समाज


तीन व्यवसायीको हत्याः भारततिर उम्किसकेका अभियुक्त यसरी परे पक्राउ

पहिले खाल्डो तयार गरेर हत्या
तीन व्यवसायीको हत्याः भारततिर उम्किसकेका अभियुक्त यसरी परे पक्राउ

उजिर कार्की
माघ २३, २०७८ आइतबार २१:२३, काठमाडौँ

मोरङ र ललितपुरमा भएको तीन व्यवसायीको हत्याका मुख्य योजनाकार अनिल मण्डललाई अपराध महाशाखाले तीन दिनपहिले नै पक्राउ गरिसकेको थियो। तर उनले हत्या गरेको स्वीकार गरिरहेका थिएनन्। 

यहीबीचमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गर्‍यो। मोरङको जहदा गाउँपालिका–४ सिस्वनीका अमित साह भनिने दीनानाथ सोनार र मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरका ६२ वर्षीय नासिर आलम मोरङमा पक्राउ परे।

पक्राउ परेका उनीहरुले भने अपराध स्वीकार गरिसकेका थिए। तर यो सबै अनिलको योजना अनुसार भएको बताए। यति मात्रै होइन यो घटनामा ककसको संलग्नता रहेको भन्ने पनि खुलाइदिए।

तर, ती सबैलाई उनीहरुले चिनेका थिएनन्। उनीहरुलाई काम लगाउने अनिलले भने महाशाखासँग संलग्नता अस्वीकार गरिरहेका थिए। त्यसपछि सबै अभियुक्तलाई एकै ठाउँमा राखेर सोधपुछ गर्न बिहीबार बिहान अनिललाई पनि मोरङ लगियो। मोरङमा आफैँले पैसा दिएर हत्यामा प्रयोग परेका व्यक्तिहरु देखेपछि उनले ढाकछोप गर्न सकेनन्। 

उनले मोरङमा राजेन्द्रकुमार श्रेष्ठ र शम्भुकुमार चौधरीको हत्या गरेको स्वीकार गरे। हराइरहेका भनिएका अर्का व्यवसायी मोहन लिम्बुको पनि हत्या गरिसकेको बताए। मोहनको हत्या ललितपुरमै भएको रहेछ। 

गोदावारी नगरपालिका १२ थेचोमा अनिलले भाडामा लिएको घरको कम्पाउन्डभित्रै गाडिएको शव देखाइदिए। 

त्यसैको आधारमा मोरङ प्रहरीको टोली र अपराध महाशाखाको टोली घटनास्थल पुग्यो र शव उत्खनन् गर्‍यो। 

यता मोहन लिम्बुको शव उत्खनन् भइरहँदा मोरङ प्रहरी भने हत्यामा संलग्न अन्य व्यक्तिहरु पक्राउ गर्ने उपाय लगाइरहेको थियो। मोरङ प्रहरीले अनिलमार्फत उनीहरुलाई पक्राउ गर्न खोजेको थियो। 

प्रहरी हिरासतमा रहेका अनिलले भारतीय अभियुक्तहरुलाई टेलिफोन गरे। हत्या गरेबापतको सुपारी लिन बोलाए। हत्यापछि भारत भागेका तीन जनाले केही रकम लिन बाँकी थियो। उनीहरुले ३२ हजारका दरले लिएका थिए। प्रतिव्यक्ति ४५ हजार रुपैयाँ र लागेको खर्च दिन्छु भनेर अनिलले उनीहरुलाई बोलाएका रहेछन्। 

‘खाल्डो खन्ने र शव पुर्नेलाई ४० हजारका दरले दिएर लगाएका रहेछन्,’ मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले भने, ‘कोहीले सबै रकम पाइसकेका रहेछन्। तर भागेकाहरुले केही रकम लिन बाँकी रहेछ।’

त्यही रकम लिन बोलाएर पक्राउ गर्ने प्रहरीको योजना थियो। सुरुमा उनीहरुले भारत नै ल्याइदिन भने। प्रहरीको नियन्त्रणमा रहेका अनिलले प्रहरीले भने अनुसार टेलिफोनमा कुरा गरे। 

अन्तिममा अनिलले सीमासम्म पुर्‍याइदिने र उनीहरु त्यहाँसम्म लिन आउने सहमति भएको थियो। त्यही रात प्रहरी अनिललाई बोर्डरसम्म लगेर भारत भागेका अभियुक्तहरुलाई पनि पक्राउ गर्ने योजना बनेको थियो। 

तर ललितपुरमा शव उत्खनन् गर्दागर्दै हत्यामा संलग्न तीन जना पक्राउ परिसकेको सूचना सार्वजनिक भयो। पैसा लिन बोर्डरसम्म आउन सहमत भइसकेका अभियुक्तहरु त्यसपछि भने सम्पर्कविहीन भए। 

पन्जामा पर्न लागेका अभियुक्तहरु फुत्किएपछि प्रहरीले अर्को तरिका प्रयोग गर्न थाल्यो। मोबाइल अफ गरेर सम्पर्कविहीन भएकाहरुले भोलिपल्ट फेरि मोबाइल चलाउन थाले।

प्रहरीले दोश्रो प्रयास सुरु गर्‍यो। उनीहरुको नजिककैलाई प्रयोग गरेर पक्राउ गर्ने प्रहरीको योजना थियो। अनिलले बाँकी रकम दिइसकेको र त्यो रकम दिनु भनेकाले आफूले ल्याइदिएको बताउँदै आफन्तैलाई प्रहरीले प्रयोग गर्यो। 

यो उपायले यस पटक काम गर्यो। सीमासम्म पैसा लिन उनीहरु आउने भए। प्रहरीले आफन्तलाई लिएर सीमासम्म पुग्यो र फन्दामा पार्यो। 

त्यसअघि नै मोरङ प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरेर तीन जना पक्राउको जानकारी दिइसकेको थियो। उनीहरुलाई तत्काल सार्वजनिक गर्ने योजना नै थिएन। 

सूचना लिक भइसकेपछि पत्रकार सम्मेलन गरिएको थियो। तर घटनामा कति संलग्न थिए, कति फरार छन् भन्नेबारे प्रहरीले खुलाएन। अझै एक जना फरार रहेको मोरङ प्रहरी बताउँछ। 

एसपी जिसीले भने, ‘लगभग घटना अब सल्टियो। अहिलेसम्म खुलेका एक जना मात्रै फरार छन्। अनुसन्धानका क्रममा अरु देखिए फरक कुरा भयो। तर अहिलेसम्म एक जना मात्रै फरार छन् र उनी पनि नेपाली नै हुन्।’

शुक्रबार पक्राउ पर्नेमा रंगेली नगरपालिका आमतोलाका ३३ वर्षीय मोहमद सुभाम र सुनसरी देवागन्ज गाउँपालिका जिरोगौवाका १८ वर्षीय मोहमद हकिम हुन्। सुभाम भारतीय भए पनि विवाह गरेर नेपालमै बस्दै आएका थिए। 

प्रहरीका अनुसार हत्या गर्ने मुख्य पात्र उनीहरु नै हुन्। यसअघि पक्राउ परेका मोरङको धनपालथान गाउँपालिका ७ कमलपुरका ६२ वर्षीय नासिर आलम मिस्त्री हुन्। खाल्डो खनेर पुर्न उनैलाई प्रयोग गरिएका थियो। मोरङको जहदा गाउँपालिका ४ सिस्वनीका अमित साह भनिने दीनानाथ सोनार पनि पक्राउ परेका छन्। 

पहिले खाल्डो तयार अनि हत्या
यही समूह ललितपुर पनि आएको अनुसन्धानमा खुलेको छ। उनीहरु मंसिर २८ अघि नै ललितपुर आएका थिए। पहिल्यै खाल्डो तयार गरे। खाल्डो खनेर पुर्नका लागि आवश्यक सामाग्री पहिले नै तयार गरेर लिम्बुको हत्या गरिएको खुलेको छ। 

मोरङमा पनि त्यसै गरिएको थियो। काठमाडौँमा लिम्बुको हत्या गरेपछि त्यसै साँझ उनीहरु विराटनगर फर्किएका थिए। अनिल र अन्य साझेदारहरु भने भोलिपल्ट त्यता लागे। 

हत्या गरिएका मोहन पनि विराटनगर जाने सल्लाह भएको थियो। उनीहरुको कारोबारको हिसाबकिताब मिलाउन बाँकी देखिएको प्रहरी बताउँछ। उनीहरुले मोरङका केही स्थानमा जग्गा हेर्ने पनि सल्लाह गरेका थिए। त्यो जग्गाबारे अनिलले नै जानकारी दिएका थिए। सुरुमा होटलमा बस्दै हिसाबकिताब गर्न खोजे। तर बाँडफाँट मिलेन।

राजेन्द्रले भने, ‘होस् अहिले छाडिदिम् मोहन दाइ आएपछि मिलाउँला।’ 

राजेन्द्र र शम्भुलाई मोहन आउँछन् नै भन्ने थियो। मोहनसँगै बसेर हिसाबकिताब गर्ने सल्लाह भएपछि उनीहरुलाई अनिलले केही स्थानमा जग्गा देखाउन लगे। बीचमा आफू भने काठमाडौँ पनि फर्किएका थिए। तर पछि फेरि मोरङ पुगे। 

पुस ५ गते धनपालथान ७ मा जग्गा छ भन्दै त्यहाँ राजेन्द्रलाई लिएर पुगे अनिल। घटनास्थल नजिकै पुगेपछि त्यहाँ रहेका युवाहरुसँग चिनजान गराए। आफू र राजेन्द्र अगाडिअगाडि लागे पछिपछि आएका युवाले गम्छाले घाँटी कसेर राजेन्द्रको हत्या गरे। 

नजिकै उखुबारीमा खाल्डो तयार थियो। त्यही समूहले तत्काल खाल्डोमा लग्यो र राजेन्द्रलाई पुर्यो। दुई दिन पछि शम्भुलाई पनि यसैगरी सिध्याए। सोही ठाउँमा जग्गा हेर्न भन्दै लगेर हत्या गरेको प्रहरी बताउँछ। 

हत्यारालाई ३५ देखि ४५ हजार 
तीनै जनाको हत्या गर्ने योजना अनिलले पहिल्यै बनाएको देखिन्छ। त्यहीअनुसार अनिलले मान्छे खोजेका थिए। हत्यामा संलग्नमध्ये कोहीलाई ३५ हजार कोहीलाई ४० हजार र कोहीलाई ४५ हजार दिएको प्रहरी बताउँछ। 

‘अहिलेसम्म ३५ हजारदेखि ४५ हजार रुपैयाँसम्म दिएर हत्या गर्न लगाएको देखिन्छ। यसलाई अब तथ्यले पुष्टि गर्ने काम हुन्छ,’ मोरङका एसपी जिसीले भने। 

उनीहरु हत्यापछि पनि गाउँमै थिए। अनिल पनि आफ्नो व्यवसायमा ढुक्कले लागिरहेका थिए। तर मोरङमा शव फेला परेको घटना बाहिर आएपछि उनीहरुको भागाभाग भयो। कोही भारत पुगे। कोही नेपालमा लुकेर बसिरहेका थिए। 

सुरुबाटै अनिल प्रहरीको निगरानीमा परेका थिए। उनी भने थाहा नपाएको बताउँदै पन्छिन खोजिरहेका थिए। 

तर प्रहरीले उनलाई उम्किन दिएन। अहिलेसम्म व्यवसायको रकम हत्याउन साझेदारलाई मारेको बताए पनि कहाँकहाँ कतिकति रकम हात पार्न लागेका थिए भन्ने अहिले पुष्टि भइनसकेको प्रहरी बताउँछ। 

‘कारोबार धेरै देखिएको छ। कतै लगानीको रकम आउने देखिन्छ। कतै कमिसनको कुरा पनि देखिन्छ। तर यी कारणलाई थप पुष्टि गर्न बाँकी छ,’ एसपी जिसीले भने। 

अनिलले थरीथरीको बयान दिइरहेकाले प्रमाणले पुष्टि गर्नतर्फ लागेको प्रहरी बताउँछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .