न भन्नुभयो, तर मैले मानिनँ।’

आफू जनमतमा प्रवेश गरपछि पनि प्रचण्डले ‘उता नजानुपर्ने गइहाल्नुभयो, सम्पर्कमै रहनुहोला भन्नुभएको छ’, कुशवाहाले भने।

अहिले माओवादीसँगै एमाले, कांग्रेस, जसपासहित सबै दलका स्थानीय नेता/कार्यकर्ताको सहानुभूति आफूप्रति रहेको दाबी उनले गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .