ad ad

प्रविधि


टिकटक बन्द गर्दा बालेन खुसी कि बेखुसी?

टिकटक बन्द गर्दा बालेन खुसी कि बेखुसी?

नेपालखबर
कात्तिक २८, २०८० मंगलबार १३:३८, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन ) ले टिकटकमा विकृति, विसंगति देखिए पनि यो बन्द नै गर्ने निर्णय उचित नभएको बताएका छन्। तर घुमाउरो किसिमले उनले सरकारको उक्त निर्णयप्रति खुसी पनि व्यक्त गरेको देखिन्छ। 

सामाजिक सद्‌भाव र पारिवारिक एकता खलबल्याउने काम गरेको भन्दै सरकारले सोमबार नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ।  टिकटकलाई करको दायरामा ल्याउने र टिकटकमार्फत सामाजिक सद्‌भाव बिगार्नेलाई कारबाही गर्ने संयन्त्र बनाउन सरकारलाई सुझाव दिँदै मेयर बालेन्द्रले पुनः मर्यादित किसिमले टिकटक चलाउन पाइने अपेक्षा गरेका छन्। 

‘अब नेपाल सरकारलाई मेरो अनुरोध– टिकटक मात्र हैन, अन्य सामाजिक सञ्जालहरूलाई अनुगमन, नियम र करको दायरामा ल्याउने प्रयास गर्दा राम्रो होला। अब भनेको करको दायरामा ल्याउने र टिकटकमार्फत सामाजिक सद्‌भाव बिगार्नेलाई कारबाही गर्ने संयन्त्र विकास गर्ने हो, अहिले जस्तो बन्द नै गर्ने होइन। बन्द समाधान होइन’, मेयर शाहले मंगलबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अब यो बन्दलाई टिकटक सङ नियमन गर्नलाई दह्रो आधार बनोस्। मर्यादित भएर फेरि टिकटक चलाउन पाइयोस्।’

यस क्रममा उनले आफ्नो नाममा टिकटकका फेक आईडी बनाएर आफूलाई हैरानी दिइएको गुनासो पनि गरेका छन्। यस्ता फेक आईडी बन्द गर्न आफूले टिकटक तथा सम्बन्धित निकायलाई बारम्बार अनुरोध गर्दा पनि कुनै सुनुवाइ नभएको उल्लेख गरेका छन्। 

‘यदि तपाई्रहरू टिकटक चलाउनुहुन्थ्यो भने धेरैपटक मेरो केही समय पहिलेको भिडिओ दुरुपयोग गरेर टिकटक लाइभ गरेको देख्नुभयो होला। केही समय यता मेरो नाममा यस्ता धेरै फेक आईडी बनेका छन्। जसले मिथ्या सूचना प्रसारण गरेका पनि छन्’, उनले लेखेका छन्, ‘हामीले यस्ता फेक आईडी बन्द गर्न टिकटकलाई पटक पटक अनुरोध गर्‍यौँ। नेपाल प्रहरीको साइबर ब्युरोमा पनि गुहार्‍यौँ। नेपाल दूरसञ्चार प्राधिकरण पनि गुहार्‍यौँ। सबैले प्रयास गर्दा पनि टिकटकले यस्ता फेक आईडी हटाउने र मिथ्या सूचना रोक्ने  कुरामा ध्यान नदिएको अवस्था थियो।’ 

आफ्नो नाममा बनाइएको धेरै फेक आईडीका कारण शुभचिन्तकहरूले दुःख पाएको उल्लेख गर्दै बालेन्द्रले अघि भनेका छन्, ‘तर यो भन्दैमा अहिले जस्तो टिकटकलाई बन्दै गर्नुपर्छ भन्ने हैन।’ 

उनका अनुसार यसले  विकृति ल्याएको मात्र छैन, धेरै नयाँ उद्यमीलाई आफ्नो बजार प्रवर्द्धन गर्ने थलो पनि भएको छ टिकटक। उनी भन्छन्, ‘साथै मौका नपाएका प्रतिभाहरूलाई आफ्नो प्रतिभा देखाउने ठूलो प्लाटफर्म भएको छ। यति मात्रै हैन, टिकटकले नेपाली गीत–संगीतलाई अन्तर्राष्ट्रियकरण गर्न मद्दत गरेको पनि छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .