समाज


कैदी परियारले भाग्नुअघि प्रहरी भुल्याउन ६० हजार दिन्छु भनेर बोलाएका थिए युवती

कैदी परियारले भाग्नुअघि प्रहरी भुल्याउन ६० हजार दिन्छु भनेर बोलाएका थिए युवती

उजिर कार्की
माघ १८, २०७८ मंगलबार २२:१८, काठमाडौँ

जिल्ला कारागार घोराही दाङका कैदी यमराज परियारले पहिल्यैबाट भाग्ने योजना बनाएको खुलेको छ। यसका लागि उनले युवतीहरुलाई प्रयोग गर्न पहिलेदेखि नै फोन गरेको खुलेको हो। तर युवती आउन नमान्दा केही दिन ढिला भएको अनुसन्धानका क्रममा खुलेको छ।  

कर्तव्य ज्यानको मुद्दामा २० वर्ष कैद सजाय भएका परियार २०७२ भदौ १६ गतेदेखि कैद भुक्तान गरिरहेका छन्। पछिल्लो समय उनी कारागारको दाइ नाइके भई काम गर्दै आएका थिए। 

दाङको राजपुर गाउँपालिका ३ का २९ वर्षीय परियार २०७८ पुस ८ गते बिहान ११ बजेको समयमा छालासम्बन्धी बिरामी भएको भन्दै कारागारबाट अनुमति लिएरै बाहिर निस्किएका थिए। प्रहरी जवान धनबहादुर चौधरीसँग उपचारका लागि कारागारबाट पत्र पाए पनि सुरक्षा निकायले भने हिसाब मिलानका लागि लैजानु भनेको जवान धनबहादुरले बयानका क्रममा बताएका छन्। 

फरार भएका परियारलाई प्रहरीले पुनः पक्राउ गरिसकेको छ। उनीसँगै गएका प्रहरी जवान चौधरी र २२ वर्षीया युवतीलाई जिल्ला अदालत दाङले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गराउन भन्दै हिँडेका कैदी र प्रहरी घोराही बजारको बीपी चोकस्थित थकाली भान्सा घर एन्ड लजमा पुगेका थिए। त्यहाँ कैदी परियारले दुई जना युवती बोलाएका थिए। 

युवतीलाई ६० हजार रुपैयाँ दिने भन्दै बोलाएको खुलेको छ। बयानका क्रममा कैदी परियार र युवतीहरुले समेत यस्तो स्वीकार गरेका हुन्। 

यमराजलाई कारागारले मोबाइल चलाउन र बारम्बार बाहिर जान दिने गरेको देखिएको छ। करिब एक महिनापहिले पनि उनी प्रहरी हवल्दार गणेश चौधरीसँग बाहिर गएका थिए। 

यस पटक बाहिर पठाउँदा उनै हवल्दार चौधरीले घोराही बजारको गल्ला मण्डीमा लिएर जाऊ, हिसाब गराएर ल्याउ भन्दै जवानलाई पठाएका थिए। 

त्यसपछि उनीहरु प्याराडाइज होटलमा पुगे। होटलमा उनीहरुले कफी पिए। होटलसम्म जाँदा प्रहरी जवानले र होटलबाट निस्कने क्रममा कैदी परियारले मोटरसाइकल चलाए। त्यसपछि उनीहरु कारागारमा तरकारी पठाउने पसलेकोमा पुगे। त्यसपछि तुलसीपुर चोकनजिक पुगेर मोटरसाइकलमा स्टिकर टाँसे। कैदी परियारले मोटरसाइकलमा स्टिकर टाँसेर फर्किने क्रममा युवतीलाई फोन गरेर बोलाए। 

ती युवतीसँग कैदी परियारले पहिल्यै कुरा मिलाइसकेको खुलेको छ। दुवै युवतीलाई ५० देखि ६० हजार रुपैयाँ दिने बताएर बोलाएको युवतीको बयान छ। त्यसबापत प्रहरी जवान चौधरीसँग शारीरिक सम्पर्क राख्नुपर्ने सर्त परियारले पहिल्यै राखेका थिए।

जवान चौधरीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका दुई जना नर्सहरु आउँदैछन् भनेर आफूलाई पर्खाएको बताएका छन्। 

त्यसपछि उनीहरु होटलमा पुगे। दिउँसो १ बजेको थियो। 

दुई जना युवतीलाई पनि होटलमै बोलाए। ती युवतीहरुसँग कैदी परियार र जवान चौधरीले मासु चिउरा खाए। त्यसपछि कैदी परियारले जवानलाई ‘भाइ तपाईं एक जना केटीसँग माथिल्लो तलामा बस्नु’ भन्दै तेश्रो तलाको कोठामा लगे। अर्की युवतीसँग उनी तल्लो तलामा झरे।

यमराजले प्रहरी र युवतीलाई कोठामा छाड्ने बेलामा ‘डन्ट डिस्टर्ब, नो एसएएस, नो कल’ भनेको युवतीले बताएकी छन्। होटलमा प्रहरी जवान र ती युवतीको बीचमा शारीरिक सम्पर्क समेत भएको थियो। उनीहरुलाई परियारले नै एक घण्टापछि निस्कनु भनेका थिए। २ बजेतिर उनीहरु निस्कन खोज्दा ढोकाको बाहिरबाट चुकुल लगाइएको थियो। 

यमराजसँग बस्ने भनेकी युवतीलाई प्रहरीसँग भएकी युवतीले फोन गरिन्। तर तल्लो तलामा पनि ती युवतीलाई यमराजले बाहिरबाट चुकुल बन्द गरेको खुलेको छ। 

पछि कैदीसँग बसेकी युवतीले गएर कोठा बाहिरबाट लगाएको चुकुल खोलिदिएको बयानमा बताएकी छन्। 

कैदी परियार युवतीलाई ट्राफिक प्रहरी कार्यालय पुगेर आउँछु भन्दै गएका थिए। आधा घण्टामा पनि उनी नफर्किएपछि प्रहरी जवानले फोन गरे। तर उनले फोन उठाएनन्। 

पछि मोबाइल अफ भन्न थाल्यो। ४ बजे मात्रै जवान चौधरीले जेलका सुरक्षा इन्चार्ज प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेनलाई खबर गरेका थिए। सेनले जवान चौधरीलाई जसरी पनि खोजेर ल्याउनू भन्दै आदेश दिए। तर चौधरीले उनलाई नभेटेको भन्दै कार्यालय पुगेलगत्तै उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो। 

अदालतले उनको लापरबाही देखिएको भन्दै पुर्पक्षका लागि थुनामा पठाएको छ। प्रहरी जवानसँग राखिएकी युवती र परियारको बीचमा २०७४ सालदेखि नै चिनजान भएको पाइएको छ। ती युवतीका भाइ पनि कारागारमै छन्। भाइ भेट्न जाने क्रममा यमराजसँग चिनजान भएको उनले बताएकी छन्। त्यसयता उनीहरुको टेलिफोनमा नियमित जस्तो कुरा हुने गरेको खुलेको छ। 

यमराज भाग्नुपहिले पुस ३ गतेबाटै उनले ती युवतीलाई भेट्न बोलाएका थिए। ७ गते नै यमराजले ती युवतीलाई फोन गरेर भोलिपल्ट बोलाएका थिए। यमराजले अर्को पनि साथी लिएर आऊ भनेपछि उनले ब्युटीपार्लर सिक्दै गरेकी अर्की युवतीलाई ल्याएकी थिइन्। उनलाई पनि ५०÷६० हजार रुपैयाँ दिने भनेको खुलेको छ। 

यमराज भागेपछि दुवै युवती घर फर्किएका थिए। पछि उनीहरु पनि भाग्ने बेलामा सँगै रहेको खुलेपछि प्रहरीले पक्राउ गरेको थियो। अहिले प्रहरीसँग बसेकी युवती थुनामा भए पनि यमराजसँग होटलमा बसेकी युवती भने छुटेकी छन्। 

प्रहरीको मोटरसाइकलमा भागेका यमराजलाई भने प्रहरीले भारतबाट पक्राउ गरेर ल्याइसकेको छ। भागेकै कारण उनलाई ७ वर्ष कैद थपिने छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .