राजनीति


रामेश्वर रायलाई प्रश्न- माओवादी केन्द्र छाड्न लाग्नुभएको हो?

आफ्नै जिल्लामा प्रचण्ड आउँदा मञ्चमा देखिएनन् राय
रामेश्वर रायलाई प्रश्न- माओवादी केन्द्र छाड्न लाग्नुभएको हो?

जनार्दन पोखरेल
बैशाख २३, २०८१ आइतबार १५:५५, काठमाडौँ

शनिबार माओवादी केन्द्रले सर्लाहीको बलरामा पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रमका प्रमुख अथिति थिए- प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’।

माओवादी केन्द्रका मधेश प्रदेश इन्चार्ज लीलामणि पोख्रेल, माओवादी नेता एवं मधेस प्रदेशका मन्त्री भरत साह, बाबुराम भट्टराई नेतृत्वको पार्टी छाडेर माओवादी प्रवेश गर्ने तयारीमा रहेका सर्लाही- १ बाट निर्वाचित संघीय सांसद महेन्द्र राय यादव, माओवादी नेता शिवपुजन राय, मधेस प्रदेशका सांसद, स्थानीय तहका जनप्रतिनिधिसहित माओवादीका केन्द्र, प्रदेश र स्थानीय पार्टी कमिटीका दर्जनौँ नेता कार्यकर्ता मञ्चमा उपस्थित थिए। 

तर, सर्लाहीकै प्रभावशाली माओवादी नेता रामेश्वर राय यादव भने मञ्चमा देखिएनन्। माओवादीका स्थायी समिति सदस्यसमेत रहेका यादव सर्लाही- ३ बाट निर्वाचित पूर्व सांसद तथा मन्त्रीसमेत हुन्। ०७४ सालमा निर्वाचन जितेपछि उनी तत्कालिन नेकपाबाट केपी ओली प्रधानमन्त्री छँदा श्रममन्त्री थिए। 

अध्यक्ष प्रचण्डसमेत उपस्थित पार्टीको महत्त्वपूर्ण कार्यक्रममा नदेखिएका रामेश्वर रायले शनिबार साँझ सामाजिक सञ्जालमा हिन्दी भाषामा लेखे, ‘अपनाना भि सिखो, ठकराना भि सिखो, जहाँ इज्जत ना हो, उहाँ से उठकर जाना भि सिखो! (अर्थात्, अपनाउन पनि सिकौँ, ठोक्न पनि सिकौँ, जहाँ इज्जत हुँदैन, त्यहाँबाट उठेर जान पनि सिकौँ)!’

दिउँसो प्रचण्डसमेत सहभागी कार्यक्रमको मञ्चमा नगएका रायले साँझ सामाजिक सञ्जालमा यस्तो लेखेपछि धेरैले उनले माओवादी केन्द्र छाड्न लागेको अनुमान गरेका छन्। उनको स्टाटरको कमेन्टमा धेरैले ‘तपाईंले माओवादी केन्द्र छाड्न लागेको हो?’ भन्ने प्रश्न पनि गरेका छन्। 

तर, यादवले भने आफूले माओवादी केन्द्र छाड्न लागेको हल्ला सत्य नभएको दाबी गरे। 

हाल सर्लाहीमै रहेका नेता यादवले नेपालखबरसँग भने, ‘हिजोको मेरो फेसबुक स्टाटस पार्टीभित्रको आन्तरिक संघर्षको एउटा अभिव्यक्ति मात्रै हो,’ उनले भने, ‘यसलाई मैले पार्टी छाड्न लागेको अर्थमा बुझ्नु हुँदैन। मैले त्यस्तो सोचेको पनि छैन।’

सर्लाहीको क्षेत्र नम्बर- ४ मा पर्ने बलरामा शनिबार माओवादीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमको अध्यक्षता माओवादी नेता शिवपुजन रायले गरेका थिए। जब कि सो क्षेत्रको माओवादी पार्टी इन्चार्ज रामेश्वर राय यादव आफैँ हुन्।  

‘म इन्चार्ज रहेको क्षेत्रमा मलाई नै बाइपास गरेर कार्यक्रम गरियो,’ यादवले भने, ‘त्यो कार्यक्रम पार्टीको सिस्टमअनुसार पनि भएन। म कार्यक्रममा त गएको थिएँ, तर दर्शक दीर्घामै बसेँ। मञ्चमा गइनँ। यसलाई मैले पार्टी छाड्न लागेको अर्थमा होइन, मैले पार्टीभित्र आन्तरिक लडाइँ लडिरहेको अर्थमा बुझ्दा यथार्थ हुन्छ।’

कार्यक्रममा यादव मञ्चमा मात्र नभएर प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्ने लाइनमा पनि देखिएका थिएनन्। यसले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसँग पनि उनको असन्तुष्टिलाई झल्काउँछ। 

माओवादी केन्द्र सर्लाहीका इन्चार्ज अच्युतम काफ्लेसहितका केही नेताले बलराको कार्यक्रम पार्टीका क्षेत्रीय इन्चार्ज रामेश्वर रायकै अध्यक्षतामा गर्नुपर्ने राय दिएका थिए। तर, महेन्द्र राय, शिवपुजन रायसहितका नेताले रामेश्वरको अध्यक्षतामा कार्यक्रम गर्न नमानेका माओवादी सर्लाहीका एक नेताले बताए। 

०७४ सालको निर्वाचनअघि रामेश्वर राय विजयकुमार गच्छदार नेतृत्वको तत्कालिन लोकतान्त्रिक फोरमका उपाध्यक्ष थिए। 

निर्वाचनको मुखमै उनी माओवादी केन्द्रमा प्रवेश गरेका थिए। ०७४ को निर्वाचनमा यादव एमाले-माओवादी गठबन्धनबाट सर्लाही- ३ मा विजयी भएका थिए। त्यसपछि उनी संघीय सरकारमा मन्त्री पनि बने। 

तर, ०७९ सालको निर्वाचनमा भने माओवादीले सर्लाही- ३ मा उनलाई टिकट दिएन। माओवादीले अर्का नवप्रवेशी नरेन्द्र साहलाई टिकट दिएपछि राय पार्टी नेतृत्वसँग असन्तुष्ट रहेको चर्चा छ। 

गएको निर्वाचनमा रायले पार्टीका उम्मेदवारलाई पराजित गर्न भूमिका खेलेको आरोप पनि उनले खेप्दै आएका छन्। यसले पनि पछिल्लो समय सर्लाहीमा रामेश्वर थप कमजोर बन्दै गएको चर्चा छ। 

गएको स्थानीय तहको निर्वाचनमा रायको गृहनगरसमेत रहेको चक्रघट्ट गाउँपालिकामा  पनि माओवादी पराजित बनेको थियो। रायले चक्रघट्टमा आफ्नै छोरा बिक्रम यादवलाई उम्मेदवार बनाएका थिए। तर, जसपाका कृष्णकुमार यादव चुनावमा विजयी हुँदा यादव तेस्राे भए।

कृष्णकुमार ५ हजार ९१५ मत ल्याएर विजयी हुँदा काँग्रेसका रामजी साह तेलीले ३ हजार ५२१ मत प्राप्त गरेका थिए। बिक्रमले २ हजार १४४ मत मात्रै पाए। गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित आफ्नै पालिकाका धेरैवटा वडासमेत माओवादीले गुमाएपछि सर्लाहीमा अहिले रामेश्वर रायको प्रभाव कमजोर बन्दै गएको चर्चा छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .