समाज


टुंगियो तीन व्यवसायीको हत्या अनुसन्धानः मृतकलाई नै तिराइएको थियो हत्यामा लागेको खर्च

टुंगियो तीन व्यवसायीको हत्या अनुसन्धानः मृतकलाई नै तिराइएको थियो हत्यामा लागेको खर्च

उजिर कार्की
फागुन १८, २०७८ बुधबार २२:०, काठमाडौँ

ललितपुरको थेचो र मोरङको धनपालथानस्थित उखुबारीमा भएको तीन व्यवसायी हत्याको मुद्दामा जिल्ला अदालत मोरङमा थुनछेक बहस चलिरहेको छ। जिल्ला प्रहरी कार्यालयले अनुसन्धान प्रतिवेदन बुझाएपछि गत आइतबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो। 

ललितपुरमा तेह्रथुमका मोहन लिम्बुको हत्या गरेकै समूहले मोरङमा २ जनाको हत्या गरेको थियो। सुनसरीका राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीका शम्भुकुमार चौधरीको हत्या धनपालथानमा भएको थियो। 

हत्या गरेको झण्डै डेढ महिनापछि माघ १२ र १३ गते मात्रै उनीहरुको शव फेला परेको थियो। मोरङ घटनाको अनुसन्धान गर्नेक्रममा सोही समूहका मोहन लिम्बुको पनि हत्या भइसकेको एक सातापछि खुल्यो। 

अनुसन्धान प्रतिवेदनअनुसार मृतकहरुसँगै व्यवसायमा संलग्न रहेका सिरहाका अनिल मण्डलको योजनामा हत्या भएको हो। अनिलले मृतकहरुसँगै रकम लिई सोही रकम हत्यारालाई तिरेको पनि अनुसन्धानबाट खुलासा भएको छ। 

अनिलले पैसा दिएर मोरङका दीनानाथ सोनारलाई हत्या गर्न लगाएका थिए। दीनानाथले अरु ४ जना लगाएर हत्या गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ। मोरङकै नासिर मियाँ, मोहमद हकिम मनसुरी, सुभान मनसुरी र सहिद मियाँलाई हत्यामा लगाएको खुलेको छ। यी मध्ये सहिद मियाँ मात्रै फरार छन्। 

उनीहरुविरुद्ध अदालतमा ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता भएसँगै घटनाका सबै रहस्य खुलेको हो। 

जग्गा कारोबारका क्रममा चिनजान, कमिसनमा नमिल्दा हत्या 
जेल पर्नुपहिले जग्गा कारोबार गर्ने क्रममै अनिल र राजेन्द्रकुमार श्रेष्ठको बीचमा चिनजान भएको थियो। राजेन्द्रमार्फत मोहन लिम्बु र शम्भुकुमार चौधरीसँग  चिनजान भयो। 

उनीहरुले कतिपय ठाउँमा साझेदारीमा कारोबार गर्न थालेका थिए। सोही क्रममा अनिलले चिनेका भरत खड्का भन्ने व्यक्तिले ललितपुरको हरिसिद्धिमा रहेको एनबी वार्ता हस्पिटल एन्ड मेडिकल रिसर्च सेन्टरको नाममा रहेको २५ रोपनी ७ आना जग्गा सल्टाउने प्रस्ताव गरे। 

सो जग्गा शम्भु चौधरीको कम्पनी सरस्वती कन्स्ट्रक्सन कम्पनी प्रालिको नाममा धितो पास गरिदिने र सो बापत १८ प्रतिशत ब्याजमा कम्तिमा ५५ देखि ६० करोड पैसा पनि दिने भनेका थिए। 

अनिलले त्यो जग्गा सल्टाउने व्यक्ति मिलाउने बताए। खड्काले जग्गा सल्टाएपछि त्यसबाट आउने रकमको ३ प्रतिशत कमिसन अनिललाई दिने बताएका थिए। 

यस्तो प्रस्ताव आएको कुरा उनले राजेन्द्रलाई सुनाए। राजेन्द्रले भने, ‘शम्भुहरुको बाटोको काम पश्चिमतिर भइरहेको छ, बैंक ग्यारेन्टी र लोनको लागि त्यो जग्गा उपयुक्त हुन्छ।’

त्यसपछि राजेन्द्र, शम्भु र मोहन मिलेर सो जग्गा सल्टाउने काम गर्न तयार भएका थिए। त्यो जग्गा माछापुच्छ्रे बैङ्कमा राखेर १ अरबको बैङ्क ग्यारेन्टी र ८० करोड रुपैयाँ ऋण लिने उनीहरुको तयारी थियो। 

भरत खड्काले कामको प्रक्रिया मिलाउन भन्दै अनिललाई १८ लाख रुपैयाँ दिइसकेका थिए। तर, उनीहरुको बीचमा कमिसन बाँडफाँट गर्ने विषयमा कुरा मिलेन। जग्गाको कमिसनबापत आउने रकमको आधा आफूले पाउनु पर्ने मोहनले बताए। बाँकी आधा तीन जनाले बाँडेर लिन भने। त्यही विषयमा उनीहरुको मनमुटाव सुरु भयो। अनिलले सबै जनाले बराबर लिनु पर्ने बताए। तर मोहन मानेनन्। बरु एक्लै प्रक्रिया मिलाउने र कमिसन पनि सबै एक्लै लिने उनले बताउन थाले। 

शम्भु र राजेन्द्रले पनि मोहनकै कुरामा सहमति जनाए। कि कमिसन पाउँदै नपाउने पाए पनि आधा रकम तीन जनासँग बाँडेर लिनु पर्ने भएपछि अनिलले मोहन लिम्बुलाई सिध्याउने निधो गरे। 

मोहनको हत्या गरेर शम्भु र राजेन्द्रमार्फत काम गराउने योजना उनको थियो। त्यो काम नभए उनीहरुलाई पनि सिध्याइदिने योजनामा थिए। त्यही योजनाअनुसार उनले नक्खु कारागारमा बस्दा चिनजान भएका दीनानाथलाई बोलाए। 

दीनानाथ काठमाडौंतिरै लसुन प्याजको व्यापार गर्थे। बल्खुस्थित आफ्नो कोठामा बोलाएर अनिलले यो योजना सुनाए। अनिलको योजना सुनेपछि दीनानाथ हत्या गर्न तयार भए। तर यसका लागि अरु ४÷५ जना मान्छे लगाउनु पर्ने र उनीहरुलाई तीन लाख रुपैयाँका दरले दिनु पर्ने बताए। 

त्यसमा अनिल राजी भए। काम सम्पन्न भएपछि जग्गाको कमिसन रकम पनि आधाआधा बाँड्ने उनीहरुको सल्लाह भयो। यही सल्लाहअनुसार मान्छे खोज्न दीनानाथ विराटनगरतर्फ लागे। 

दीनानाथले हत्यारालाई अग्रिम रकम दिनु पर्ने बताएपछि अनिलले कात्तिक २८ गते आईएमई गरेर ८० हजार रुपैयाँ पठाइदिएका थिए। 

मंसिर अन्तिम साता दीनानाथले मोरङबाट अन्य ४ जना मानिसहरु लिएर काठमाडौं आए। उनीहरुलाई खान बस्नको लागि अनिलले ललितपुरको गोदावरी नगरपालिका १२ ठेँचोस्थित भाडामा लिएको गोदामसहितको घरमा व्यवस्था मिलाएका थिए।

दीनानाथसँग आएका चार जनाले पैसाको कुरा गर्दा अनिलले काम हुनासाथ सबैले तीन लाखका दरले पाउने बताए। उनीहरुलाई अनिलले भनेका थिए, ‘काम पक्का हुनुपर्छ। कसैले पनि अत्तोपत्तो नपाउने गरी शव गाडेर सिमेन्टले ढलान गर्नुपर्छ।’

घटनाको दुई दिन पहिले अनिल र दीनानाथ सामान लिन बजार गए। एउटा गम्छा किने। आयो नुन, गैँती, बेल्चा र २ बोरा सिमेन्ट किनेर लगे। 

अनिलले बहाना बनाएर मोहनलाई त्यहाँ पठाउँछु भनेका थिए। अमितले ढुक्क पारे। मंसिर २८ गते मोहनलानई भेट गरौँ भन्दै ठेँचोको त्यो घरमा बोलाए। 

आफू भने राजेन्द्रसँग बल्खुमा रहेको जग्गासम्बन्धी कारोबार गर्ने अफिसमा गए। त्यहीदिन दिनानाथ लगायत ५ जनाले मोहनको हत्या गरे र घर पछाडी खाली जमिनमा खाल्डो खनेर गाडी दिए। त्यसपछि दीनानाथले ‘काम भयो’ भन्दै अनिललाई फोन गरे। त्यसै रात बसमा उनीहरु विराटनगर फर्किए। 

मारिनुअअघि शम्भुले नै तिरेका थिए हत्यारालाई दिइएको पैसा
मोहनको हत्या भइसकेपछि अनिलले राजेन्द्रकुमार श्रेष्ठ र शम्भुकुमार चौधरीसँग मिलेर काम गर्ने योजना बनाएका थिए। सल्लाहकै क्रममा राजेन्द्रले भने, ‘मेरो जग्गाको काम धरान र विराटनगरमा छ। मेरो आफन्त वृद्ध हुनुहुन्छ। भेटघाट पनि गर्नु छ, उतै जाऊँ घुमफिर पनि हुन्छ कामको कुरा पनि हुन्छ।’

शम्भु र अनिल जान सहमत भए। त्यसपछि राजेन्द्रले नै लाजिम्पाटस्थित एउटा वर्कसपबाट बा ९ च ८११५ नम्बरको कार भाडामा लिए। राजेन्द्रले नै चलाएको कारमा अनिल र शम्भु समेत त्यही रात काठमाडौंबाट विराटनगरतर्फ लागे। 

भोलिपल्ट भेडेटार, धरान घुम्दै बेलुकी विराटनगर पुगे। बसपार्क नजिकै रहेको मेट्रोसिटी होटल एन्ड लजमा एउटा कोठा भाडामा लिए। सिंगल बेडमा अनिल र डवल बेडमा राजेन्द्र र शम्भु सुते। 

विराटनगर पुगेपछि उनीहरुको बीचमा ललितपुरको जग्गाकै विषयमा छलफल हुन थाल्यो। राजेन्द्र र शम्भुले मोहनसहित छलफल हुनु पर्ने बताए। मोहनको बारेमा अनिलसँग सोधखोज गरे। बारम्बार उनीहरुले मोहन सोध्न थालेपछि अनिलले उनीहरुलाई पनि नसिध्याए आफू फस्ने ठाने।

यसबीचमा उनीहरु राजेन्द्रको आफन्तकोमा पनि आउजाउ गर्थे। अनिल र दीनानाथको बीचमा कुरा भइरहन्थ्यो। अनिलले आफू विराटनगर पुगेको जानकारी दिएर दीनानाथलाई भेट्न बोलाए। 

विराटनगर स्थित महेन्द्र चौकको नजिकै रहेको सातु पसल छेउमा बसेर उनीहरुले राजेन्द्र र शम्भुलाई पनि मार्ने योजना बनाए। 

दीनानाथले आफ्नो घरनजिकैको उखुबारीमा लगेर हत्या गर्दा कसैले थाहा नपाउने बताए। अनिल पनि एक दिन पुगेर त्यो ठाउँ हेरे। त्यहीँ लगेर हत्या गर्ने योजना बन्यो। 

पुस ३ गते साँझ ६÷७ बजेतिर राजेन्द्रकुमार श्रेष्ठलाई साथीको घरगाउँतिर घुम्न जाऊँ भने। दीनानाथले रिजर्भ गरेर अटो ल्याएका थिए। तीनजना अटोमा चढेर रामचोकनजिकै नहरसम्म पुगे। 

त्यहाँ राजेन्द्र र दीनानाथले रक्सी खाए। ‘तपाईंहरु बिस्तारै खाएर आउनुस्’ भन्दै अनिल केही अगाडि पुगेर पर्खिबसे। रक्सी खाइसकेर अनिल भएको ठाउँमा पुगेपछि राजेन्द्रलाई आक्रमण गरे। 

योजना अनुसार कदमको रुख नजिकै नासिर मिया, सुभान मिया, हकिम मिया, सहिद मिया लुकेर बसेका थिए। मोहनको हत्या गर्ने ५ जनाले नै गम्छाले घाँटी कसेर राजेन्द्रको पनि हत्या गरे।

राजेन्द्रको फोन अनिलले बोके। शव गाडिसकेपछि मलाई खबर गर्नू भन्दै उनी दीनानाथसँग साइकलमा विराटनगरतर्फ फर्किए। अरु चार भाइले शव गाडे। 

होटलमा शम्भु बसिरहेका थिए। शम्भुले राजेन्द्र खै भन्दै सोधे। आफन्तकोमा गएको बताए अनिलले। भोलिपल्ट दीनानाथ विराटनगर पुगेर अनिलसँग पैसा मागे। शम्भुले दिएको रामशरण खड्काको नामको ३ लाख रुपैयाँको चेक अनिलले दीनानाथलाई दिए। 

अनिल काम पर्यो भन्दै त्यही दिन जहाज चढेर काठमाडौं आए। भोलिपल्ट जहाजमै उनी विराटनगर फर्किए। दीनानाथलाई बोलाएर शम्भु राजेन्द्रको साथी भएकाले उनलाई पनि मार्नु पर्ने र नभए सबै फसिने बताए। 

राजेन्द्रलाई जस्तै गरी उनलाई पनि मार्ने सल्लाह भयो। दीनानाथले थप पैसा मागे। अनिलले शम्भुसँगै मागेर दीनानाथलाई ७० हजार रुपैयाँ दिए। राजेन्द्रलाई मारेकै ठाउँमा ल्याउनू भन्दै दीनानाथ गए।

अनिलले साथीको गाउँघरतिर घुम्न जाऊँ भनेर पुस ७ गते साँझ ७ बजेतिर शम्भुलाई अटोमा लिएर गए। 

रामचोक पुगेपछि दीनानाथ पनि त्यही अटोमा चढे। घटनास्थलनजिकै पुगेपछि ‘अब अटो जाँदैन हिँड्दै जाऊँ’ भन्दै घटनास्थलतर्फ लगे। 

अरु चार जना उखुबारीमा लुकेर बसिरहेका थिए। पछाडिबाट आएर उनीहरुले डोरीले घाँटी कसेर शम्भुको पनि हत्या गरे। उनीहरुले पहिल्यै तयार खाडलमा माथिबाट नुन हालेर पुरे। अनिल भने विराटनगरमा बस्दै आएको होटलमा फर्किए। 

भोलिपल्ट दीनानाथले अनिललाई फोन गरेर काम सकिएकाले बाँकी पैसा कहिले दिने भनेर सोधे। अनिलले पुस १६ गतेको भाका राखे। भोलिपल्ट अनिल जहाज चढेर काठमाडौं फर्किए। 

काठमाडौं फर्किएपछि उनी आफ्नो नियमित काममा व्यस्त थिए। तर, माघ १२ गते एउटा र भोलिपल्ट अर्को शव प्रहरीले निकालेको खबर पुग्यो। दीनानाथले इमोमा फोन गरेर जानकारी दिएका थिए। 

त्यसपछि अनिलले एक महिना आफूलाई फोन नगर्न र सचेत भएर बस्न भने। अनिलले पनि त्यसपछि कसैलाई सम्पर्क गरेनन्। तर उनलाई प्रहरीले बल्खुस्थित डेराबाट पक्राउ ग¥यो। 

जेलको चिनजान फेरि जेलमै पुर्यायो
तीन हत्याका मुख्य योजनाकार अनिलकुमार मण्डल भएको प्रहरीको निष्कर्ष छ। सिराहा नगरपालिका २१ का लगडी मण्डल गाउँकै विद्यालयमा कक्षा १० सम्म अध्ययन गरेर २०६६ सालमा उच्च शिक्षा अध्ययनको लागि काठमाडौं आएका थिए अनिल।

तिनकुनेमा कोठा भाडा लिएर बस्ने मण्डलले जनकपुर इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियर विषयमा २०७१ सालमा स्नातक सम्मको पढाइ सके। 

उनी पढ्दै जग्गा नाप्ने, जग्गा खरिद बिक्री गर्ने काम गर्थे। त्यसक्रममा उनको जग्गावालाहरुसँग सम्पर्क बढेको थियो। जग्गा खरिद गर्ने मानिसहरुको खोजी पनि गर्थे। 

क्राइम फ्री सोसाइटी नेपाल नामको संस्था खोलेर विभिन्न स्थानहरुमा कार्यक्रम सञ्चालन पनि गर्थे उनी। तर त्यो कार्यक्रम सञ्चालन गर्ने क्रममै उनीविरुद्ध ठगीको उजुरी पर्यो। अदालतले उनीसँग ८ लाख रुपैयाँ धरौटी माग गरेको थियो। धरौटी बुझाउन नसकेपछि उनलाई पुर्पक्षका लागि नख्खु कारागारमा राखिएको थियो। 

कारागारभित्रै उनको मोरङका दीनानाथ सोनारसँग भेट भयो। दीनानाथ लागुऔषधको मुद्दामा जेल परेका थिए। तीन वर्षपहिले उनीहरुको कारागारभित्रै राम्रो दोस्ती जम्यो। 

अनिलभन्दा पहिले दीनानाथ जेलबाट छुटे। अनिललाई छुटाउनका लागि दीनानाथले नै धरौटी रकम खोजिदिए। कपडा व्यापारी द्वारिकालाल अग्रवालसँग ऋण काढेर दीनानाथले जिल्ला अदालत काठमाडौंमा धरौटी रकम जम्मा गरिदिएपछि अनिल जेलमुक्त भएका थिए। 

तर त्यतिबेला जेलमा भएको चिनजानलाई पुनः अपराधमै प्रयोग गर्दा दुवैजना फेरि एउटै जेलमा पुगेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .