समाज


पल शाहका अडियो र म्यासेज बने अदालतमा मुख्य प्रमाण

पल शाहका अडियो र म्यासेज बने अदालतमा मुख्य प्रमाण

उजिर कार्की
चैत ८, २०७८ मंगलबार २१:२२, काठमाडौँ

जिल्ला अदालतमा बलात्कारको आरोपमा मुद्दा दायर भएसँगै अब पल शाह कारागार चलान हुने वा हिरासतबाट छुट्ने भन्ने बहस हुनेछ। बुधबारदेखि नै सुरु हुने थुनछेक बहसपछि जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा राख्ने कि नराख्ने भन्ने आदेश दिनेछ। 

कानुनमा ३ वर्षभन्दा बढी कैद सजाय हुन सक्ने मुद्दामा पुर्पक्षका लागि थुनामै राख्नु पर्ने व्यवस्था छ। शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजाय माग गरिएको छ। शाहविरुद्ध कसुर प्रमाणित हुने आधार पुष्टि भएमा अदालतले पुर्पक्षका लागि थुनामै पठाउने छ। 

जिल्ला सरकारी वकिल कार्यालयले शाहले कसुर गरेको पुष्टि भएको दाबी गर्दै १६ पृष्ठ लामो अभियोजन पत्र दायर गरेको छ। प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा दायर गरिएको अभियोजन पत्रमा मुख्य प्रमाण भने अभियुक्त र पीडितका अडिओ सामग्री र म्यासेज बनेका छन्। 

अभियोजन पत्रसाथ पीडितको यौनजन्य शारीरिक परीक्षण रिपोर्ट, पीडितले घटनासँग सम्बन्धित दिएको अडिओ, भिडिओ रेकर्ड, पल शाहले घटनापछि पीडितसँग कुरा गरेको भनि पीडित पक्षले पेश गरेका अडिओ सामग्री र कल डिटेल रेकर्ड सबुद प्रमाणका रुपमा अदालतमा पेश गरिएको छ। 

यस्तै, पीडित र पल शाह बाहेक १६ जनाको बयान पनि घटनाका प्रमाणका रुपमा रहनेछन्। प्रहरीले घटनासँग जोडिएका पीडित र पल शाह पक्षका व्यक्तिसँगै घटना भएको होटलका सञ्चालकसँग पनि बयान लिएको छ। जुन बयानलाई यो मुद्दासाथ अदालतमा बुझाएको छ। 

केही थप प्रमाण अदालतमा पछि पेश गरिने पनि अभियोजनमा उल्लेख छ। पीडितको मोबाइलमा रहेका म्यासेजहरुको विस्तृत विवरण, पीडितले तनहुँ र गैडाकोट प्रहरी कार्यालयमा उपलब्ध गराएका अडिओ रेकर्डको परीक्षण प्रतिवेदनको पूर्ण कपि, यस्तै यही घटनामा मतियार बनाइएका पलका म्यानेजर कृष्ण जोशीको पोलियोग्राफ प्रतिवेदन बुझाउन बाँकी छ। प्रतिवेदन प्राप्त भएपछि अदालतमा उपलब्ध गराउने भनिएको छ। 

घटनापछि सार्वजनिक भएका अडिओ र म्यासेज भने आफ्नै भएको अभियुक्त पलले स्वीकार गरेका छन्। पलले बयानका क्रममा घटना भएको रात जबरजस्तिकरणी गरेको नबताए पनि केही क्ल्यु छाडेका छन्। 

घटना सार्वजनिक भएपछि काठमाडौंको बानेश्वरमा पीडितको आमासहित भएको छलफलमा आफूले पछि बिहे गर्ने बताएको बयान दिएका छन्। 

‘मैले पीडितको उमेर पुगेपछि विवाह गरौंला, अहिले केटीको उमेर पुगेको छैन भनेको थिएँ, पीडित १८ वर्षभन्दा कमकी नाबालिग हुन् भन्ने मलाई पूर्णरुपमा जानकारी थियो’, उनले बयानमा भनेका छन्। 

पीडित पक्षले पेश गरेको अडिओ पनि आफ्नो भएको उनले स्वीकार गरेका छन्। जहाँ गर्लफ्रेण्ड ब्वाईफ्रेण्डबिच शारीरिक सम्पर्क हुनु भनेको सामान्य भएको बताइएको छ। 

पल शाह पक्राउ परेको १५ दिनपछि उनका म्यानेजर कृष्ण जोशीविरुद्ध पनि यसै घटनालाई जोडेर पुरक जाहेरी पीडित पक्षले दिएका थिए। पलका म्यानेजर जोडिएपछि घटनालाई थप पुष्टि गर्ने आधार देखिएका छन्। 

उनले पीडितलाई शाहसँग घुम्न जान, पलले भनेका सबै कुरा मान्न, सम्बन्ध राख्न भन्दै पलले विवाह गर्ने बताएको आरोप छ। पलले पछि विवाह गर्ने बताएर उनले पनि करणी गर्ने वातावरण मिलाइदिएको आरोप छ। 

यस्तै, घटना सार्वजनिक भएपछि भएका गतिविधिले पनि घटना पुष्टि गर्न थप प्रमाण दिएको छ। पीडितकै निकट व्यक्तिलाई जोशीले पीडितको निगरानी गर्न र पीडितका गतिविधि बारे जानकारी दिए ५० लाख रुपैयाँसम्म दिने प्रलोभन दिएको उनले बताएकी छन्। 

तर उनले जोशीले भने अनुसार नगरेपछि धम्क्याउँदै म्यासेज पठाएको खुलेको छ। आफूले धम्कीपूर्ण म्यासेज पठाएको पनि जोशीले स्वीकार गरेका छन्। 

यस्तै, पलले घटना ढाकछोप गर्नकै लागि जोशीलाई पुनः म्यानेजरमा नियुक्त गरेको खुलेको छ। यसअघि मासिक २५ हजार रुपैयाँ दिएका पलले पछिल्लो समय जोशीलाई ५० हजार रुपैयाँ दिएर नियुक्त गरेको खुलेको छ। जाेशीले बयानमा यो सबै खुलाएका छन्। 

‘धम्कीपूर्ण म्यासेज पठाएको थिएँ। पीडित पक्षले पेश गरेको म्यासेज मेरै हो। मैले पीडितलाई सम्झाउने क्रममा मलाई मान्छे मार्न केही जस्तो लाग्दैन भनेकै हो’, उनले बयानका क्रममा भनेका छन्।

प्रहरीले अदालतमा पेश गरेका प्रमाणमा पल, उनका म्यानेजरको बयान र दुई भाइले गरेका म्यासेज र पीडितले पेश गरेको अडिओ नै मुख्य हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .