समाज


बलात्कार अभियुक्त एमालेका निलम्बित सांसद बानियाँले बयानमा के भने?

बलात्कार अभियुक्त एमालेका निलम्बित सांसद बानियाँले बयानमा के भने?

उजिर कार्की
चैत ६, २०७८ आइतबार २१:५१, काठमाडौँ

मुलुकी अपराध संहिता २०७४ अनुसार १८ वर्षमाथिका महिलालाई जबर्जस्ती करणी गरेमा ७ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। मुलुकी फौजदारी संहिता २०७४ को दफा ६७ (१) (ख) बमोजिम ३ वर्ष भन्दामाथि कैद सजाय हुने मुद्दामा तत्काल प्रमाणबाट कसुरदार देखिएमा थुनामा राखी पुर्पक्ष गर्नु पर्ने कानुनी व्यवस्था छ। 

तर, बलात्कारको आरोपमा फागुन १६ गते पक्राउ परेका नेकपा एमालेका निलम्बित सांसद मोहन बानियाँ भने न्यून धरौटीमै छुटेका छन्। एक शिक्षिकाको बलात्कार मुद्दामा जिल्ला अदालत बाँकेले ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। जिल्ला न्यायाधीश ईश्वरीप्रसाद भण्डारीले बानियाँलाई तारिखमा राखेर पुर्पक्ष गर्न आदेश दिएका छन्। 

तर, जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै उच्च अदालतमा निवेदन दिने तयारी गरेको जिल्ला सरकारी वकिल कार्यालयकी सूचना अधिकारी सहायक जिल्ला न्यायाधिवक्ता निशाकुसुम पौडेलले बताइन्। 

जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै उच्च सरकारी वकिल कार्यालयमार्फत उच्च अदालतमा बदर गर्न माग गर्ने तयारी गरिएको छ।

बानियाँले बलात्कार गरेको होइन भनी दिएको बयानका आधारमै जिल्ला न्यायाधीशले यस्तो आदेश गरेको पुनरावेदन निवेदनमा उल्लेख छ। 

जिल्ला अदालतले अभियुक्त बानियाँ र अन्यको बयान, उनीहरुबीच भएको कल रेकर्ड, म्यासेजको कुराकानीका आधारमा हाल थुनामा राखी पुर्पक्ष गर्नुपर्ने सम्मको अवस्था नदेखिएको भन्दै धरौटी माग गरेको थियो। सांसद बानियाँ अदालतले मागेको धरौटी बुझाएर छुटिसकेका छन्।  

माघ १९ गते बिहान सांसद बानियाँले जबरजस्ती करणी गरेको भन्दै जुम्ला घर भएकी एक शिक्षिकाले किटानी जाहेरी दिएकी थिइन्।  

ती शिक्षिकालाई दिनु पर्ने रकम लिन सुर्खेतबाट बोलाएर नेपालगन्जको होटल अप्सराको कोठा नं २१५ मा बलात्कार गरेको पीडितको आरोप थियो। १९ गते बिहान पैसा आइसक्यो भन्दै ढोका खोल्न लगाएर बानियाँले जबर्जस्ती करणी गरेको आरोप पीडितको छ। 

तर, बानियाँले भने आर्थिक कारोबार रहेको र यो विषय पहिले नै मिलिसकेको बताउँदै इन्कारी बयान दिएका थिए। उनले पीडित महिलाले नै २ लाख ५० हजारको चेकलाई २५ लाख बनाएको आरोप लगाएका छन्। 

बानियाँले पीडितलाई २ लाख ५० हजारको चेक दिएको तर पीडितले शून्य थपेर २५ लाख रुपैयाँ बनाएको बनियाँको आरोप छ। अक्षरमा नलेखी अंकमा मात्रै लेखेर दिएको बताएका छन्। 

तर, उक्त रकम २०७८ साउनमा नै दुई पटकमा फिर्ता गरिसकेको बानियाँले बताए। पीडितले चेक च्यातेर फालिदिन्छु भने पनि त्यसो नगरेर आफ्नो चरित्र हत्या गर्न खोजेको उनको बयान छ।

बानियाँको बयान
म मुगु जिल्लाबाट नेकपा एमालेको प्रतिनिधि सभा सदस्य रहेको छु। जाहेरवाली जुम्लामा अस्थायी शिक्षक भई ३÷४ वर्ष पहिला काठमाडौंमा अस्थायी शिक्षकहरुको आन्दोलनमा गएकी थिइन्। म पनि आन्दोलनलाई प्रतिनिधि सभा सदस्यको हैसियतले प्रतिबद्धता जाहेर गर्न गएको थिएँ, त्यसैबखत निजसँग चिनजान भएको थियो।

निज तत्कालीन नेकपा माओवादी केन्द्रको शिक्षक नेता रहेको र पछि नेकपा एमाले र माओवादी केन्द्र एक भई नेकपा बनेपछि जाहेरवालीसँग मेरो पार्टीगत विषयमा कुराकानी हुन्थ्यो। 

जाहेरवाली मार्फत नै उसको भिनाजुसँग मेरो चिनजान भयो। उसको भिनाजुसँग मैले २ लाख ५० हजार रुपैयाँ सापटी लिएको थिएँ।

उक्त रकम फिर्ता गर्न केही समय लागेपछि जाहेरवालीले सो बापतको चेक दिनु भनेको हुँदा मैले जाहेरवालीको नाममा २ लाख ५० हजार रुपैयाँको चेक अक्षरमा नलेखी अंक मात्र राखी दस्तखत गरिदिएको थिएँ।

पछि सो रकमबापतको पैसा मैले उसको भिनाजुलाई २०७८ साउन महिनामा दुई पटकमा फिर्ता गरिदिएको थिएँ। 

चेक जाहेरवालीसँग नै थियो। उनले उक्त चेक च्यातेर फालिदिन्छु भनेकी थिइन्। पछि निजले उक्त चेकमा रहेको अंकमा शून्य थपेर अक्षरमा समेत पच्चीस लाख रकम बनाइन्। त्यो चेक आफूले सामाजिक सञ्जालमा राखी मेरो चरित्रहत्या गर्न खोज्ने, मसँग पैसा माग गरिरहन्थिन्। 

यो विषयमा म सुर्खेत गएको बेला जाहेरवालीको दाइले मलाई आफ्नो घरमा बोलाएको हुँदा म लगायत उनको घरमा जाँदा जाहेरवालीले मैले अरुको उक्साहटमा लागी गरेको हुँ भनी माफी मागेपछि सो विषय टुंगिएको थियो। 

२०७८ माघ २० गतेका दिन मेरो नेपालगञ्जदेखि काठमाडौँ प्लेन टिकट रहेको हुँदा मैले १९ गते कर्णाली प्रदेश सभा सदस्य तथा विधान समितिका सभापति दानसिंह परियारसँग गाडी मागेर मलगायत सुर्खेतबाट नेपालगञ्ज आउने तयारीमा थियौँ।

त्यहीबेला जाहेरवालीले आफ्नो समेत नेपालगञ्जदेखि जुम्ला जाने प्लेन टिकट रहेको र आफूलाई समेत नेपालगञ्ज लगिदिन आग्रह गरेकी हुँदा जाहेरवाली समेत भई हामी चार जना १९ गते साँझ नेपालगञ्ज आई होटल अप्सराको कोठा नं २१५ र ३०७ बुक गरी बसेका थियौँ। 

जाहेरवाली कोठा नं २१५ मा र हामी कोठा नं ३०७ मा बसी २० गते प्लेन उडान रद्ध भएपछि म बसबाट काठमाडौं गएको हुँ। जाहेरवाली कहाँ गइन् थाहा भएन। 

१९ गते बिहान ५ बजे म सुर्खेतस्थित दि नमस्ते होटलमा थिएँ। मैले जाहेरवालीलाई जबरजस्ती करणी गरेको होइन। निजसँग लेनदेन कारोबार समेत छैन।

नेकपा एकीकृत समाजवादी पार्टीमा आबद्ध प्रदेश सभा सदस्य तथा कृषिमन्त्री चन्द्रबहादुर शाही र सोही पार्टीमा आबद्ध गोपाल बलले मेरो राजनीति समाप्त पार्न पहिलेदेखि नै मविरुद्ध उक्साई मैले दिएको चेकमा समेत अंक थप गर्न लगाई मसँग रकम माग गर्ने, उक्त रकम नदिए मलाई जबरजस्ती करणी मुद्दामा फसाइदिने भनी भन्न लगाएको भन्दै जाहेरवालीले मेरा छोरा–छोरीसँग कुरा गर्ने गरेकी थिइन्। त्यसको अडियो रेकर्ड तथा म्यासेन्जरमा रहेको कुरा समेत पेस गरेको छु।

के छ आरोप? 
पीडित महिलाले भने संयुक्त रुपमा व्यवसाय गरौँ भन्दै २०७६ मंसिर ८ गते २५ लाख रुपैयाँ लगेको बताएकी छन्। तर रकम लगेको लामो समयसम्म पनि व्यवसाय नगरेको र रकम पनि फिर्ता नदिएपछि आफूले चेक लिएको उनको जाहेरीमा उल्लेख छ।

तर उक्त चेक साट्न जाँदा खातामा पर्याप्त रकम नभएकाले चेक नसटेको र यस बारेमा बानियाँलाई भन्दा आजभोलि नै रकम दिन्छु भन्दै आलटाल गरेको बताएकी छन्। गत माघ १८ गते सुर्खेतको वीरेन्द्रनगरमा भेट हुँदा चेकको बारेमा कुरा गरेको र बानियाँले आफूसँग तत्काल नगद नरहेको बताएको पीडितको आरोप छ। 

नेपालगञ्ज गए आफन्तबाट मागेर नगदै दिने बताएको र सँगै नेपालगञ्ज लगेको उनको भनाइ छ। नेपालगन्जको होटल अप्सराको कोठा नं २१५ मा ती महिला बसेकी थिइन्। भोलिपल्ट बिहान ५ बजेतिर पैसा आइसक्यो भन्दै बानियाँले ती महिला सुतेको कोठाको ढोका खोल्न लगाएको उनको भनाइ छ। ढोका खोलेपछि बानियाँ भित्र पसेर डर, धाकधम्की दिई जबरजस्ती करणी गरेको पीडितको आरोप छ। 

पीडितले जाहेरी दिन लागेको थाहा पाएपछि पीडित पक्षकै एक जनालाई फोन गरेर बानियाँले गल्ती भयो, टाढैबाट हात जोड्छु, कुरा मिलाउनु पर्यो भनी आफूलाई फोन गरेको प्रहरीले सोधपुछ गर्दा बताएकी छन्। बानियाँले ती महिलासँग भनेको कुराको अडियो समेत रहेको बताएकी छन्। तर बानियाँले पनि यस विषयमा भएका कुराकानीका म्यासेज र अडियोहरु अदालतमा पेस गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .