समाज


कुख्यात अपहरणकारी टण्डन उम्काउने प्रहरीलाई उन्मुक्ति

कुख्यात अपहरणकारी टण्डन उम्काउने प्रहरीलाई उन्मुक्ति

उजिर कार्की
फागुन ४, २०७८ बुधबार २१:३६, काठमाडौँ

कुख्यात अपहरणकारी उम्काउन प्रहरीकै लापरबाही देखिएको भन्दै कारबाही गर्न छानबिन समितिले सिफारिस गरे पनि प्रहरी प्रधान कार्यालयले उनीहरुलाई उन्मुक्ति दिएको छ। दुई जना प्रहरी नायब उपरीक्षक (डीएसपी) र ३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई विभागीय कारबाही गरेर अरुलाई उन्मुक्ति दिएको हो। 

अपहरण तथा शरीर बन्धक मुद्दाका अभियुक्त अमर टण्डनमाथिको अनुसन्धान पुरा नगरी म्याद गुजार्ने प्रहरी इन्चार्जमाथि कुनै कारबाही भएको छैन। विभागीय कारबाहीमा परेका पाँचै जना अनुसन्धान अधिकृत हुन्। 

डीएसपी माधवकुमार बुढाथोकी र भीमलाल भट्टराई तथा इन्सपेक्टर नवीन चुडाल, ऋषिराम घर्ती र श्रीकृष्ण पौडेलमाथि मात्रै कारबाही भएको हो। 

रुपन्देहीको अमुवाका टण्डनको समूहले २०६४ माघ २९ गते ६२ वर्षीय टीकाराम अर्याललाई अपहरण गरेको थियो। टण्डनलाई पक्राउ गरे पनि म्याद गुजारेर प्रहरीले मुद्दा नचलाई छाडेको थियो। 

उनीहरुलाई लिखित रुपमा सचेत गराइएको नेपाल प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताए। तत्कालीन कार्यालय प्रमुखहरुलाई भने मौखिक रुपमा सचेत गराएको बताइएको छ। मौखिक सचेत गराउनुले उनीहरुको वृत्तिविकासमा कुनै असर गर्दैन। 

यस्तै, त्यतिबेलाका कार्यालय प्रमुखहरु अवकाशमा समेत गइसकेका छन्। तत्कालीन डीएसपीहरु अहिले उच्च पदमा पुग्दा प्रहरी प्रधान कार्यालयले कारबाही नगरी छाडेको हो। एसएसपी सुशीलकुमार यादवको निधन भइसकेको छ भने अरु पाँच जना अवकाशमा गएका छन्। 

त्यो अवधिमा डीएसपी भएका दानबहादुर कार्की, (हाल एसपी), एसएसपी कृष्णकुमार महत, एसएसपी दीपक थापा, एसपी दिनेशकुमार आचार्य, एसपी दिलीप घिमिरे, एसपी महेन्द्र खड्का, एसपी मुकुन्द मरासिनी, डीएसपी पवनकुमार भट्टराई, डीएसपी केशव भट्टराई, डीएसपी डिलबहादुर मल्ल, डीएसपी प्रतीतसिंह राठौर र असई राजकुमार बिकको लापरबाहीका कारण टण्डन उम्किएको छानबिन समितिको निस्कर्ष थियो। 

छानबिन समितिले विभागीय कारबाही गर्न सिफारिस गरेपनि उनीहरुलाई प्रहरी प्रधान कार्यालयले जोगाएको हो। 

पूर्वआईजीपी ठाकुरप्रसाद ज्ञवाली, डीएसपी जगतमान श्रेष्ठ, प्रहरी निरीक्षक नवीन क्षेत्री, डीएसपी सोमबहादुर थापा र एसपी राजकुमार बैदवार भने अवकाश भइसकेका छन्। 

अपहरणकारी उम्किएको घटना अनुसन्धानका लागि महान्यायाधिवक्ता कार्यालयको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले एसएसपी भीमप्रसाद ढकालको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको थियो। 

समितिले प्रहरीहरुकै कमजोरी औँल्याउँदै कारबाही सिफारिस गरेर प्रतिवेदन बुझाएको थियो।

९ दिनसम्म बन्धक बनाइएका अर्याल १५ लाख रुपैयाँ फिरौती बुझाएर उम्किएका थिए। अर्यालले अपहरणकारीविरुद्ध त्यही वर्ष चैतमा इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका थिए। अपहरणमा मुख्य योजनाकार नै टण्डन रहेको भन्दै पीडितको जाहेरी दर्ता भयो। 

तर, टण्डनसहितका व्यक्ति भने जाहेरी दर्ता हुनुभन्दा पहिले नै पक्राउ परिसकेका थिए। २०६४ पुसमा काठमाडौंका पशुपति पेन्ट्सका सञ्चालक महेश मुरारकाको अपहरण गरेको आरोपमा प्रहरीले उनीसहित रामकुमार प्याकुरेल, विष्णु जिसी र उदय सेठीलाई पक्राउ गरेको थियो। 

मुरारका अपहरणको मुद्दामा दोषी ठहर भएका टण्डन २०७७ चैत १२ गते छुटेका थिए। प्रहरीले हद म्यादभित्र सरकारी वकिल कार्यालयमा मुद्दा नबुझाउँदा टण्डन छुट्न सफल भएका थिए।

उक्त मुद्दामा थुनामुक्त हुने भएपछि केन्द्रीय कारागारबाट टण्डनलाई रुपन्देही लगिएको थियो। १४ वर्ष पहिलेको मुद्दामा पुनः अनुसन्धान गर्दै प्रहरीले प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाए पनि म्याद गुज्रिएको पाइएपछि टण्डनविरुद्धको मुद्दा दर्ता नहुने भन्दै उनलाई छाडिएको थियो। 

सोही जानकारी सरकारी वकिल कार्यालयले महान्यायाधिवक्ता कार्यालयलाई गराएपछि महान्यायाधिवक्ता कार्यालयले लापरबाही गर्ने प्रहरीलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो। सोही निर्देशनपछि प्रहरीले छानबिन गरे पनि संलग्नहरुलाई भने उन्मुक्ति दिएको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .