समाज


अर्जुनले मोबाइल चोरे, कुटाइ सुमितले खाए : त्यही बदलामा हत्या

अर्जुनले मोबाइल चोरे, कुटाइ सुमितले खाए :  त्यही बदलामा हत्या

उजिर कार्की
बैशाख २, २०७९ शुक्रबार १४:१३, काठमाडौँ

कैलालीका अर्जुन दासको हत्याको रहस्य खुलेको छ। प्रहरी अपराध महाशाखाले दासको हत्या गरी भारत भागेका ४ जनालाई पक्राउ गरेसँगै हत्याको कारण खुलेको हो। 

महाशाखाले पक्राउ परेका चार जनालाई शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। 

जानकी गाउँपालिका ९ का १९ वर्षीय सुमित साउद, १९ वर्षीय बमे भन्ने बमबहादुर बोहरा, १९ वर्षीय रोनी परियार भन्ने दीलिप दास र १९ वर्षकै मनोज भण्डारी पक्राउ परेका हुन्। अरु ६ जना फरार रहेको महाशाखा प्रमुख एसएसपी वसन्तबहादुर कुँवरले बताए। 

कमल साउदको मोबाइल अर्जुन दासले चोरी गरेको तर चोरको आरोपमा सुमित साउदलाई कुटपिट गरेपछि अर्जुन दासका कारण सुमितमाथि कुटपिट भएका कारण हत्या गरेको आरोपितले बताएका छन्। 

पुस ३ गते राति कैलालीको जानकी गाउँपालिका ९ अमरावती सामुदायिक वनमा २५ वर्षीय अर्जुन दासको बीभत्स हत्या भएको थियो। 

बलात्कार, चोरी हुँदै यसरी पुग्यो बीभत्स हत्यासम्म 
घटना हुनुभन्दा तीन दिनपहिले कमल साउदको मोबाइल हराएको थियो। 

कमल गाउँकै एक महिलामाथि बलात्कार गर्दैगर्दा फेला परेपछि नाङ्गै लखेटिएका थिए। नाङ्गै लखेटिएका कमलले सुमितलाई फोन गरेर कपडा मगाए। 

सुमित कमललाई कपडा लिएर पुगे। उनीहरु दुवै जना कमलको घरमा गए। कमलले त्यो रात सुमितलाई पनि यतै बस्न भने। 

सुमित कमलकै घरमा बसे। त्यसै रात कमलको मोबाइल हरायो। अर्जुन दास कमलको घरमा इट्टा बनाउने काम गर्थे। उनको पनि त्यो दिन आउजाउ थियो।

तर मोबाइल चोरेको आरोपमा कमलले सुमितलाई कुटपिट गरे। कुटाइ खानेसुमितले मोबाइल भने चोरेका थिएनन्। 

सुमितले कुटाइ खाएको तर मोबाइल भने अर्जुनले चोरेको उनीहरुले पछि थाहा पाए। अर्जुनले मोवाइ चोरेर हर्के भाटलाई दिएका रहेछन्।

थाहा पाइसकेपछि अर्जुनले कमललाई मोबाइल फिर्ता पनि गरे। 
तर कमलले भनेका थिए, ‘अर्जुन अहिले मेरो घरमा काम गर्दै छ। अहिले केही नगरौं, मेरो काम सकिएपछि यसलाई जे गर्नुपर्छ अनि गरौंला।’ 

यो समूहका मुख्य थिए मनोज भण्डारी। उनी केही समयपहिले मात्रै भारतबाट फर्किएका हुन्।

उनलाई पढाउनका लागि परिवारले काठमाडौं पठाउने तयारी गरेका थिए। केही दिनमै काठमाडौं आउने तयारीमा थिए मनोज। साथीहरुको बीचमा कुरा हुँदा सुमितले अर्जुनका कारण कुटाइ खाएको भन्दै अर्जुनलाई कुट्ने सल्लाह भयो। 

कमल साउद लागूऔषधको कारोबार गर्थे। उनकोमा भएको २५ हजार मूल्यबराबरको लागूऔषध नाइट्रोभेट उनीहरुले चोरेर लगेर जंगलमा लुकाए। उनीहरुको लागूऔषध खाने अखडा त्यही जंगल थियो। 

अर्जुन पनि उनीहरुसँगै त्यहाँ गएर लागु औषध खान्थे। पुस २ गते बेलुका ६ बजेतिर अर्जुन दासलाई बोलाएर उनीहरु लागूऔषध सेवन गर्न जंगलतर्फ लागे। जंगलमा पुगेपछि सुरुमा सबैले लागूऔषध सेवन गरे। लागूऔषध खाँदै गर्दा उनीहरुको बीचमा मोबाइल चोरीको विषय उठ्यो। 

‘मोबाइल चोर्ने तँ कुटाइ खाने सुमित?’ भन्दै सबैले अर्जुनलाई कुटपिट गरे। अर्जुनका हात पछाडि बाँधेर रुखमा बाँधे। उनीहरु भने थप लागूऔषध खाइरहेका थिए। कुटपिट भइसक्यो, अब छुटेपछि अर्जुनले आफूहरुलाई पनि फसाउला भन्ने कुरा भयो। 

त्यसपछि मनोजले भने, ‘त्यसो भए यसलाई सिध्याइदिऊँ!’ 

सबैले होमा हो थपे, कसैले पनि मार्नुहुन्न भनेनन्। 

सबै नशाको तालमा थिए। अर्जुनलाई रुखमा बाँधेको करिब ५ घण्टा भइसकेको थियो। मार्ने योजना बने पनि उनीहरुसँग हतियार थिएन। सुशील मयाल गएर खुकुरी ल्याए। 

तर उनी खुकुरी ल्याएर घर फर्किए। राति ११ बजे मनोज भण्डारीले सुरुमा अर्जुनमाथि ७/८ पटक खुकुरी हाने। त्यसपछि अरु दुई जनाले पनि थपे। अर्जुनको टाउको छुट्टियो। 

त्यसपछि पनि उनीहरु लागूऔषध खाँदै रातभर जंगलमै बसे। दुई जना जागै बसे, बाँकी त्यहीँ सुते।

तर बिहान लागुऔषधको नशाले छाड्दै गएपछि उनीहरुको सल्लाह भयो, अब के गर्ने ? मनोज भण्डारीसँग ६/७ हजार भारु थियो। उनले काठमाडौं जाऊँ भने। अरुले होइन थाहा पाउँछन् भारत भागौँ भने। त्यसपछि कोही भारत भागे, कोही कैलालीमै बसे। 

हत्यामा संलग्नमध्ये मनोज भण्डारी, बादल विक, दीलिप दास, बमबहादुर बोहरा, सुमित साउद र विवेक सिंह दिल्लीतर्फ लागे। कनकलाल विक, करण दर्नाल, सुशील मयाल र उनको साथी कैलालीमै लुकिछिपी बसे। 

भारत पुगेपछि उनीहरुले कमललाई अडियो पठाए। अडियोमा भनिएको थियो, ‘एक दुई दिनमा थाहा पाइहाल्नुहुन्छ, घाँटी अलग छ शरीर अलग छ। हामीले गरेर आको हो, हामी बोर्डर पारि छौँ। बैंग्लोर जान रुपैडियामा छौँ।’

प्रहरीले अडियो सार्वजनिक भएपछि हत्यामा संलग्नहरु पत्ता लगाएको थियो। तर उनीहरु भारततर्फ भागेकाले पक्राउ गर्न समय लागेको हो। महाशाखाले एउटा टोली भारत पठाएरै उनीहरुलाई पक्राउ गरी ल्याएको हो। 

अरु ६ जना भने अझै फरार छन्। कमल साउद त्यतिबेलै भएको बलात्कार अभियोगमा कारागार छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .