राजनीति


बर्दीबास मेडिकल कलेजको लागि अझै खबरदारी आवश्यक छ : पोखरेल

बर्दीबास मेडिकल कलेजको लागि अझै खबरदारी आवश्यक छ : पोखरेल

नेपालखबर
माघ ६, २०८० शनिबार १८:४३, महोत्तरी

माओवादी केन्द्रका उपमहासचिव गिरीराजमणि पोखरेलले बर्दीबासमा सरकारी मेडिकल कलेज स्थापनाका लागि अझै पनि खबरदारी जरुरी रहेको बताएका छन्। 

सरकारले महोत्तरीको बर्दीबासमा सरकारी मेडिकल कलेज निर्माणको काम अघि बढाउन स्वीकृति दिए पनि अझै त्यसविरुद्ध व्यवधानहरु सिर्जना हुनसक्ने आशंका व्यक्त गर्दै उनले यथाशिघ्र पूर्वाधार निर्माणको काम अघि बढाउनको लागि खबरदारी आवश्यक पर्न सक्ने बताएका हुन्। 

शनिबार दिउँसो बर्दिबासमा विभिन्न राजनीतिक दलका नेता र सरोकारवाला पक्षको समेत उपस्थितिमा पत्रकार सम्मेलन गर्दै नेता पोखरेलले सरकारी ढिलासुस्तीका बावजुध पनि मेडिकल कलेजको पक्षमा काम अघि बढेकोमा प्रसन्नता व्यक्त गरे। 

गएको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बर्दीबास मेडिकल कलेज निर्माणको काम अघि बढाउन स्वीकृति दिने निर्णय गरेको थियो। 

‘बर्दीबास मेडिकल कलेजको सम्बन्धमा सर्बोच्च अदालतले निर्णय गरेपछि पनि जग्गा प्राप्तिको लागि यति समय लाग्यो। किस्ता किस्तामा खुशी हुनुपर्ने यो परिपाटीको कहिले अन्त्य होला?’ पूर्वमन्त्रीसमेत रहेका पोखरेलले पत्रकार सम्मेलनमा आफ्नो मन्तव्य राखिसकेपछि सामाजिक सञ्जालमा लेखेका छन्, ‘मन्त्रिपरिषदको यो निर्णयले एउटा खुशी त दिएको छ।अब, डिपिआरको पुनरावलोकन, स्रोतको सुनिश्चितता, निर्माण कार्यका लागि बहुवर्षीय ठेक्काको अनुमति लगायतका कामलाई सम्पादन गरेर जति सक्यो चाँडो शिलान्यास गर्ने प्रक्रियामा हामी लागेका छौँ। यसअघि गठित बर्दिबास मेडिकल बचाउ अभियानलाई नयाँ ढंगले अगाडी बढाउने सहमति भएको छ। यस सम्बन्धि संयन्त्र लगायतका आवश्यक निर्णय अर्को बैठकमा गरिनेछ।’

पत्रकार सम्मेलनमा उनले जग्गा प्राप्ती भएपछि पनि भौतिक पूर्वाधार निर्माणको काम सुरु गर्नका लागि केही प्रक्रियागत व्यवधानहरु अझै पनि बाँकी नै रहेको बताए। 

‘अब यसलाई विलम्ब नगरी तयार भएको डीपीआरलाई केही शंसोधन गरी शिक्षा मन्त्रालयले स्वीकृत गर्नुपर्नेछ। अर्थ मन्त्रालयबाट श्रोतको सुनिश्चित गरी योजना आयोगबाट वहुवर्षीय ठेक्काको लागि निर्णय गराई यथाशिघ्र मेडिकल कलेजको शिलान्यासको प्रक्रिया अगाडि बढाउनु पर्छ,’ पत्रकार सम्मेलनमा उनले भने, ‘जसरी विगतदेखि नै मेडिकल कलेजको पक्षमा यस क्षेत्रका जनसमुदायले साथ सहयोग र एक्यवद्धता जनाउँदै आउनु भएको छ, बाँकी कामहरुका लागि सबैको साथ सहयोग रहने विश्वास व्यक्त गर्दछु।’

०७३ सालमा  पोखरेल शिक्षामन्त्री भएको बेला बर्दिबासमा एक हजार बेड क्षमताको सरकारी मेडिकल कलेज स्थापना गर्ने निर्णय सरकारले गरेको थियो। त्यतिबेला सरकारले बर्दिबाससँगै बुटवल र सुर्खेतमा पनि सरकारी मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेको थियो।

हाल माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका पोखरेलले बर्दिबासमा सरकारी मेडिकल कलेज स्थापनाको लागि विभिन्न ढंगले पहल अघि बढाउँदै आएका थिए। 

पोखरेलले जारी गरेको प्रेस विज्ञप्ति


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .