समाज


चुनावी सुरक्षालाई चार प्रदेशमा नयाँ डीआईजी, खाली हुँदै कर्णाली

चुनावी सुरक्षालाई चार प्रदेशमा नयाँ डीआईजी, खाली हुँदै कर्णाली

फाइल तस्बिर


उजिर कार्की
बैशाख १३, २०७९ मंगलबार १४:३, काठमाडौँ

सरकारले चुनावको मुखमा प्रमुखविहीन हुन लागेका प्रदेश प्रहरी कार्यालयमा नयाँ डीआईजी खटाएको छ। 

मधेश प्रदेश, बागमती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा नयाँ डीआईजी खटाइएको हो। नेपाल प्रहरीको प्रदेश प्रहरी प्रमुखमा डीआईजी रहन्छन्। 

कार्यरत डीआईजीहरू चुनावपहिले नै अवकाशमा जाने भएपछि अरुलाई खटाइएको छ। 

लुम्बिनी प्रदेशमा कार्यरत डीआईजी मुकुन्दराज आचार्यको कार्यकाल बाँकी भए पनि कार्य विभागमा ल्याइएको छ।

कार्यमा कार्यरत डीआईजी रवीन्द्रबहादुर धानुक एआईजीमा बढुवा भएपछि रिक्त भएको थियो। 

मधेश प्रदेश प्रहरी प्रमुख उमेश रञ्जितकार वैशाख १९ गते अनिवार्य अवकाशमा जाने भएपछि हालै डीआईजी भएका महमद आलम खाँलाई जिम्मा दिइएको छ। सुरक्षा हिसावले

अतिसंवेदनशिल मधेश प्रदेशमा चुनावी सुरक्षाको जिम्मेवारी पनि खाँको काँधमा आएको छ। 

बागमती प्रदेश प्रहरी प्रमुखको जिम्मा डीआईजी पूजा सिंहले पाएकी छन्। उनी नेपाल प्रहरीको जनपदतर्फ एक मात्रै डीआईजी हुन्। 

त्यहाँ कार्यरत डीआईजी प्रकाशजंग कार्की पनि १९ गते नै अवकाश हुने भएपछि चुनावअघि नै खाली हुन लागेको थियो। 

अवकाशको १० दिनपहिले नै सरकारले कार्कीलाई अपराध अनुसन्धान विभागमा ल्याएको हो। यो विभागको नेतृत्व एआईजीले गर्छन्। 

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख सीआईबीमा सरुवा भएका छन्। उनी पनि यही १९ गते अवकाश हुँदैछन्। 

सीआईबीका डीआईजी धीरजप्रताप सिंह एआईजीमा बढुवा भएपछि रिक्त थियो। सिंह एआईजीको दरबन्दी राखिएपछि सीआईबीमै पदस्थापन भएका थिए। 

वैशाख ८ गते डीआईजीमा बढुवा चार जनाको पनि पदस्थापन भएको छ। तीमध्ये तीनजनाले प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन्। 

नलप्रसाद उपाध्यायले लुम्बिनी प्रदेश, मोहनकुमार आचार्यले सुदुरपश्चिम प्रदेश र मसाउद आलम खाँले मधेश प्रदेशको जिम्मा पाएका हुन्। उनीहरु सबैको कार्यकाल आगामी चैतसम्म छ। 

यस्तै वैशाख १९ गते नै अवकाश हुने राजेन्द्रप्रसाद चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन भएको छ।

त्यहाँ कार्यरत वसन्तकुमार पन्त हालै एआईजीमा बढुवा भएका थिए। पन्त र चौधरी सँगै अवकाश हुनेछन्। 

कर्णाली प्रदेशमा अवकाश हुन लागेका डीआईजी नै छन्। त्यहाँ कार्यरत गणेशबहादुर ऐर वैशाख १९ गते अवकाश हुँदैछन्। 

तर, उनलाई भने सरकारले सरुवा गरेको छैन। ऐरको अवकाशपछि कर्णाली प्रदेशमा एसएसपीले नै नेतृत्व गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

प्रदेश १ का डीआईजी अरुणकुमार बिसी र गण्डकी प्रदेशका दिवेश लोहनी भने कायमै छन्। 

तर चुनावअगाडि एआईजीमा बढुवा गरिए ती प्रदेशमा पनि नयाँ नेतृत्व आउने सम्भावना छ। वैशाख १९ गतेपछि ५ जना एआईजी रिक्त हुँदैछन्। 

हाल कार्यरत चार एआईजी मध्येबाट एकजना आजीपी बन्ने छन्। बाँकी चार एआईजी अवकाशमा जानेछन्। 

एआईजीहरु हरि पाल, निरज शाही, प्रद्युम्न कार्की र वसन्तकुमार पन्त अनिवार्य अवकाशमा जाँदैछन्। विश्वराज पोख्रेल, सहकुल थापा, धीरज सिंह र रवीन्द्र धानुकमध्येबाट वैशाख १९ पछि आईजीपी नियुक्त हुनेछन्। 

त्यसपछि रिक्त हुने ५ एआईजीका लागि उत्तमराज सुवेदी, दिवेश लोहनी, अरुणकुमार बिसी, पूजा सिंह र मुकुन्दराज आचार्य मुख्य प्रतिस्पर्धी हुन्।

वसन्तकुमार लामा जेठ ७ गते अनिवार्य ​अवकाशमा जाने भएकाले बढुवा सम्भावना कम छ। 

हालै बढुवा भएका तीन डीआईजीलाई पनि तत्कालै एआईजीमा बढुवा गर्ने सम्भावना न्यून छ। वैशाख १९ पछि १६ डीआईजी एकसाथ रिक्त हुँदैछन्। 

जेठ ७ गते लामा पनि अवकाशमा जाँदा १७ डीआईजीको बढुवा हुनेछ। तर, यी बढुवा चुनावअघि नै गर्ने सम्भावना कम छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .