समाज


१७४ नेपालीले छाडे युक्रेन, धेरैजसो पुगे पोल्यान्ड

१७४ नेपालीले छाडे युक्रेन, धेरैजसो पुगे पोल्यान्ड

उजिर कार्की
फागुन १६, २०७८ सोमबार २३:२५, काठमाडौँ

युक्रेनमा रुसले आक्रमण गर्न थालेपछि त्यहाँ रहेका नेपालीले धमाधम युक्रेन  छाडिरहेका छन्। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार सोमबार साँझसम्ममा १७४ जनाले युक्रेन छाडिसकेका छन्। 

यीमध्ये १३१ जना पोल्यान्ड पुगेका छन्। स्लोभाकियामा २७ जना र रोमानियामा १२ जना पुगेका छन्। ४ जना हंगेरी पुगेको सूचना प्राप्त भएको प्रवक्ता लम्सालले नेपालखबरलाई जानकारी दिइन्।

अहिलेसम्म नेपाली नियोगहरुको सम्पर्कमा २३५ जना नेपाली पुगेका छन्। उनीहरुलाई पनि जतिसक्दो चाँडो युक्रेनबाट बाहिरिन भनिरहेको परराष्ट्रले जनाएको छ। 

‘अरु पनि जो दूतावासको सम्पर्कमा आउनु भएको छ। उहाँहरुलाई पनि जतिसक्दो चाँडो युक्रेन छाड्न र नजिकको छिमेकी देशमा जान सल्लाह दिएका छौँ। अहिले पनि कतिपय बाटोमा हुनुहुन्छ,’ लम्सालले भनिन्, ‘हाम्रो प्राथमिकता भनेको युक्रेनबाट जतिसक्दो छिटो सुरक्षित स्थानमा सार्ने हो।’

युक्रेनबाट बाहिरिएका नेपालीलाई ती देशमा रहेका नेपाली संघसंस्था तथा नियोगहरुले सहयोग गरिरहेका छन्। तर कतिपय भने युक्रेनमै रोकिएको र तत्काल बाहिरिन प्राविधिक समस्या रहेको बताइएको छ। के कस्तो समस्या भन्ने प्रष्ट भएको छैन। 

युक्रेनबाट बाहिरिनका लागि चार वटा देशले सीमा–नाका खुल्ला गरेका छन्। तीमध्ये धेरैजसो पोल्यान्ड पुगेका छन्। पोल्यान्डमा रहेका नेपाली र नियोगहरुले आउनेहरुलाई बस्ने व्यवस्था गरिरहेका छन्। 

फर्किन चाहनेका लागि फर्काउने प्रयास भइरहे पनि कतिपयले तत्काल नेपाल फर्किने चाहना देखाएका छैनन्। 

उता स्लोभाकिया जाने नेपालीलाई त्यहाँ रहेको एउटा नेपाली रेस्टुरेन्टमा राखिएको छ। सोमबारबाट उक्त रेस्टुरेन्टलाई उद्धार केन्द्रको रुपमा प्रयोग गरिएको रेस्टुरेन्ट सञ्चालक जयप्रसाद शिवाकोटीले जानकारी दिए। 

आइतबार स्लोभाकिया पुगेका ८ जनालाई त्यहाँ राखिएको थियो। अहिले सोमबार साँझ १० जना आइपुगेको शिवाकोटीले नेपालखबरलाई बताए। परराष्ट्रकी प्रवक्ता लम्सालले पनि उक्त रेस्टुरेन्टलाई नै उद्धार केन्द्रका रुपमा प्रयोग गरिने र त्यहाँ रहन नेपाली संघसंस्थाहरुले नै सहयोग गरिरहेको बताइन्। 

‘स्लोभाकिया आउन सहज भएकाले सहजीकरण गरिरहेका छौँ। आज बेलुका अर्को समूह १० जनाको आइपुग्न लाग्यो,’ शिवाकोटीले भने, ‘युक्रेनबाट फर्किने जति पनि नेपालीलाई यहाँ व्यवस्थापन गर्न सक्छौं।’

उनका अनुसार स्लोभाकिया फर्किनेहरु अझै केही सम्पर्कमा छन्। उनीहरुलाई स्लोभाकिया जानका लागि सहजीकरण गरिरहेको शिवकोटीले बताए।

युक्रेन मामिला हेरिरहेको बर्लिनस्थित नेपाली दूतावासले एड्भाइजरी जारी गर्दै पोल्यान्ड, स्लोभाकिया, हंगेरी र रोमानियाका खुला नाका पुग्न आग्रह गरेको छ। दूतावासले सम्बन्धित मुलुकमा एनआरएनएका जिम्मेवार व्यक्तिको सम्पर्क नम्बर पनि दिएको छ।

 

युद्धको पाँचौँ दिन चलिरहँदा पाँच लाखभन्दा बढी युक्रेनी नागरिक देश छाडेर भागेका छन्। सोमबार दुई मुलुकबीच वार्ता भएको छ। तर, त्यसले निकास दिने सम्भावना अत्यन्त न्यून रहेको भन्दै युक्रेन–रुस युद्ध अझ चर्किने चिन्ता व्यक्त भइरहेको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .