समाज


चुनावअघि नै फेरिँदैछन् दुवै प्रहरी प्रमुख, त्यसपछिको नेतृत्वमा को?

उपत्यका र ५ वटा प्रदेशका प्रहरी प्रमुख पनि घर जाँदै
चुनावअघि नै फेरिँदैछन् दुवै प्रहरी प्रमुख, त्यसपछिको नेतृत्वमा को?

उजिर कार्की
माघ २७, २०७८ बिहिबार २२:२, काठमाडौँ

सरकारले वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेको छ। चुनावकै मुखमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व फेरिँदैछ। चुनाव सम्पन्न गराउन प्रहरीको मुख्य भूमिका हुन्छ। 

निर्वाचन हुनुभन्दा १० दिन पहिले नेपाल प्रहरीको नेतृत्व फेरिनेछ भने एक महिना पहिले सशस्त्र प्रहरी प्रमुख पनि घर जानेछन्।

नेपाल प्रहरीका महानिरीक्षक (आईजी) शैलेश थापासँगै डीआईजीमाथिका धेरैजसो पद रिक्त हुँदैछन्। वैशाख १९ गतेदेखि आईजीपी थापासँगै उनको ब्याचका १६ जनाले अवकाश पाउँदैछन्। ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउनेमा ३ एआईजी, १२ डीआईजी र एक एसएसपी छन्। 

२०४९ वैशाख १९ गते प्रहरी निरीक्षकमा भर्ना भएका उनीहरु आउँदो वैशाख १८ गतेसम्म मात्रै प्रहरी सेवामा रहन्छन्। 

आगामी चैत २८ गते सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनालको अवकाश हुँदैछ। उनी चार वर्षे कार्यकाल पुरा गरेर जान लागेका हुन्। उनकै ब्याची सशस्त्रमा हाल कायम दुवै एआईजी पनि त्यसको २१ दिनपछि अवकाशमा जान्छन्।

आईजीपी गएको २१ दिनपछि अवकाश हुने पुष्पराम केसी र रामशरण पौडेल त्यसपछिको आईजीपी भएपनि चुनावसम्म रहँदैनन्।  वैशाख १९ गतेबाट उनीहरु ३० वर्षे सेवाहदका कारण घर जानेछन्।

नेपाल प्रहरीका हाल कायम ५ एआईजीमध्ये ३ र २० डीआईजीमध्य् १२ जना एकसाथ अवकाश हुँदैछन्। 

उपत्यका र ५ वटा प्रदेशका प्रहरी प्रमुख पनि घर जाँदै 
नेपाल प्रहरीको मूल नेतृत्वसँगै उपत्यका प्रहरी प्रमुख र ५ वटा प्रदेशका प्रहरी प्रमुख पनि चुनावअघि नै अवकाश हुँदैछन्। महानगरीय प्रहरी कार्यालयका प्रमुख एआईजी हरिबहादुर पाल अवकाशको नजिक छन्। 

अपराध अनुसन्धान विभाग प्रमुख एआईजी प्रद्युम्नकुमार कार्की र प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रमुख एआईजी निरजबहादुर शाही पनि सोही समयमा अवकाश हुँदैछन्। 

यस्तै १२ डीआईजी अवकाश हुँदा ५ वटा प्रदेशका प्रहरी प्रमुख पनि निर्वाचन नजिकै रिक्त हुने अवस्थामा छन्। 

मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख वैशाख १८ मा विदा हुनेछन्।

मधेस प्रदेशको प्रमुखमा उमेश रंजितकार, बागमतीका प्रकाशजंग कार्की, लुम्बिनी प्रकाश अधिकारी, कर्णाली गणेशबहादुर ऐर र सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख पुरुषोत्तम कँडेलको कार्यकाल करिब अढाई महिना मात्रै छ। 

सोही ब्याचका डीआईजीहरु घनश्याम अर्याल, ईश्वरबाबु कार्की, देवबहादुर बोहरा, वसन्त पन्त, सौरभ राणा, रामकृपाल साह र राजेशलाल कर्ण पनि अवकाश हुँदैछन्। 

यस्तै दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरीका काउन्सिलर एसएसपी वीरेन्द्रकुमार बस्यालको पनि ३० वर्ष यहीबेला पुरा हुँदैछ। 

त्यसपछिको नेतृत्वमा को? 
दुवै प्रहरीमा भावी नेतृत्वका लागि लबिइङ र चलखेल सुरु भइसकेको छ। अनिवार्य अवकाश हुने र रिक्त राख्न मिल्ने अवस्था नभएकाले निर्वाचन नजिकै भए पनि प्रहरी नेतृत्व नियुक्त हुने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोख्रेल बताउँछन्। 

निर्वाचन आचारसंहिताका कारण सरुवाबढुवा गर्न नमिल्ने भए पनि निर्वाचन आयोगसँग अनुमति लिएर सरकारले अत्यावश्यक सरुवाबढुवा गर्न सक्छ। 

भावी नेतृत्वका लागि नेपाल प्रहरीमा हालका एआईजी विश्वराज पोख्रेल र सहकुलबहादुर थापा दाबेदार छन्। उनीहरु दुवैलाई केपी ओली नेतृत्वको सरकारले नेतृत्वमा पुर्याउनकै लागि एआईजीको दरबन्दी थप गरेर बढुवा गरेको थियो। 

सुरुमा विश्वराज पोख्रेल महानगरीय प्रहरी कार्यालयमा नयाँ दरबन्दी सिर्जना गरेर एआईजी बढुवा भए। तर पछि सहकुलबहादुर थापाले पनि ओली सरकारको मन जिते। उनलाई एआईजी बनाउनका लागि ओली सरकारले अपराध अनुसन्धान एवं कार्य विभाग फुटायो र थापाका लागि दरबन्दी थप गर्यो। 

यही बीचमा सत्ता फेरबदल भयो। दुवै एआईजी हालको गठबन्धनका रोजाइका होइनन्। तर अहिलेसम्म विकल्प पनि छैन। विश्वराज पोख्रेल देउवा र कांग्रेससँग पहिल्यैबाट निकट छन्। नाता च्यापेर एमाले नेतृत्वको पनि मन जिते। 

भर्ना भएदेखि नै खासै अगाडि आउन नसकेका उनी एसएसपीबाट अपत्यारिलो पारामा अगाडि लागे। डीआईजीमा पनि २०७६ वैशाखमा उस्तैगरी एकल बढुवा भए। हालका आईजीपी थापाको ब्याचका वैकल्पिक पोख्रेलले १० महिनापहिले भर्ना भएको टोलीलाई समेत उछिने।  

२०७७ मंसिर १५ गते उनैका लागि भनेर सिर्जना गरिएको पदमा निर्विकल्प बढुवा मात्रै भएनन्, भावी आईजीपीको प्रतिस्पर्धाको बाटो नै बन्द गरेका थिए। तर उनलाई निर्विकल्प आईजीपी बनाउने कुरामा तत्कालीन सरकार एकमत भएन र थापालाई एआईजीमा बढुवा गरियो।  

अहिले कांग्रेससँग निकट रहेका पोख्रेल भावी आईजीपीका सबैभन्दा बलिया उम्मेदवार हुन्। उनी थापाभन्दा करिव एक वर्ष पहिले नै एआईजी भएकाले पनि उनको सम्भावना बलियो छ। तर सरकारले एआईजीमध्येबाट आईजीपी नियुक्त गर्न सक्ने व्यवस्थाका कारण पोख्रेल नै निर्विकल्प भने होइनन्। 

चुनावको कमाण्ड गरिरहेका एआईजी थापाको पनि सम्भावना कायम छ। त्यसो त सरकारले तीन जना एआईजी थप्ने तयारी गरिरहेको छ। सम्भवत आगामी साता सो निर्णय हुनसक्छ। थप हुने एआईजीबाट पनि आईजीपी बनाउने झिनो चर्चा छ। 

भर्ना हुँदैदेखिका एक नम्बर डीआईजी धिरजप्रताप सिंह सम्भावित उम्मेदवार हुन्। उनी हाल डीआईजीमै रहेकाले उनको अप्रत्याशित फड्कोको सम्भावना ज्यादै न्यून छ। 

१२ डीआईजीले अवकाश पाए पनि ८ डीआईजीहरु धिरजप्रताप सिंह, वसन्तकुमार लामा, उत्तमराज सुवेदी, रवीन्द्रबहादुर धानुक, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह २०७९ चैतसम्म कार्यरत रहनेछन्। 

सशस्त्रमा आईजी र एआईजी नै नयाँ 
सशस्त्र प्रहरीका २ एआईजी र आईजीपी २१ दिनको फरकमा चुनावअघि नै अवकाश हुने भएकाले नयाँ नेतृत्व आउने निश्चित छ। आईजीपी खनाल चैत २८ मा अवकाश हुनेछन् भने एआईजी केसी र पौडेल वैशाख १९ मा। तर त्योबीचको २१ दिनका लागि सकेसम्म आईजीपी नियुक्त नगर्ने सरकारको तयारी रहेको गृहश्रोत बताउँछ। 

यदि केसी र पौडेल मध्येबाट एक आईजीपी नियुक्त भए पनि वैशाख १९ सम्मका लागि मात्रै हो। त्यसपछिको आईजीपी हालका डीआईजीहरु राजु अर्याल, नारायण दत्त पौडेल र चन्द्रप्रकाश गौतम मध्येबाट हुन्छन्। यीमध्ये अर्यालको सम्भावना सबैभन्दा बढी छ। उनी वरीयतामा पनि अगाडि छन्। 

त्यसो त प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाणसँग पनि उनको सम्बन्ध राम्रो छ। उनैलाई नेतृत्व दिने सम्भावना बढी देखिएको गृह श्रोत बताउँछ। डीआईजी नारायणदत्त पौडेलले पनि भावी आईजीपीका लागि लबिइङ सुरु गरेका छन्। उनको पनि कांग्रेस नेताहरुसँग सम्बन्ध राम्रो छ। 

त,र सरकारले सशस्त्र प्रहरीमा एक जना एआईजी थप्ने गृहकार्य गरिरहेको छ। तत्काल एआईजी थप भए वैशाख १९ पछिको आईजीपी उसैको सुनिश्चित हुनेछ, जसलाई सरकारले थप गरिएको एआईजीमा बढुवा गर्नेछ। 

तर आगामी चुनावमा भने सशस्त्र प्रहरीमा पनि सबै एआईजी र आईजीपी भने नयाँ नै हुने निश्चित छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .