समाज


कैदी भगाउने जेलरलाई बचायो गृहले, यस्तो थियो यमराजसँगको ‘कनेक्सन’

कैदी भगाउने जेलरलाई बचायो गृहले, यस्तो थियो यमराजसँगको ‘कनेक्सन’

उजिर कार्की
माघ १९, २०७८ बुधबार २१:१२, काठमाडौँ

दाङको कारागारबाट कैदी भगाउन मुख्य भूमिका खेलेको अनुसन्धानबाट पुष्टि भए पनि जेलर युवराज परियारलाई कुनै कारबाही नगरी छाडिएको छ। कैदी भगाउनमा उनको संलग्नता पुष्टि भए पनि गृह मन्त्रालयकै दबाबमा उनलाई कारबाही नभएको खुलेको हो। 

जेलर युवराज परियारलाई प्रहरीले पक्राउ गरेर चार दिन हिरासतमा समेत राखेको थियो। तर उनलाई मुद्दा चलाउनका लागि कारागार व्यवस्थापन विभागले स्वीकृति नदिएपछि उनलाई छाडिएको खुलेको हो। 

कारागार व्यवस्थापन विभागले पनि गृह मन्त्रालयलाई आवश्यक कारबाहीका लागि अनुमति माग गर्दै पत्राचार गरेको थियो। विभागको पत्रलाई बेवास्ता गर्दै गृहले नै जेलर परियारलाई बचाएको पुष्टि भएको हो। 

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोख्रेलले यसबारे आफूलाई जानकारी नभएको बताए। उनले कारबाही गर्नै पर्ने देखिए कारबाही हुने जवाफ दिए। 

पुस १६ गते यससम्बन्धी अभियोग पत्र पेस गरिएको थियो। युवराज परियार नेपाल सरकारको कर्मचारी र घोराही दाङको कार्यालय प्रमुख (जेलर) भएकोले उनको हकमा मुद्दा चलाउन मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५२(४) बमोजिम विभागीय स्वीकृति चाहिन्छ।

स्वीकृतिका लागि घोराही कारागारले चलानी नम्बर ११०१ को पत्रबाट कारागार व्यवस्थापन विभाग काठमाडौंमा पत्र पठाएको थियो। तर विभागले स्वीकृति नदिएपछि उनीविरुद्ध मुद्दा चल्न नसकेको हो।

कारागार व्यवस्थापन विभागका निर्देशक लक्ष्मण ढकालले आवश्यक कारबाहीका लागि विभागले गृह मन्त्रालयमा लेखी पठाएको जानकारी दिए। तर गृह मन्त्रालयले त्यसमाथि कुनै निर्णय विभागलाई दिएको छैन। 

यता जेलर हुँदै पक्राउ परेका युवराज परियारलाई भने जिल्ला प्रशासन कार्यालय रोल्पामा सरुवा गरिसकेको खुलेको छ। रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले परियार प्रशासकीय अधिकृतको जिम्मेवारीसहित कार्यालयमा हाजिर भइसकेको जानकारी दिए। 

जेलर युवराज र कैदी यमराजबीचको कनेक्सन 
२०७८ भदौ २२ गते मकवानपुरको भीमफेदी कारागारबाट कर्तव्य ज्यान मुद्दाका कैदी रिगल ढकाललाई घोराही कारागारमा सरुवा गरियो। त्यतिन्जेल घोराही कारागारको ए ब्लकको चौकीदार यमराज परियार थिए। तर, ढकाल त्यहाँ सरुवा भएपछि कारागार व्यवस्थापन विभागले ढकाललाई नै चौकीदार तोक्दै पत्र पठायो। 

यमराज चौकीदारबाट हटाइए। चौकीदारबाट उनी हटेपछि सुरक्षाकर्मीले कारागारबाट बाहिर जान रोक लगाए। चौकीदार बाहिर निस्कन पाउने भए पनि नाइके जान मिल्दैन। 

प्रहरीले यमराजलाई बाहिर निकाल्न बन्द गरेपछि जेलर युवराज परियारले किन यमराजलाई बाहिर ननिकालेको भन्दै प्रहरीलाई सोधे। प्रहरीले नमिल्ने जवाफ दिए। 

जेलर युवराज परियारले नै यमराजलाई आन्तरिक कामकाजका लागि बाहिर निकाल्नू भन्दै प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेनलाई पत्र थमाएका थिए। नियम विपरीत हुने भन्दै असइ सेनले तीन दिनसम्म उक्त पत्र नै बुझेका थिएनन्। तर, जेलर परियारले मेरो आदेश नमान्ने भन्दै असइलाई फेरि थर्काए।

जेलर परियारकै दबाबमा प्रहरीले यमराजलाई बाहिर निस्कन दिन थालेको थियो। कैदी थुनुवाहरु बाहिर गएमा तथा बाहिरबाट भित्र आएमा अभिलेख राख्ने काम जेलर युवराजले यमराजलाई लगाए। 

कैदी तथा थुनुवालाई उपचारको लागि लैजाँदा पत्र बनाउने काम यमराजले गर्थे। यमराजसँग आफ्नै सिमकार्ड र मोबाइल समेत थियो। कैदीले यसरी मोबाइल चलाउन पाउँदैनन् तर कारागारको बाहिरी कम्पाउन्डमा उनलाई मोबाइल चलाउन जेलर परियारले छुट दिएका थिए। 

गत साउनपछि मात्रै उनलाई उपचारका लागि भन्दै ६ पटक कारागार प्रशासनले बाहिर पठाएको देखिएको छ। साउन १५ गते, भदौ ७ गते, भदौ १० गते, भदौ २१ गते, मंसिर १४ गते र पुस ८ गते उनलाई उपचार गराई फिर्ता ल्याउनू भनेर जेलर परियारले सुरक्षाकर्मीलाई पत्र पठाएको भेटिएको छ।

कारागार प्रशासनको आन्तरिक बैठकमा समेत जेलर परियारले कैदी यमराजलाई सहभागी गराउँथे। एउटा बैठकमा कार्यालयका खरिदार दीपक वलीले कार्यालयको स्टाफ मिटिङमा कैदी राख्न नहुने भन्दै प्रश्न उठाएका थिए। तर, युवराजले उनलाई कर्मचारी सरह छुट दिन्थे। 

यमराज परियारले ए ब्लकको चौकीदार हुँदा कैदीहरुसँग मुद्दा मिलाइदिन्छु भनी पैसा समेत लिएको खुलेको छ। 

कारागारको जेलर मेरो दाइ हुन् भन्दै यमराजले अरु कैदीसँग पैसा लिएको देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। उनले जेलर युवराज परियारलाई बोलाउँदा पनि दाइ नै भनेर सम्बोधन गर्थे। 

यमराज हरेक दिन बिहान १० बजे बाहिर निस्किन्थे र बेलुकाको कैदी तथा थुनुवाहरुको गन्ती गर्ने समयमा मात्रै भित्र जान्थे। यमराजलाई बाहिर निस्किएपछि कारागारका जेलर युवराजले कार्यालयको काममा खटाउने गरेका थिए। धेरैजसो यमराज र जेलर युवराज सँगै बस्ने गरेको कारागारका कर्मचारीले बताएका छन्। 

जेलर परियार पुस ५ गते बिदामा गएका थिए। सुब्बा चित्रबहादुर डाँगीलाई निमित्त कार्यालय प्रमुखको पत्र बुझाए पनि उनले कति दिन बिदामा हो भन्ने उल्लेख गरेका थिएनन्। 

तर ८ गते बिहानै उपस्थित भएर यमराजलाई अस्पताल पठाउने कागजात तयार गरिदिए। यमराजलाई किन अस्पताल लैजानु पर्ने भन्ने खुलेको थिएन। कारागारभित्रैका स्वास्थ्यकर्मीसँग समेत उनले कुनै राय नलिएको पुष्टि भएको छ।

यस्तै असइ सेनले युवराजले नै यमराजलाई मोटरसाइकलमा पठाउन र अर्को गाडी लानु पर्दैन भनेको सेनले बयानका क्रममा बताएका छन्। 

मोटरसाइकलमा कैदी बोकेर सादा पोसाकमा हिँडेका प्रहरी जवान चौधरीसँग कुनै हतियार समेत थिएन। जवान चौधरीले यमराजलाई उपचारका लागि भनेर होटल, तरकारी मण्डीतिर लगेको अनुसन्धानमा खुलेको हो। 

जेलर युवराजले बिरामी नै नभएका कैदी यमराजलाई उपचारको लागि पठाएको अनुसन्धानको निष्कर्ष छ। 

असइ सेनले पनि उपचारका लागि सुरक्षा व्यवस्था मिलाई हातहतियार सहित पठाउनु पर्नेमा त्यसो नगरेको भन्दै उनको पनि लापरबाही भएको खुलेको छ। 

जेलर समेतको मिलेमतोमा भागेका कैदी यमराजलाई प्रहरीले भारतबाट माघ १० गते पक्राउ गरी ल्याएको छ। यस्तै उनलाई भगाएको आरोपमा प्रहरी जवान धनबहादुर चौधरी र एक युवतीलाई पनि अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। तर जेलर युवराजलाई भने कुनै कारबाही भएको छैन। उनलाई गृह मन्त्रालयले सीडीओ कार्यालयमा जिम्मेवारी दिइसकेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .