समाज


हरि खड्काको बयानः परीक्षा दिएरै आईए पास गरेको हुँ, प्रमाण पत्र जल्यो

हरि खड्काको बयानः परीक्षा दिएरै आईए पास गरेको हुँ, प्रमाण पत्र जल्यो

उजिर कार्की
माघ १३, २०७८ बिहिबार १९:४३, काठमाडौँ

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्का नक्कली प्रमाण पत्रको मुद्दामा मुछिएका छन्। उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीमा जागिर खाँदा नक्कली प्रमाण पत्र पेस गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। 
अभियोग पत्रमा नक्कली प्रमाण पत्र पेस गरेर जागिर खाएर खड्काले सरकारलाई हानिनोक्सानी पुर्याएको तथा आफूलाई लाभ हुने गरी बदनियतपूर्ण काम गरेको भन्दै भ्रष्टचार निवारण ऐन अनुसार कारबाही माग गरिएको छ। 

खड्काले भने अख्तियारको बयानमा नक्कली प्रमाण पत्रबारे इन्कारी बयान दिएका छन्। खड्का २०५३ मंसिर १४ गते तत्कालीन मध्य क्षेत्रीय तालिम केन्द्र चितवनबाट जवानमा भर्ना भएका थिए। उनले त्यतिबेलै शैक्षिक योग्यता महलमा आईए भन्ने उल्लेख गरेको खुलेको छ। 

२०५५ कात्तिक १ गते असईमा भर्ना हुँदा आईएको माध्यामिक शिक्षा परिषद् उत्तरप्रदेश वाराणासीबाट उत्तीर्ण गरेको प्रमाण पत्र पेस गरेका थिए।

सोही प्रमाण पत्र पेस गरेर असईमा भर्ना भएका खड्का २०५९ पुस १४ गते सईमा बढुवा भएका थिए। प्रहरी सेवाको १९ वर्ष पुगेपछि पेन्सन भइसकेका खड्काले २०७२ असार २२ गते घरायसी कारण देखाउँदै राजीनामा दिएका थिए। सोही असार ३१ गतेबाट लागू हुनेगरी प्रहरी प्रधान कार्यालयले उनको राजीनामा स्वीकृत गरेको थियो। 

खड्काले आफ्नो प्रमाण पत्रबारे प्रश्न उठ्न थालेपछि राजीनामा दिएको सुरक्षा श्रोत बताउँछ। उनी प्रहरी निरीक्षकमा बढुवाको नजिक भए पनि राजीनामा दिनुलाई सोही कारण भएको अनुमान प्रहरीहरुकै छ। 

उनीविरुद्ध अख्तियारमा उजुरी परेपछि अख्तियारले उनका प्रमाण पत्र छानबिन थालेको थियो। अख्तियारले उनले प्रमाण पत्र पेस गरेको भारतको विद्यालयमा समेत पत्राचार गरेको थियो। विद्यालयले खड्काले पेस गरेको ९०३६७९ नम्बरको प्रमाण पत्रबारे विवरण अपुष्ट भन्दै जवाफ लेखेको छ। 

यस्तै प्रहरी प्रधान कार्यालयसँग पनि खड्काका प्रमाण पत्रबारे अख्तियारले पत्र पठाएको थियो। प्रहरी प्रधान कार्यालयले खड्काले भर्ती हुने बेलामा पेस गरेको विवरण र सबै कागजातका प्रतिलिपि अख्तियारलाई उपलब्ध गराएको हो। 

यस्तै अख्तियारले खड्कासँग पनि सोधपुछ गरेको थियो। सोधपुछमा खड्काले आफ्नो कोठामा आगलागी भएको बताएपछि आगलागी भएको मुचुल्का र सन् १९९५ को प्रवेश पत्र पेस गर्न पत्राचार गरेको थियो। 

जवाफमा खड्काले आगलागी हुँदा प्रहरी मुचुल्का नगरेको भन्दै प्रहरी मुचुल्का उपलब्ध गराउन नसक्ने बताएका थिए। प्रवेश पत्र पनि त्यतिबेलै जल्यो वा हरायो भयो एकिनसाथ ठम्याउन सकिनँ भन्दै पत्रको लिखित जवाफ दिएका थिए। 

विशेष अदालतमा अभियोग पत्र दायर गर्नुपहिले अख्तियारले खड्कालाई बोलाएर बयान समेत लिएको थियो। अख्तियारमा उनले दिएको बयान यस्तो छः

म २०५३ सालमा फुटबल खेलाडीको रुपमा भर्ना भई नेपाल प्रहरीको तत्कालीन महेन्द्र पुलिस क्लब हाल नेपाल पुलिस क्लबमा फुटबल खेल्दै २०५५ सालमा सहायक निरीक्षक पदमा र २०५९ सालमा प्रहरी नायब निरीक्षक पदमा बढुवा भएको हुँ। 

मैले जति समय प्रहरी सेवामा बिताएँ, त्यो नेपाल प्रहरी केन्द्रीय खेलकुद समितिमा रही नेपाल पुलिस क्लबबाट खेली सेवा गरेँ। मैले आईए परीक्षा प्राइभेट रुपमा माध्यामिक शिक्षा परिषद उत्तरप्रदेश वाराणासीबाट पास गरेको हो। मैले उक्त परीक्षा उहीँ गएर दिएको हुँ। उक्त प्रमाणपत्रको सक्कल प्रति २०६१ सालमा मेरो घरको कोठामा आगो लागी जलेको हुँदा हाल पेस गर्न सक्दिनँ। 

म प्रहरी सहायक निरीक्षक नियुक्त हुँदा मैले पेस गरेका मिसिल संलग्न प्रमाणहरु हेरेर चिनेँ। मैले पेस गरेका प्रमाणपत्रहरु तिनै हुन्। मैले सन् १९९५ माध्यामिक शिक्षा परिषद् उत्तरप्रदेश वाराणासीबाट प्राइभेटतर्फ परीक्षा दिई द्वितीय श्रेणीमा उत्तीर्ण भएको प्रमाण पत्र परीक्षा दिई ल्याएको हुँ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .