समाज


को बन्ला सशस्त्र प्रहरीको २१ दिने आईजीपी?

को बन्ला सशस्त्र प्रहरीको २१ दिने आईजीपी?

फाइल तस्बिर


उजिर कार्की
चैत २६, २०७८ शनिबार ७:३, काठमाडौँ

सशस्त्र प्रहरीमा आगामी सोमबारदेखि आईजीपी फेरिँदै छन्। सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको चार वर्षे कार्यकाल आइतबार सकिँदैछ। 

आइतबार नै सरकारले सशस्त्र प्रहरीमा नयाँ आईजीपी नियुक्त गर्न सक्नेछ। नयाँ आईजीपीका लागि खनालकै ब्याचका दुई एआईजी पुष्पराम केसी र रामशरण पौडेल छन्। 

उनीहरु दुवै खनालसँगै प्रहरी सेवामा प्रवेश गरेका हुन्। प्रहरी निरीक्षकबाट २०४९ वैशाख १९ गते सेवामा प्रवेश गरेका उनीहरु २०५८ सालमा एक तह बढुवा हुँदै डीएसपीबाट सशस्त्र प्रहरीतिर लागेका थिए।

त्यसपछि उनीहरु खनालसँगै एआईजीसम्म बढुवा भए। तर, २०७४ चैत २७ गते सशस्त्र प्रहरी महानिरीक्षकमा शैलेन्द्र खनाल नियुक्त भए। यी दुई एआईजी त्यतिबेलै आईजीपीमा दाबेदार थिए। 

तर, गत वर्ष उनीहरु एआईजीको चार वर्षे कार्यकाल सकिएर घर जाने अवस्थामा थिए। 

सशस्त्र प्रहरी नियमावलीमा चार वर्षे कार्यकाल सकिने डीआईजी र एआईजीको कार्यकाल एक वर्ष थप गर्ने व्यवस्था छ। यो अनिवार्य व्यवस्था होइन। 

सरकारले नचाहेमा थप नगर्न पनि सक्छ। चार वर्षे कार्यकाल पूरा भएर म्याद थप नहुँदा ३० वर्षे सेवा पूरा नभई अवकाशमा जान्छन्।

तर, केसी र पौडेलको कार्यकाल थपिएपछि उनीहरुमध्ये एकजना आईजीसम्म हुन लागेका हुन्। 

निरीक्षकदेखि नेतृत्वसम्म सँगै 
पुष्पराम केसी नुवाकोटको शिवपुरीका हुन्। रामशरण पौडेल नुवाकोटको नुवाकोटकै बासिन्दा हुन्। केसी र पौडेल दुवै २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकमा भर्ना भएका हुन्। 

२०५८ सालमा दुवैजना एकसाथ सशस्त्र प्रहरीमा प्रवेश गरे। त्यतिबेला सशस्त्र प्रहरीमा जाने अधिकृतहरु एक तह स्वतः बढुवा हुन्थे। केसी र पौडेल पनि २०५८ वैशाखमा सशस्त्र प्रहरीको डीएसपीमा बढुवा भए। 

२०६१ साल वैशाखमा दुवैजना सँगै एसपी भए, २०६६ साल मंसिरमा एसएसपी। एसपीबाट एसएसपी हुँदा पनि उनीहरु छुटेनन्। 

२०६९ जेठमा डीआईजीमा बढुवा भए। सरकारले २०७४ वैशाखमा उनीहरुलाई सँगै एआईजीमा बढुवा गर्‍यो। 

त्यही वर्ष चैतमा नयाँ आईजीपी नियुक्त गर्दा पनि उनीहरुले दाबी गरेका थिए। त्यतिबेला शैलेन्द्र खनालले बाजी मारे। तर एक वर्ष कार्यकाल थपिएसँगै आईजीपीको ढोका खुलेको हो। 

दुईमध्ये जो आईजीपी भए पनि आगामी वैशाख १९ गतेबाट अवकाशमा जानेछन्। आइतबार सरकारले निर्णय गरे उनीहरुले २१ दिन नेतृत्व गर्ने पाउने छन्। 

सशस्त्रमा दुईजना मात्रै एआईजी छन्। सशस्त्र प्रहरी नियमावलीअनुसार एआईजीमध्येबाटै आईजीपी बनाउनु पर्ने व्यवस्था छ। 

एआईजी नभए डीआईजीबाट आईजीपी बनाउन सक्ने व्यवस्था पनि छैन। जुन व्यवस्था नेपाल प्रहरीमा छ। 

पुष्पराम केसी
एआईजी पुष्पराम केसी कार्य तथा सीमा सुरक्षा विभाग प्रमुख छन्। तर उनको धेरै समय प्रशिक्षण र नीति निर्माणमा बितेको छ। नेपाल प्रहरी निरीक्षकमा भर्ना भएको केही समयमै उनी प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थिए। 

उनले ५ वर्ष प्रहरी तालिम केन्द्रमा प्रशिक्षकका रुपमा काम गरे। ४ वर्ष भरतपुर तालिम केन्द्रमा काम गरेपछि प्रहरी प्रधान कार्यालयमा सरुवा भए। 

७ महिना ट्राफिकमा रहे। जाजरकोटमा एक वर्ष र तनहुँमा ६ महिना काम गरेका केसीले तत्कालीन कालिमाटी वडा प्रहरी कार्यालयमा एक वर्ष काम गरेका थिए। 

सशस्त्र प्रहरीमा २०५८ सालमा प्रवेश गरेर डीएसपीमा बढुवा भएपछि प्रहरी प्रधान कार्यालयमा बसे। त्यसपछि ककनीमा प्रशिक्षक भए। नेपाल प्रहरीमा हुँदा प्रशिक्षक केसीले यता पनि त्यस्तै जिम्मेवारी पाए। 

उनी राष्ट्रसंघीय मिसनमा तीन देश पुगेका छन्। इराक, लाइबेरिया र सुडान मिसनमा गए। लाइबेरियामा उनी एफपीयुको कमाण्डर नै थिए। 

मधेस आन्दोलनका समयमा बर्दियाको छिन्नमस्ता गणको गणपति थिए। त्यसपछि फेरि २०६४ सालमा एसपी हुँदा र एसएसपी हुँदा प्रशिक्षकका रुपमा काम गरे। त्यसपछि प्रहरी प्रधान कार्यालयमा आएका केसीले तालिमसम्बन्धी नीति निर्माणको जिम्मेवारी पाए। 

डीआईजीमा बढुवा भएपछि तत्कालीन पूर्व क्षेत्र कमाण्ड, अहिलेको प्रदेश १ को जिम्मेवारी पाए। त्यहाँ एक वर्ष बसेर फर्किएपछि प्रहरी प्रधान कार्यालयमा आएका केसी सशस्त्र प्रहरी केन्द्रीय प्रवक्तामा रहे। एपीएफको स्टाफ कलेज स्थापनामा उनको महत्वपूर्ण भूमिका छ। यसको संस्थापक अध्यक्ष समेत हुन् केसी। 

त्यसपछि उनी राजश्व भन्सार तथा औधोगिक सुरक्षा निर्देशनालय पुगे। २०७४ वैशाखमा एआईजीमा बढुवा भएपछि उनले कार्य विभागको जिम्मेवारी पाएका थिए। 

सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा एक वर्ष काम गरेका केसीको मानव श्रोत एवम् प्रशासन विभागमा सरुवा भयो। कोरोना संकटका बेला उनी सीसीएमसीको टिममा थिए। अहिले उनी कार्य विभागमै छन्। 

रामशरण पौडेल
एआईजी रामशरण पौडेल प्रशासन तथा मानव श्रोत विभागमा कार्यरत छन्। त्यसअघि उनी कार्य तथा सीमा सुरक्षा विभागमा कार्यरत थिए। पौडेलले पथलैया बाहिनीको पनि नेतृत्व गरेका छन्। 

यस्तै बर्दघाट तालिम केन्द्रमा बसेका उनी सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पनि काम गरिसकेका छन्। त्यसअघि उनले विभिन्न गण तथा गुल्महरूको पनि नेतृत्व गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .