समाज


सशस्त्रमा भावी आईजीपी पक्का, नेपाल प्रहरीमा कसले मार्ला बाजी?

सशस्त्रमा भावी आईजीपी पक्का, नेपाल प्रहरीमा कसले मार्ला बाजी?

फाइल तस्बिर


उजिर कार्की
बैशाख ५, २०७९ सोमबार १२:३३, काठमाडौँ

सशस्त्र प्रहरी बलको भावी महानिरीक्षक (आईजीपी) १५ दिनपहिले नै तय भएको छ।

एआईजी बढुवाका लागि डीआईजी राजु अर्याललाई सिफारिस गरेसँगै आईजीपी उनै बन्ने पक्का भएको हो। 

अर्याल सशस्त्रमा कार्यरत डीआईजीमध्ये वरिष्ठ हुन्। एआईजी बढुवाका लागि चारजनाले कागजात बुझाएर दाबी गरे पनि सरकारले वरिष्ठताक्रममा अगाडि रहेका अर्याललाई नै एआईजी बढुवाका लागि सिफारिस गरेको हो। 

अर्यालसँगै डीआईजीहरू नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र पछि डीआईजी भएका वंशीधर दाहालले पनि एआईजीमा दाबी गरेका थिए। 

सशस्त्र प्रहरीमा बढुवा गर्दा समय दिएरै कागजातसहित दाबी गर्न आह्वान गरिन्छ।

हालका आईजीपी पुष्पराम केसी वैशाख १९ गते नै अनिवार्य अवकाशमा जाने भएकाले चुनावअघि नै सशस्त्र प्रहरीमा पनि नयाँ नेतृत्व आउने छ। 

नेपाल प्रहरीमा पनि त्यसैदिन आईजीपी परिवर्तन हुने छ। शैलेश थापा क्षेत्री पनि वैशाख १९ गते नै अनिवार्य अवकाशमा जानेछन्। 

दुवै प्रहरी प्रमुख ३० वर्षे सेवाअवधिका कारण अवकाश हुने भएका हुन्। सशस्त्र प्रहरीका एआईजी रामशरण पौडेल आईजीपी केसीसँगै अवकाश हुने छन्। 

उनीहरुको अवकाशसँगै अर्याल आईजीपी बन्ने छन्। त्यसपछि एआईजीका लागि डीआईजी रामशरण पौडेल र चन्द्रप्रकाश गौतम प्रमुख दाबेदार हुन्। 

आईजीपी भएपछि राजु अर्यालले पूरा चार वर्ष नेतृत्व गर्नेछन्। यसअघि सशस्त्रमा आईजीपीका रुपमा पूरा कार्यकाल शैलेन्द्र खनालले मात्रै काम गरेका छन्। अरु भने अनिवार्य अवकाशमा जाँदा चार वर्ष सशस्त्रको नेतृत्व गरेका छैनन्। 

नेपाल प्रहरीमा अन्योल
सशस्त्र प्रहरीमा भावी आईजीपी तय भए पनि नेपाल प्रहरीमा भने अझै अन्योल छ। आईजीपीका लागि एउटै ब्याचका चार एआईजीहरु दाबेदार छन्। 

तीमध्ये पनि विश्वराज पोख्रेल डेढ वर्षपहिले नै एआईजी भएका हुन्। अरु दाबेदारभन्दा पहिल्यै एआईजी भएकाले उनको सम्भावना बलियो छ। 

त्यसो त सहकुल थापा पनि गत असारमै एआईजी भएका थिए। उनी पनि आईजीपीका बलिया दाबेदार हुन्। 

थापालाई विश्व पोखरेलकै विकल्पमा आईजीपी बनाउन एक्लै एआईजीमा बढुवा गरिएको थियो। थापा आईजीपी भए कमाण्डो तालिम गरेको पहिलो आईजीपी समेत हुनेछन्। उनी पनि आईजीपीको लबिङमा छन्। 

तर, दुई एआईजी हुँदाहुँदै अन्य दुई डीआईजीलाई पनि सरकारले एआईजीमा बढुवा गरेपछि भने उनीहरुमध्येबाटै आईजीपी बनाउने चर्चा पनि छ। 

हुँदै नभएको दरबन्दी थप गरेर एआईजी बनाउनु आईजीपी बनाउनकै लागि भएको प्रहरीभित्रै चर्चा छ। 

धीरज सिंहलाई आईजीपी बनाउने बलियो सम्भावना देखिन्छ। उनलाई एआईजीमा बढुवा गर्दा बालुवाटार र खुमलटार एकमत भएकाले पनि सिंह आईजीपीका बलिया दाबेदार हुन्। यसअघि तीनजना एआईजी बढुवा गर्दा सिंह दुवैको रोजाइमा परेका थिए। 

त्यसो त रवीन्द्रबहादुर धानुक पनि विगतमा देउवानिकट भएर काम गरेका र उनीमाथि सत्ता साझेदार माओवादीको पनि विश्वास छ। 

अर्थमन्त्री जनार्दन शर्माकै जोडबलमा धानुक एआईजी भएका हुन्। धानुक पनि अहिले आईजीपी बन्न च्यानल मिलाइरहेका छन्। 

यसअघि प्रहरीमा सरुवा बढुवा गर्दा शेरबहादुर देउवा सधैँ विवादमा रहँदै आएका थिए। 

उनले पछिल्लो पटक गरेका नेपाल प्रहरीका चार डीआईजी बढुवा, सशस्त्र प्रहरीको आईजीपी र एआईजी बढुवा मात्रै हुन्। ती बाहेक विगत देखिनै देउवा बरियता मिच्ने मध्य अग्रपंक्तिमा छन्। 

यसअघि सिंह र धानुकलाई एआईजी बढुवा गर्दा पनि उनले वरिष्ठलाई पन्छाउँदै गरेका थिए। 

त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट परे पनि सर्वोच्चले अल्झाइदिएको छ। जसकारण रिट हालेका डीआईजीहरू सर्वोच्चले टुंगो नलगाउँदै अवकाशमा जाने अवस्थामा पुगेका छन्। अन्ततः उनीहरुको रिट पनि खारेज हुने अवस्थामा पुगेको छ। 

विवादमा परिन्छ कि भन्ने कुरासँग डर नमान्ने देउवाले जसलाई पनि आईजीपी बनाउन सक्ने चर्चा हुनु र चुनावको मुखमा एआईजी थप गर्नुले देउवाले आफू अनुकुल आईजीपी बनाउन सक्ने चर्चा छ। 

जस कारण प्रहरी नेतृत्व रिक्त हुने दिन नजिँकिदा पनि भावी आईजीपीको टुंगो नभएको हो। 

आईजीपीका चारै दाबेदारहरु २०४९ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .