समाज


ड्युटी सकेकी कोपिलाले किन हानिन् आफैँलाई गोली?

ड्युटी सकेकी कोपिलाले किन हानिन् आफैँलाई गोली?

उजिर कार्की
बैशाख ९, २०७९ शुक्रबार २०:१, काठमाडौँ

नेपाली सेनाकी सिपाही कोपिला राजवंशी कपिलवस्तुको शमशेर दल गणको १३ नम्बर पोस्टमा ड्युटीमा थिइन्। साँझ ६ बजे उनको ड्युटी सकिँदै थियो। सवा ६ बजेभित्रमा अर्को सिपाहीलाई ड्युटी बुझाएर उनी ब्यारेक फर्किने थिइन्। दिउँसो २ बजेदेखि ६ बजेसम्म थियो उनको ड्युटी। 

तर ६ बजेर ८ मिनेट जाँदा इलाका प्रहरी कार्यालयमा खबर पुग्यो, ‘ब्यारेकभित्रै एक महिला सिपाही गोली लागेर ढलिरहेकी छन्।’

प्रहरी पुग्दा १३ नम्बर पोष्ट रगताम्मे थियो। कोपिला छटपटाइरहेकी थिइन्। उनलाई तत्काल अस्पताल लगियो। सेनाले परिवारलाई घटनाबारे जानकारी गराउन झापाको गौरादह गाउँपालिका १ का वडाध्यक्ष नगेन्द्र भण्डारीलाई खबर गर्यो। 

उनले परिवारलाई खबर गरिदिए। बुधबार राति वडाध्यक्षले फोन गरेपछि कोपिलाको परिवार नै रुपन्देहीतर्फ लाग्यो।  गोली लागेर कोपिला गम्भीर घाइते भएको भनिएको थियो। 

कोपिलालाई उपचारका लागि काठमाडौं लैजान नेपाली सेनाको हेलिकोप्टर बोलाइएको थियो। तर सेनाको हेलिकोप्टर पुगेन। उनलाई भैरहवा मेडिकल कलेजमा उपचारको लागि भर्ना गरियो। भोलिपल्ट बिहान ५ बजेर १७ मिनेटमा अस्पतालले उनलाई मृत घोषणा गरिदियो। छोरीको प्राण भेट्न रातारात बाटो लागेका बाबुआमाले कोपिलाको सास भेटेनन्। 

राति झापाबाट हिँडेका कोपिला बुबा मोहन, आमा टीका र दाजु देवेन्द्र राजवंशी बिहीबार दिउँसो ३ बजे रुपन्देही पुगे। उनीहरु पुगेपछि प्रहरीले शव पोस्टमार्टम गर्यो र आफन्तलाई जिम्मा लगायो। 

घर बिदामा गएर ब्यारेक फर्किएको हप्तादिन पनि नहुँदै कोपिलाको शव लिएर परिवार फर्कियो। घटनाको गोरुसिंगे इलाका प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अनुसन्धानमा कोपिला आफैँले गोली हानेको प्रहरीको निष्कर्ष छ।

उनले ड्युटीमा छँदा बोकेकै एम १६ राइफलबाट गोली प्रहार गरेकी थिइन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डीएसपी जेसी शाहले घटनास्थल प्रकृति हेर्दा आफैँले गोली हानेको देखिने बताए।  तर यसलाई थप प्रमाणित गर्न प्रहरीले अनुसन्धान गरिरहेको छ। 

शाहले भने, ‘घटनामा प्रयोग भएको हतियार र फिंगर प्रिन्ट परीक्षणका लागि पठाएका छौँ। त्यसपछि थप प्रमाणित हुन्छ। अहिले हामीले गोली जसरी प्रहार भएको छ, घटनास्थलमा जे देखिएको छ, त्यसका आधारमा उनी आफैँले गोली हानेको निष्कर्ष निकालेका हौँ। रिपोर्ट आएपछि प्रमाणित हुन्छ।’

घटनाको प्रहरीले छुट्टै र नेपाली सेनाले पनि अनुसन्धान गरिरहेको छ। सैनिक प्रवक्ता नारायण सिलवालले गणले पनि अनुसन्धान गरेर प्रतिवेदन बुझाउने बताए। 

‘प्रहरीले तत्कालै घटनाको अनुसन्धान थालेको छ। शव पनि उनीहरुले नै लगेर परीक्षण गरिसकेका छन्। हाम्रो गणले पनि आफ्नो हिसाबले अनुसन्धान गरेर प्रतिवेदन बुझाउँछ,’ सहायक रथी सिलवालले भने। 

२४ वर्षीया कोपिला सेनामा भर्ती भएको ३ वर्ष ८ महिना भयो। केही दिनपहिले मात्रै उनी घरबिदामा गएर फर्किएकी थिइन्। उनले आत्महत्या गर्नु पर्ने कारण खुलेको छैन। 

छिमेकी चन्द्र राजवंशीले पनि आर्थिक कारणले आत्महत्या गरेको हुन सक्ने अनुमान गरे। उनी पनि परिवारसँगै शव लिन कपिलवस्तु पुगेका थिए। बिहीबार पोस्टमार्टमपछि शव बुझेर घर फर्किए। शुक्रबार बिहान उनीहरु झापा पुगेर कोपिलाको अन्तिम संस्कार सुरु गरेका छन्। 

कोपिलाकै बलमा घरमा जग उठाइएको छ। पिलर ठडिएको घर उनकै बलमा बनाउने परिवारको योजना थियो। दाजुले गत महिना मात्रै जागिर छाडेका थिए। उनी गरिमा विकास बैंकमा काम गर्थे। 

मोहनले नेपालखबरसँग भने, ‘घरमा लठिभद्रै छ।’

उनले आर्थिक करणले छोरी तनावमा रहेको संकेत गरे पनि प्रष्ट बताएनन्। 

संस्कार सकेर फेरि कपिलवस्तु जाने कोपिलाका बुबा मोहनले बताएका छन्। 

‘परिवारसँग गर्नु पर्ने सोधपुछको काम बाँकी नै छ। उहाँहरुले अन्तिम संस्कार सकेर ३÷४ दिनमा फेरि आउँछौँ भन्नु भएको छ। अहिले केही पनि सोधेका छैनौँ,’ शाहले भने।

कोपिलाका बुबा फर्किएर सोधपुछ गरेपछि र ल्याबको रिपोर्ट आएपछि थप कारण खुल्ने प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .