राजनीति


लेखराजको निवासबाट निस्किँदै प्रचण्डले भने– यो घर मेरो पनि हो, ४० वर्षदेखि सम्बन्ध छ

लेखराजको निवासबाट निस्किँदै प्रचण्डले भने– यो घर मेरो पनि हो, ४० वर्षदेखि सम्बन्ध छ

गोकुल जोशी
चैत २६, २०७९ आइतबार १२:४१, कञ्चनपुर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्टको घरसँग चार दशकदेखिको सम्बन्ध रहेको बताएका छन्।

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त कार्यक्रममा सहभागी हुन आइतबार धनगढी आएका प्रधानमन्त्री प्रचण्ड पूर्वमाओवादी नेतासमेत रहेका एमाले नेता भट्टको निवासमा पुगेका हुन्। 

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले भट्टलाई  निवासमै भेटेर निस्किँदा  भट्टको परिवारसँग आफ्नो पुरानो सम्बन्ध रहेको बताए।

‘यो घर मेरो पनि घर हो, यो घरसँग मेरो ४० वर्षदेखि सम्बन्ध छ, यहाँमाथि एउटा म बस्ने कोठा छ, जहाँ जहिल्यै आउँदा मैले खाने बस्ने गर्थेँ। त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हो’, प्रचण्डले भने, ‘लेखराजजी राजनीतिक व्यक्तित्व हुनुहुन्छ, भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने नै भैहाल्यो, अरू त्यस्तो एजेन्डा केही थिएन।’

भट्टले पनि राष्ट्रिय राजनीतिको विषयमा प्रधानमन्त्रीसँग कुराकानी भएको बताए। उनले भने, 'उहाँसँग पारिवारिक सम्बन्ध छ, यहाँ आउनु अस्वाभाविक होइन’, भट्टले प्रचण्डसँगको भेटपछि सञ्चारकर्मीसँग भने, ‘अहिलेको राष्ट्रिय राजनीतिक विषयमा छलफल भयो, पारिवारिक सञ्चो-बिसञ्चो सोधियो।’

प्रधानमन्त्री प्रचण्डले बिहान टेलिफोन गरेर आफू सुदूरपश्चिम आइरहेको र चिया पिउने गरी निवासमा आउने प्रस्ताव गरेको भट्टले बताए।  ‘उहाँलाई निवासमा मैलेँ स्वागत गरेँ, यो सुदूरपश्चिमको परम्पराभित्र पनि पर्छ,’, उनले भने।

माओवादीमा फर्काउन खोजिएको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा भट्टले त्यो सम्भावना नभएको बताए। ‘त्यस विषयमा कुनै छलफल भएन, त्यो सम्भावना पनि छैन’, उनले भने।

प्रचण्ड अत्तरियास्थित भट्टको घरमा पुगेपछि उनीहरूबीचको सम्बन्ध पनि नवीकरण भएको छ। भट्ट माओवादी पृष्ठभूमिका नेता हुन्। कुनै बेला सुदूरपश्चिममा प्रचण्डका विश्वास पात्र मानिने भट्ट र प्रचण्डबीच अहिले त्यति राम्रो सम्बन्ध छैन। सर्वोच्च अदालतले २०७७ फागुन २३ गते एमाले र माओवादीको समीकरणबाट बनेको नेकपा भंग गर्ने फैसला गरेपछि पुरानै पार्टी अस्तित्वमा आएका थिए। त्यसबेला भट्ट माओवादीमा नफर्की एमाले अध्यक्ष केपी शर्मा ओलीको साथमा उभिएका थिए।

माओवादीमा हुँदा भट्ट स्थायी कमिटी सदस्य र सुदूरपश्चिम इन्चार्ज थिए। भट्ट माओवादीमा रहेका बेला प्रचण्ड सुदूरपश्चिमा आउँदा उनको घरमा पुग्ने गरेका थिए। 

भेटघाट गरेर खाना खाएर जाने गरेका थिए। तर वि.सं. २०७५ पछि सम्बन्ध चिसिएपछि प्रचण्ड भट्टको घरमा आएका थिएनन्। 

तत्कालीन नेकपाको धुव्रीकरणपछि प्रचण्डले धनगढीको एक सभामा भट्टलाई होच्याएर बोलेका थिए। त्यसपछि उनीहरूबीचको सम्बन्ध झनै चिसिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .