ad ad

प्रविधि


अमेरिकी प्रतिबन्धको सामना गर्दै चिप डिजाइनमा ह्वावेको ‘ब्रेकथ्रु’

अमेरिकी प्रतिबन्धको सामना गर्दै चिप डिजाइनमा ह्वावेको ‘ब्रेकथ्रु’

नेपालखबर
असोज ३, २०८० बुधबार २१:०,

अमेरिकी प्रतिबन्ध खेपिरहेको चिनियाँ कम्पनी ह्वावे आफ्नै प्रोसेसर विकास गर्न सफल भएको छ। हालै सार्वजनिक गरेको नयाँ स्मार्टफोनमा आफैँले तयार गरेको प्रोसेसर प्रयोग गरेपछि यसमा सो कम्पनी ‘ब्रेकथ्रु’ गर्न सफल भएको विश्लेषण गर्न थालिएको छ।

ह्वावेले हालै मेट ६० प्रो नामक स्मार्टफोन सार्वजनिक गरेको छ। जुन लगत्तै बिक्री भइसकेको छ। 

सो स्मार्टफोनको मुख्य चिप ह्वावे आफैँले डिजाइन गरेको हो। यससँगै आफ्नै सेमिकन्डक्टर डिजाइन गर्न सफल ठूला प्रविधि कम्पनीहरुको समूहमा ह्वावे पनि प्रवेश गरेको छ।

मेट ६० स्मार्टफोनका ८ मध्ये ४ वाटा ‘सिस्टम अन अ चिप’ बेलायती कम्पनी आर्मले गरेको डिजाइनमा आधारित छन्। 

तर, अरु चार सीपीयू भने ह्वावेको आफ्नै डिजाइनमा निर्मित भएको बताइएको छ।

अमेरिकाले प्रतिबन्ध लगाएर आधुनिक चिपहरुमा ह्वावेको पहुँच बन्द गरिदिएपछि यो कम्पनी २०१९ देखि नै संघर्षरत छ। ह्वावेले फाइभजी स्मार्टफोन बनाउन नपाओस् र विश्वमा बजार विस्तार गर्न नसकोस् भनेर अमेरिकाले यस्तो प्रतिबन्ध लगाएको थियो। 

जसका कारण ह्वावे केही वर्ष फोरजी ग्याजेट बेच्न तथा घरेलु बजारमै केन्द्रित हुन बाध्य भयो। 

तर, अहिले प्रतिबन्धका बाबजुद आफ्नै सेमिकन्डक्टर विकास गर्न यो कम्पनी सफल भएको छ।

यसले एप्पलको सिलिकन इनिसियटिभजस्तै रणनीति ह्वावेले अख्तियार गरेको देखिन्छ। एक दशकभन्दा लामो समयदेखि एप्पलले आर्मको डिजाइनलाई सुधार गरेर आफ्नो फोन र म्याकबुकमा प्रयोग गर्दै आएको छ। जसको प्रदर्शन अरुको भन्दा राम्रो हुने गरेको छ।

तर, यसमा जटिलता, ठूलो लागत र इन्जिनियरिङ स्रोतको अभावका कारण सीमित कम्पनी मात्रै सेमिकन्डक्टर विकासमा लाग्न सक्छन्।

ह्वावेले आफ्नो सर्भरमा प्रयोग भएको सीपीयू कोर डिजाइनको नक्कल गरेर फोन प्रोसेसर बनाएको बताइएको छ। एप्पलले भने आईफोनको प्रोसेसरलाई विकास गरेर म्याक कम्प्युटरको चिप बनाएको थियो 

तर, अमेरिकी प्रतिबन्धका कारण अति क्षमतावान चिप भने ह्वावेले अझै बनाउन नसक्ने विश्लेषण गरिँदै आएको छ। 

केहीले ह्वावेको सेमिकन्डक्टरको क्षमता अमेरिकाको प्रमुख मोबाइल चिपमेकर क्वालकमभन्दा एकदेखि दुई वर्षले पछाडि छ। 

‘ह्वावे सबैभन्दा जोखिमपूर्ण तत्व विस्थापित गर्न सफल भएको छ,’ कम्पनीको चिप डिजाइनबारे जानकार एक व्यक्तिको भनाइ फाइनान्सियल टाइम्सले उधृत गरेको छ, ‘यो प्रयास सराहनायोग्य छ। तर, जितको दाबी गर्न पर्याप्त भने छैन।’ एजेन्सी  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .