समाज


श्रम स्वीकृति लिएर ५ वर्षमा २३८ नेपाली युक्रेनमा, थप २ सय ट्रान्जिटमा रोकिए

श्रम स्वीकृति लिएर ५ वर्षमा २३८ नेपाली युक्रेनमा, थप २ सय ट्रान्जिटमा रोकिए

आक्रमणपछि राजधानी किभबाट बाहिरिनेहरुका कारण भएको ट्राफिक जाम


उजिर कार्की
फागुन १२, २०७८ बिहिबार २२:४, काठमाडौँ

पछिल्लो पाँच वर्षमा नेपालबाट रोजगारीका लागि श्रम स्वीकृति लिएर २ सय ३८ जना नेपाली युक्रेन पुगेको पाइएको छ। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार २०७४ साउन १ गतेदेखि २०७८ फागुन १२ गतेसम्ममा वैधानिक रुपमा ती नेपाली युक्रेन पुगेका हुन्। 

श्रम स्वीकृति लिएर २३ जना महिला र २ सय १५ जना पुरुष युक्रेन पुगेका हुन्। म्यानपावर कम्पनीमार्फत् भने त्यहाँ श्रमिक गएका छैनन्। उनीहरु सबैले व्यक्तिगत श्रम स्वीकृति लिएका छन्। तीमध्ये एक जनाले पुनः श्रम स्वीकृति लिएर गएका छन्। 

तर, युरोपेली देशहरुको ट्रान्जिटका रुपमा युक्रेनको विमानस्थल प्रयोग हुने भएकाले करिब २ सय नेपाली त्यहीँ रोकिएका गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् युक्रेनका अध्यक्ष हरिबहादुर मल्लले जानकारी दिए। 

उनीहरु युक्रेन हुँदै जर्मनी, फ्रान्स, बेल्जियम, स्पेनलगायतका मुलुक हिँडेका थिए।

‘हिजो राति ४ बजेबाट रुसले आक्रमण गरिरहेको छ। हवाई क्षेत्र पूर्ण रुपमा बन्द हुँदा प्रवासीहरु त्यहीँ रोकिएका छन्। बस, रेल लगायत यातायातका साधनको टिकट पाउन समस्या छ,’ अध्यक्ष मल्ले बताए, ‘अहिलेसम्म नेपाली भने सुरक्षित नै रहेको सुनिएको छ।’

ट्रान्जिटका रुपमा युक्रेन पुगेका नेपालीहरु स्लोभाकिया जाने कोसिस गरिरहेका छन्। स्लोभाकियाको सीमा खुल्ला रहेको जानकारी पाएकाले आफूले पनि त्यस्ता नेपालीलाई स्लोभाकिया जान खबर गरेको मल्लले नेपालखबरसँग बताए। 

‘यसअघि दुई वटा क्षेत्रमा मात्रै आक्रमण भइरहेको थियो। आजबाट यस्तो युद्ध होला भन्ने सोचेकै थिएनौँ,’ मल्लले भने।

श्रम स्वीकृति लिएर जानेको संख्या ५ वर्षमा २३८ जना मात्रै भए पनि अध्ययनका लागि जानेहरु र दलालमार्फत श्रम स्वीकृत नै नलिई त्यहाँ पुग्नेहरु पनि रहेको मल्लले बताए। दलालमार्फत पुगेका नेपालीको भने तथ्यांक छैन। 

यस्ता नेपाली पनि सम्पर्कमा आइरहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए। उनीहरुले उद्धारका लागि आग्रह गरेको उनले बताए। विशेषगरी विद्यार्थीहरुले उद्धारका लागि आग्रह गरेको उनले बताए। उनका अनुसार राजधानी किभबाहेकका अन्य सहरमा नेपाली विद्यार्थीको संख्या बढी देखिएको छ। 

रुसको मस्कोस्थित नेपाली दूतावासले पनि युक्रेनमा रहेको नेपालीको अवस्थाबारे जानकारी लिइरहेको परराष्ट्रले जनाएको छ। 

अध्ययनका लागि जाने विद्यार्थीहरु त्यहाँका ग्रामीण क्षेत्रमा अध्ययन गर्ने र पछि त्यहीँ रोजगारी गर्ने गरेका छन्। कतिपय भने पछि युरोपका अन्य देशमा जाने गरेको मल्लले बताए। त्यहाँ रहेका नेपालीहरुमध्ये केही आपूर्ति कम्पनीमा कार्यरत छन्।

वैदेशिक रोजगार विभागले भने अहिलेसम्म विभागको सम्पर्कमा नेपालीहरु नआएको र परराष्ट्र मन्त्रालयले नै नेपालीको अवस्थाबारे बुझिरहेको जनाएको छ।
 
सके पश्चिमी क्षेत्रमा जान, नभए घरभित्रै सुरक्षित बस्न दूतावासको आग्रह

यसैबीच युक्रेन समेत हेर्ने जिम्मा पाएको जर्मनीस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई घरभित्रै सुरक्षित रुपमा बस्न आग्रह गरेको छ। बिहीबार सूचना जारी गर्दै हवाई मार्गबाट तत्काल युक्रेन छाड्न सम्भव नभएकाले त्यहीँ सुरक्षित रुपमा बस्न आग्रह गरेको हो। 

युक्रेन सरकार, कलेज/युनिभर्सिटी र कम्पनीहरुले जारी गरेका निर्देशन पालना गर्न दूतावासले भनेको छ। सम्भव भएमा सडक तथा रेलमार्गबाट युक्रेनकै पश्चिमतर्फका बढी सुरक्षित स्थानमा जान सुझाव दिएको छ। 

राहदानी, परिचय पत्र, सवारीचालक अनुमतिपत्र, बैंकको कार्ड लगायतका कागजात आफ्नो साथमा राख्न र दूतावास, आफन्त तथा साथीभाइको सम्पर्कमा रहन भनिएको छ। 

यस्तै आपतकालिन साइरन र बम हमलाका पूर्वसूचना दिइएको अवस्थामा आफ्नो नजिकको बम सेल्टरमा जान भनेको छ। यस्ता सेल्टर रेल मार्गहरुमा रहेको र गुगल म्यापको सहारा लिन दूतावासले जानकारी गराएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .