समाज


ललितपुर घटनाः २ दिनको बच्चा लिएर अस्पतालबाट फर्केकै रात परिवारै सखाप

ललितपुर घटनाः २ दिनको बच्चा लिएर अस्पतालबाट फर्केकै रात परिवारै सखाप

उजिर कार्की
फागुन २३, २०७८ सोमबार २१:५०, काठमाडौँ

ललितपुरको कोन्ज्योसोम गाउँपालिका ४ नल्लुको एउटा घरको ढोका बिहानको ७ बजेसम्म पनि खुलेन। यो टोलमा ५/६ वटा मात्रै घर छन्। काइँली स्याङ्तानको घर बन्द भएको सोमबार बिहान छिमेकीले देखे।

दुई वटा झ्याल र एउटा ढोका भित्रैबाट बन्द थिए। एकतले, दुई कोठे घरभित्र जाने अरु बाटा थिएनन्। झ्यालको फ्रेम मात्रै थियो। काँच लगाउन बाँकी छ। तर प्लास्टिकका बोराले दह्रो गरी बन्द गरिएको छ। 

बाहिरबाट बोलाउँदा कोही पनि बोलेनन्। घरको अर्को कोठामा राखनधरन र भान्सा थियो। परिवारका ६ जनै एउटै कोठामा सुत्थे। 

काइँलीका श्रीमान् पहिल्यै बितेका हुन्। उनका तीन छोरा छन्। छुट्टभिन्न भएका जेठा छोराको घर नजिकै छ। अरुघर पनि आफन्तकै हुन्। टोलमा हल्ला खल्ला भइसकेपछि काँइलीकी छोरीलाई खबर गरियो।

५ मिनेटको दुरीमा उनकी छोरीको घर छ। खबर पुगेपछि उनी आत्तिँदै आइन्। टोलका मान्छेहरु जम्मा भइसकेका थिए। त्यसपछि एउटा झ्याल फोडेर उनीहरु भित्र पसे। कोठाभित्र सबै मस्त सुतिरहेका देखिन्थे। दुई वटा खाटमा २/२ जना, भुईंमा २ जना थिए। सबैले सिरक ओढिरहेका थिए। 

झट्ट हेर्दा लाग्थ्यो सबै मस्त निद्रामा छन्। तर झकझकाउँदा कोही पनि चटपटाएनन्। त्यहाँ भेला भएका आफन्तले धुकधुकी छाम्न थाले। 

काइँलीका कान्छा छोरा २३ वर्षका सुवासको प्राण बाँकी नै रहेको देखियो। सुवासका दुई दिनका छोराको पनि प्राण गइनसकेको उनीहरुले अड्कल काटे। हतारहतार उनीहरु दुई जनालाई अस्पताल कुदाए। 

सोही वडाका अध्यक्ष तीर्थ घलानलाई फोन गरेर घटनाको बारेमा जानकारी गराए। तीर्थले तत्कालै प्रहरीलाई खबर गरे। इलाका प्रहरी कार्यालय कोन्ज्योसोमबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी घटनास्थलतर्फ लाग्यो। चापागाउँ वृत्तबाट पनि डीएसपीको नेतृत्वमा अर्को टोली गयो। 

यता ललितपुर प्रहरी परिसरबाट एसएसपी यज्ञविनोद पोख्रेल पाटन अस्पतालबाट फरेन्सिक डाक्टरसहितको टोली लिएर घटनास्थल पुगे। उनीहरु पुग्दा चार जनाको मृत्यु भइसकेको थियो। 

५५ वर्षीया काइँली स्याङतान, उनकी बुहारी २२ वर्षीया सुष्मा र माइला छोरातर्फकी नाति ९ वर्षीय आशिष र ५ वर्षीया नातिनी आसमाको मृत्यु भएको पुष्टि भयो। 

डाक्टरसहितको टोली नपुग्दै पाटन अस्पतालमा लगिएका दुई दिनका शिशुको पनि ज्यान गयो। यो परिवारका एक जना मात्रै जीवित रहे सुवास। सुवासको पनि अहिले पाटन अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था एकदमै जटिल रहेको डाक्टरले बताएको ललितपुरका प्रहरी प्रवक्ता एसपी सिद्धिविक्रम शाहले जानकारी दिए।

उनको अहिले आईसीयूमा उपचार भइरहेको छ। 

त्यही दिन फर्किएका थिए अस्पतालबाट
बुहारी सुष्मा आइतबार मात्रै थापाथलीस्थित प्रसूतिगृहबाट घर फर्किएकी हुन्। शनिबार उनी अस्पतालमै सुत्केरी भएपछि आइतबार अस्पतालले डिस्चार्ज गरेको थियो। 

‘नर्मल डेलिभरी’ भएपछि उनीहरुको अस्पताल बसाइ लम्बिएन। सुवास आइतबार साँझ छोरा र श्रीमती लिएर घर फर्किएका थिए। सुत्केरी र बच्चालाई चिसोबाट जोगाउन फिनिसिङ नसकिएको घरका प्वालहरु पुरै बन्द गरिएको थियो।

आइतबार बेलुकी खाना खाएर आगोको भुंग्रो लिएर उनीहरु सुत्ने कोठामा पुगे। उनका माइला दाइ र भाउजु नै रोजगारीका लागि विदेशमा छन्। माइला दाइ–भाउजूका दुई जना केटाकेटी पनि उनीहरुसँगै बस्थे। छोरी हजुरआमासँग सुतिन्। छोरा काकासँग सुते। 

‘अबेरसम्म सुत्केरी र बच्चालाई सेकताप गरेर उनीहरु भुंग्रो ननिभाइ सुतेछन्,’ अनुसन्धानका लागि घटनास्थल पुगेर फर्किएका ललितपुरका एक प्रहरी अधिकृतले भने, ‘कराइमा भुंग्रो, झ्यालढोका पुरै बन्द हुँदा निसास्सिएर उनीहरुको ज्यान गएको देखिन्छ।’

बोराले टालिएका झ्यालहरुबाट हावा भित्र जाने अवस्थै थिएन। ढोका पनि ढप्प थियो। यही कारण अस्पतालबाट फर्किएको पहिलो रात नै परिवार सखाप भयो।

‘मृतक सबैको पाटन अस्पतालमा पोस्टमार्टम भइसकेको छ। कसैको पनि भित्री चोट देखिएको छैन,’ एसपी शाह भन्छन्, ‘निस्सासिएरै मृत्यु भएको प्रारम्भिक निष्कर्षमा पुगेका छौँ।’

पोस्टमार्टमपछि शव आफन्तलाई जिम्मा लगाइसकिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .