समाज


दुई दिनयता सर्वोच्चका ११ न्यायाधीश एकै पटक गयल, सुनुवाइ प्रभावित

दुई दिनयता सर्वोच्चका ११ न्यायाधीश एकै पटक गयल, सुनुवाइ प्रभावित

उजिर कार्की
चैत २१, २०७८ सोमबार २०:२२, काठमाडौँ

सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित २१ न्यायाधीशको दरबन्दी छ। अहिले एउटा दरबन्दी पनि रिक्त छैन। रिक्त रहेको न्यायाधीश एउटा दरबन्दीमा भर्खरै तिलप्रसाद श्रेष्ठ नियुक्त भइसकेका छन्। 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निलम्बनमा छन्। उनी निलम्बनमा हुँदा सर्वोच्च अदालतमा २० न्यायाधीश हुनु पर्ने हो। तर, दुई दिनयता नौ जना न्यायाधीश मात्रै सर्वोच्च अदालतमा हाजिर छन्। 

आइतबार र सोमबार ११ जना न्यायाधीश एकसाथ अनुपस्थित रहे। 

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ ईश्वरप्रसाद खतिवडा, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत, कुमार चुडाल, कुमार रेग्मी, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठले मात्रै मुद्दाको सुनुवाइ गरिरहेका छन्। 

धेरै न्यायाधीशहरु एकसाथ अनुपस्थित हुँदा सर्वोच्च अदालतमा सुनुवाइ प्रभावित भएको छ। आइतबार र सोमबार पाँच वटा मात्रै इजलास गठन भएका छन्। यसअघि न्यायाधीशहरु उपस्थित हुँदा एकै दिन १० वटासम्म इजलास बस्दै आएका थिए। 

दुई दिनदेखि न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा एक साथ उनुपस्थित भएका हुन्। 

आइतबार अनुपस्थित रहेका न्यायाधीश खतिवडा सोमबार उपस्थित भए। तर आइतबार उपस्थित भएका न्यायाधीश टंकबहादुर मोक्तान सोमबार अनुपस्थित रहे।

कहाँ गए न्यायाधीशहरु?
सर्वोच्च अदालतका प्रवक्ता विमलप्रसाद पौडेलले न्यायाधीशहरु निरीक्षणमा गएको बताए। 

‘उच्च अदालतहरुको निरीक्षण गर्नु पर्ने हुन्छ। न्याय प्रशासन ऐनकै व्यवस्थाअनुसार हो यो। वर्षमा एक पटक निरीक्षण गर्नै पर्ने संवैधानिक व्यवस्था छ। श्रीमानहरु सोही बमोजिम खटिनु भएको हो,’ पौडेलले नेपालखबरसँग भने। 

सोमबार नौ जना मात्रै न्यायाधीशहरु उपस्थित भए पनि अब न्यायाधीशहरु फर्किने क्रम सुरु हुने प्रवक्ता पौडेलले बताए। 

‘अघिल्लो हप्ता जानु भएका श्रीमानहरु फर्किने बेला भइसकेको छ। अर्को हप्तासम्म दुईतीन जना मात्रै बाँकी हुनुहुन्छ होला, नभए धेरै आइसक्नुहुन्छ,’ पौडेलले भने, ‘नियमित काममै जानु भएको हो। सर्वोच्च अदालतको जिम्मेवारी अन्तर्गत नै खटिनु भएको हो।’

यसअघि पनि केही न्यायाधीशहरु निरीक्षणमा गएर फर्किएका थिए। तर अहिले एकसाथ आधाभन्दा बढी जाँदा भने सर्वोच्चमा सुनुवाइ नै प्रभावित भएको हो। 

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ उच्च अदालत सुर्खेतको जुम्ला इजलास निरीक्षणपछि चैत १ गते फर्किएका थिए। श्रेष्ठ फर्किएपछि चैत ६ गते न्यायाधीश कुमार रेग्मी उच्च अदालत दिपायलको महेन्द्रनगर इजलास निरीक्षणमा निस्किए।

यस्तै न्यायाधीश ईश्वरप्रसाद खतिवडा चैत १२ बाट उच्च अदालत तुलसीपुर, मनोजकुमार शर्मा चैत १३ गतेबाट उच्च अदालत जनकपुरको राजविराज इजलास र सपना प्रधान मल्ल पनि उच्च अदालत जनकपुर नै गएकी हुन्। 

न्यायाधीश तेजबहादुर केसी चैत २६ गतेसम्मका लागि उच्च अदालत विराटनगरको ओखलढुंगा अस्थायी इजलास र हरिप्रसाद फुयाल २८ गतेसम्मका लागि उच्च अदालत सुर्खेतको निरीक्षणमा गएका छन्। 

आनन्दमोहन भट्टराई र सुष्मालता माथेमा उच्च अदालत विराटनगरको निरीक्षणमा छन्। भट्टराई २३ गते र माथेमा २६ गतेसम्म सर्वोच्चमा हुने छैनन्। 

आइतबारदेखि नै न्यायाधीश मीरा खड्का पनि उच्च अदालत तुल्सीपुरको बुटवल इजलास निरीक्षणमा निस्किएकी छन्। न्यायाधीश प्रकाशकुमार ढुंगाना भने घर बिदामा रहेको सर्वोच्च प्रशासनले जानकारी दिएको छ। 

मुद्दा प्रभावित 
सर्वोच्च अदालत बार एसोसियसनका एक वरिष्ठ अधिवक्ताले न्यायाधीशहरु केही विवादमा पर्ने मुद्दाको सुनुवाइबाट अलग हुन सर्वोच्च नआएको अनुमान गरे। 

उनले भने, ‘एकसाथ यतिधेरै न्यायाधीश बिदामा जानै मिल्दैन। विवादमा फसिन्छ भनेर केही मुद्दाको सुनुवाइबाट अलग हुन यसो गरिएको हुनसक्छ।’

गत फागुन २९ गते नै माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्नु पर्ने र नेकपा (एकीकृत समाजवादी) पार्टी पनि खारेज गर्नु पर्ने रिटको पूर्ण सुनुवाइ आइतबारका लागि तोकिएको थियो। 

तर आइतबार पनि यो मुद्दाको टुंगो लाग्न सकेन। गोलाप्रथाबाट पेसी तय हुँदा यो मुद्दा हेर्न नमिल्ने न्यायाधीशको इजलासमा पर्यो। अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा यो मुद्दा परेको थियो। तर सुवेदीले हेर्न नमिल्ने भएपछि सुनुवाइ हुन सकेन। त्यसअघि माधव नेपाल पक्षका कानुन व्यवसायीले स्थगित गर्न निवेदन दिए पनि इजलासले त्यसलाई अस्वीकार गर्दै सुनुवाइ अगाडि बढाउने तयारी गरेको थियो। 

अर्को पेसी चैत २७ गतेलाई तोकिएको छ। न्यायाधीशहरु उपस्थित भएको भए त्यो इजलासमा सुवेदी नै नपर्न सक्थे। अरु थप इजलास गठन हुन सक्थ्यो र सुनुवाइ हुन सक्थ्यो। 

यस्तै, एआईजी बढुवाविरुद्धको रिट पनि दुई दिनदेखि सुनुवाइ हुन सकेको छैन। वैशाख १९ गते अनिवार्य अवकाशमा जाने डीआईजीहरुले दायर गरेको रिट दुवै दिन हेर्न नमिल्ने न्यायाधीशको इजलासमा पर्यो। 

कुमार रेग्मीको इजलासमा परे पनि उक्त रिटको सुनुवाइ हुन सकेको छैन। बढुवा भएका एआईजीहरुले फुली लगाइसकेका छन्। तर त्यसविरुद्ध परेको रिटको भने सुनुवाइ हुन सकेको छैन।

तर सर्वोच्चका प्रवक्ता पौडेलले भने यतिबेलै न्यायाधीशहरु विदामा हुनु र यी मुद्दाको पेसी पनि पर्नु संयोग मात्रै भएको बताए। 

‘कुनै मुद्दाको सुनुवाइबाट छलिने उदेश्य होइन, संयोग मात्रै परेको हुनसक्छ,’ उनले नेपालखबरसँग भने। 

सोमबार सर्वोच्चका ५ वटा इजलासमा ५४८ वटा मुद्दाको पेसी तोकिएको थियो। तर तीमध्ये ४० वटा मुद्दाको मात्रै फैसला भयो। अरु २६ वटामा आदेश जारी भएको छ। 

२२ वटा मुद्दा स्थगित भएका छन्। १५८ वटा हेर्न नभ्याइने भन्दै सुनुवाइ भएनन् भने ३०२ वटा हेर्न नमिल्ने न्यायाधीशको इजलासमा परे। यसरी एक साथ न्यायाधीशहरु उपस्थित नहुँदा ठूलो संख्यामा मुद्दा प्रभावित भएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .