प्रविधि


डिजिटल मिडियाको अग्रणी बजफिड न्युज बन्द हुने

डिजिटल मिडियाको अग्रणी बजफिड न्युज बन्द हुने

नेपालखबर
बैशाख ७, २०८० बिहिबार २२:५७,

डिजिटल न्युज साइटहरुको अग्रणी बजफिड न्युज बन्द हुने भएको छ। स्थापनाको १२ वर्षपछि साइट बन्द गर्न लागिएको बिहीबार कम्पनीका सीईओले जनाएका छन्।

साइटका सहसंस्थापक तथा प्रमुख कार्यकारी जोनाह पेरेटीले स्टाफहरुलाई सूचना पठाउँदै कम्पनीले १५ प्रतिशत कर्मचारी कटौती गरेर बन्द गर्ने प्रक्रिया सुरु गर्ने बताएका छन्।

२०११ मा स्थापना भएको बजफिड न्युजले पुलित्जर पुरस्कार समेत जितेको थियो।

बजफिड र यसको भगिनी प्रकाशन हफफोस्टलाई भने निरन्तरता दिइने तर न्युज साइट भने बन्द गरिने पेरेटीले लेखेका छन्।

‘हरेक विभागमा कर्मचारी कटौतीको अवस्था उत्पन्न भइरहेका बेला हामी के निष्कर्षमा पुगेका छौँ भने यो कम्पनीले बजफिड न्युजलाई निरन्तरता दिइराख्न सक्दैनौँ,’ उनले लेखेका छन्।

‘यसबारे म निराश छु,’ सो साइटका पूर्व प्रधानसम्पादक तथा हाल सेमाफोरका प्रधानसम्पादक बेन स्मिथले भनेका छन्, ‘मलाई लाग्छ, यो समाचार र सामाजिक सञ्जालबीचको मेलजोल अन्त्य भएको विन्दु हो।’

भाइरल सामग्री तथा पप कल्चरसम्बन्धी सूची प्रकाशन गर्ने बजफिडले २०११ मा समाचार विभाग स्थापना गरेको थियो। डिजिटल युगमा कडा प्रहार गर्ने पत्रकारिता गर्ने महत्वाकांक्षा सो साइटले राखेको थियो। 

पोलिटिकोबाट तानेर स्मिथलाई पहिलो प्रधानसम्पादक बनाएको थियो भने नाम चलेका पत्रकारहरुलाई नियुक्त गरिएको थियो। चाँडै नै यसका पत्रकारहरुले स्कुपहरु पस्किन थाले।

राजनीतिक पत्रकारितामा बजफिडले आफ्नै बाटो खन्यो। र, यसका पत्रकारहरुलाई सीएनएन र न्युयोर्क टाइम्सजस्ता स्थापित मिडियाले खोस्न थाले।

चीनमा उइगुर मुस्लिमहरुलाई बन्दी बनाइएको शृंखलाबद्ध समाचार छापेपछि बजफिड न्युजलाई २०२१ मा पुलित्जर पुरस्कार समेत दिइयो।

तर, बजफिड न्युजले नाफा कमाउन सकेन। प्रतिस्पर्धी कम्पनीहरुले आफ्नो सामग्रीमा पेवाल राख्दा यसले प्रायः सबै सामग्री निशुल्क राख्यो।

२०२१ मा कम्पनी सार्वजनिक स्वामित्वमा गयो। त्यतिबेला डेढ अर्ब डलर मूल्यमा पुगेको यो कम्पनी एक वर्षपछि त्यसको एक तिहाइमा झर्यो।

त्यसयता यसले पटकपटक कर्मचारी कटौती गर्दै आएको थियो। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .